'अब चुनावबाटै नयाँ सरकार'
प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको भन्दै अब चुनावले नै भावी सरकारको निर्क्योल गर्ने बताएका छन्। उनले प्रचण्ड-माधवकुमार नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्की दिए पनि देशका निकायहरू स्वतन्त्र रहेको र उनीहरूले विवेकसम्मत ढङ्गले निर्णय गर्ने बताए।
दरबारमार्गमा आयोजित जनसभामा ओलीले भने, “अब देश चुनावतर्फ गयो, गयो। अब चुनावले फैसला गर्छ कसको सरकार बन्छ। चुनावले सबै कुराको फैसला गर्छ।”
ओलीले प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगलाई चुनावको तयारी नगर्न भनेको उल्लेख गर्दै निर्वाचन गराउँदा नभई ‘केही मान्छे कुनामा बसेर षड्यन्त्र गरेर अरूका लागि काम गर्दा’ देश सङ्कटमा पर्ने बताए।
ओलीले नेपाली जनता सचेत भएकाले कसैले पनि लोकतन्त्र खोस्न वा प्रतिगमन निम्त्याउन नसक्ने बताए।
उनले सरकारलाई काम गर्न नदिइएपछि प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग भएको दाबी गरे।








