डेमोक्र्याटिक पार्टीलाई महत्त्वपूर्ण अग्रता, तर नतिजा अझै अस्पष्ट

अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणामको स्पष्ट सङ्केत आउँदा जो बाइडनले आफू विजयोन्मुख भएको बताएका छन् भने डोनल्ड ट्रम्पले मतगणनालाई कानुनी चुनौती दिने उद्घोष गरेका छन्। के छ त अहिलेको ताजा अवस्था?

लाइभ कभरेज

  1. के छ पछिल्लो अवस्था?, अमेरिकी चुनावको कडा टक्करका माझ पछिल्लो अवस्था यस्तो छ:

    रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक हुने ठानिएका जोर्जिया तथा पेन्सलभानिया राज्यको मतगणनामा उनको अग्रता खुम्चँदै गएपछि चुनावमा धाँधली भएको ‘आधारहीन’ दाबी पुन: गरेका छन्।

    हुलाकमार्फत् हालिएका भोटहरूको गणना हुँदै गर्दा उनको अग्रता कम कम हुँदै गएको छ।

    उनको डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनले भने संयमित रहन आग्रह गरेका छन्। उनले आफू विजेता हुनेमा विश्वस्त रहेको बताएका छन्।

    हाल पाँचवटा मुख्य राज्यहरूमा गणना भइरहेका छन् - पेन्सलभेनिया, नेभाडा, एरिजोना, जोर्जिया र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन्।

    पेन्सलभानियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईवटामा मात्र जितेमा पनि बाइडन राष्ट्रपति-निर्वाचित हुनेछन्।

    ट्रम्पलाई जित्नको निम्ति चाहिँ पेन्सलभानियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्नेछ।

    यसअघि ट्रम्पको अग्रता पेन्सलभेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जियामा पनि उस्तै स्थिति देखा परिरहेको छ।

    त्यहाँ ट्रम्पको अग्रता ३५०० भन्दा कममा झरेको छ। केही घण्टा अगाडि उनको अग्रता १०,०००रहेको थियो।

    बाइडन र ट्रम्प

    तस्बिर स्रोत, .

  2. वैध मत मात्रै गणना गरिए सजिलै जित्छुः ट्रम्प

    मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक राष्ट्रपति डोनल्ड ट्रम्पले धारणा सार्वजनिक गरेका हुन्।

    उनले भने,“यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु।”

    हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन्।

    मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले “चुनावी हस्तक्षेप”को सङ्ज्ञा दिए।

    यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए।

    ट्रम्प

    तस्बिर स्रोत, reu

    तस्बिरको क्याप्शन, राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलवार सम्पन्न राष्ट्रपतीय चुनावमा धाँधली भएको फेरि पनि दोहोर्‍याएका छन्।
  3. बाइडनद्वारा ‘संयमित’ हुन् आह्वान

    मतगणना जारी रहँदा डेमोक्र्याट उम्मेदवार जो बाइडनले मानिसहरूलाई ‘संयमित’ हुन आह्वान गरेका छन्।

    “लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ”, उनले भने, तर “प्रक्रियाले काम गरिरहेको छ।”

    प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने,“अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।”

    मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई “कुनै शङ्का नरहेको” पनि बाइडनले बताए।

    बाइडनद्वारा संयमित हुन् आह्वान

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, बाइडनद्वारा संयमित हुन् आह्वान
  4. बाइडन विजयी हुन अब १७ इलेक्टरल मत आवश्यक, ट्रम्पद्वारा मतगणना रोक्न माग

    डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी हुन अब जम्मा १७ इलेक्टरल मत चाहिएको छ।

    जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग उनले मत अन्तर फराकिलो पार्दै लगेका छन्।

    ५० वटा राज्यमध्ये ४४ राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।

    राष्ट्रपति ट्रम्पले मतगणना रोक्न भन्दै ट्वीट गरेका छन् र प्रमाणविना उनले फेरि पनि चुनावमा धाँधली भएको दाबी गरेका छन्।

    सामाजिक सञ्जाल ट्विटरले ट्रम्पको त्यो ट्वीटलाई “दिग्भ्रमित” बनाउने खालको भनेको छ।

    दुई उम्मेदवार महत्त्वपूर्ण राज्यका नतिजाको पर्खाइमा छन्।

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, दुई उम्मेदवार महत्त्वपूर्ण राज्यका नतिजाको पर्खाइमा छन्
  5. दुई उम्मेदवारको पछिल्लो स्थिति

    निर्वाचन मतगणना परिणाम
    तस्बिरको क्याप्शन, निर्वाचन मतगणना परिणाम
  6. किन सञ्चारमाध्यममा फरक-फरक मत?

    यदि तपाईँले बीबीसीलगायत अन्य सञ्चारमाध्यमहरू पनि अमेरिकी निर्वाचनको लाइभ अपडेट हेरिरहनुभएको छ भने तपाईँलाई लाग्न सक्छ कि किन इलेन्टलर मतसङ्ख्या फरक छ।

    यसको कारण केही सञ्चारमाध्यमहरूले एरिजोना (थप ११ मत) र विस्कन्सिन (थप १० मत) दुई राज्यमा बाइडनले जित्ने प्रक्षेपण गरेका छन्।

    बीबीसीले भने त्यहाँ अहिले नै प्रक्षेपण गर्न सकिने अवस्था नभएको मानेको छ।

    यो वर्ष बीबीसीले रोयटर्सको माध्यमबाट एडिसन रिसर्च नामक सर्वेक्षण संस्थाको तथ्याङ्क प्रयोग गरिरहेको छ।

    अमेरिका

    विस्कन्सिनमा ९९ प्रतिशत मतगणना भइसकेको भएपनि दुई उम्मेदवारहरू बीच झीनो मतान्तर छ।

    एरिजोनामा ८५ प्रतिशत मत गनिएको छ र बाइडनले ५१ प्रतिशत एवम् ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन्।

    यो वर्षको नतिजाका लागि 'धैर्य' महत्त्वपूर्ण शब्द हो। हाम्रो लाइभ अपडेट हेर्दै गर्नुहोला, हामी नयाँ जानकारी आउने बित्तिकै यहाँ राख्नेछौँ।

  7. मतगणना भइरहेका राज्यमा विरोध र प्रदर्शन

    प्रदर्शन

    तस्बिर स्रोत, Getty Images

    • अमेरिकाका केही शहरहरूमा विरोध प्रदर्शन सुरु भएका छन्। कुनै स्थानमा ट्रम्पका समर्थकहरूले मतगणना रोक्न माग गरेर प्रदर्शन गरेका छन् भने केही स्थानमा बाइडनका समर्थकहरूले प्रत्येक मत गणना गर्न दबाव दिन प्रदर्शन गरेका छन्।
    • एरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा रिपब्लिकन पार्टीका समर्थकहरू जम्मा भएका छन्। उनीहरू सोशल मिडियामा त्यहाँ ट्रम्पलाई परेका मतहरू नगनिएको भन्ने दाबीमा विश्वास गरेर जम्मा भएका हुन्। प्रहरी बोलाइए पनि गणना भने रोकिएको छैन।
    • ओरेगनको पोर्टल्यान्डमा ट्रम्पविरोधी प्रदर्शन हिंसात्मक भएपछि न्याश्नल गार्डलाई बोलाइएको छ। केही प्रदर्शनकारीहरूले तोडफोड गरेपछि प्रहरी बोलाइएको हो।
    • मिनियापोलसिमा प्रहरीले मुख्य सडकमा अवरोध गरेका २०० प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ। उनीहरू ट्र्म्पविरोधी रहेको बताइएको छ।
    • न्यूयोर्क, फिलाडेल्फिया र शिकागोमा पनि यस्तै खाले प्रदर्शनहरू भएका छन्।
    • डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन्।
    • नेभाडामा पनि बिहान पत्रकार सम्मेलनको क्रममा एक प्रदर्शनकारी क्यामराको अगाडि आएर बाइडनले निर्वाचनमा धाँधली गरेको र अमेरिकी सञ्चारमाध्यमले त्यसलाई ढाकछोप गरेको आरोप लगाएका थिए।
    विरोध

    तस्बिर स्रोत, Getty Images

  8. अमेरिकाले नचाहेको असहज अवस्था

    अमेरिकी राष्ट्रपतीय निर्वाचनको बारेमा धेरै अमेरिकीहरूले एउटा अवस्था नआओस् भनेर कामना गरेका थिए।

    अहिलेको अवस्था ठ्याक्कै त्यही हो।

    मतपरिणाममा ढिलाइ, मुद्दामामिला, विरोध प्रदर्शनहरू र त्यसले गर्दा उत्पन्न असहज परिस्थितिले अमेरिकी प्रजातन्त्रलाई चुनौती दिइरहेका छन्।

    यो अवस्था कसरी आयो? एउटा विश्लेषण

  9. नतिजा आउन बाँकी राज्यको अवस्था

    प्रदर्शन

    तस्बिर स्रोत, Reuters

    भर्खरै अमेरिकी निर्वाचनको समाचारका लागि आउनु भएको हो भने अहिले जान्नैपर्ने कुराहरू यस्ता छन्:

    • डेमोक्र्याट जो बाइडनको २४३ इलेक्टरल मत छ भने राष्ट्रपति डोनल्ड ट्रम्पको २१४ छ। राष्ट्रपतिमा निर्वाचित हुन २७० पुग्नुपर्छ। अहिलेको अवस्थामा बाइडनलाई केही सहज देखिएपनि मतपरिणाम जसको पक्षमा पनि हुनसक्छ।
    • बाइडनले मिशिगनमा जित्ने प्रक्षेपण गरिएको छ। मिशिगन गत निर्वाचनमा ट्रम्पले जित्नुअघि डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो।
    • जोर्जिआका अधिकारीहरूले सबै मत नगनेसम्म गणना जारी राख्ने बताएका थिए। तर नेपाली समय १०:३० मा त्यहाँ ९० हजार मत गणना हुन बाँकी थिए। सुरुदेखि अग्रता लिएका ट्रम्पको अग्रता कम हुँदै आएर २८ हजार मत भएको छ।
    • नेभाडामा कडा प्रतिस्पर्धा भइरहेको छ। बाइडनले त्यहाँ ७,६४७ मतले मात्रै अग्रता लिएका छन् र त्यहाँ नेपाली समयानुसार आज बेलुकी ७:४५ मा मात्रै नयाँ नतिजा दिइने बताइएको छ।
    • एरिजोनाले बिहानसम्म पनि नयाँ मतहरू आइरहेको बताएको छ र त्यहाँको प्रक्षेपण कहिले हुन्छ भन्ने स्पष्ट छैन।
    • बाइडनले २०,५१० मतले अग्रता लिएको विस्कन्सिनको प्रक्षेपण बीबीसीको साझेदार संस्था रोयटर्सले गरेको छैन।
    • पेन्सिल्भेनियामा ट्रम्पको अग्रता रहेपनि दूरी कम भएको छ। ९० प्रतिशत मत गणना भइसक्दा ट्रम्प १६४,४१४ मतले अगाडि छन्। बुधवार एउटा समय ट्रम्पको लगभग ३८०,००० मतको अग्रता थियो।
    • नोर्थ क्यारोलाइनामा ९६ प्रतिशत मतगणना हुँदा ट्रम्पले ७६,७३७ मतले अग्रता लिएका छन्।
    • ट्रम्पको अभियानले जोर्जिआमा पनि कानुनी चुनौती दिएपछि कुल चार राज्यमा कानुनी चुनौती परेको छ।
  10. ट्रम्पका कानुनी चुनौती कहाँ कस्ता छन्

    अमेरिकामा राष्ट्रपतीय निर्वाचनका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले मतगणना परिणाममा अग्रता लिएका छन्।

    तर उनका रिपब्लिकन प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले मुख्य चार राज्यमा मतगणनालाई कानुनी चुनौती दिएका छन्।

    ट्रम्पले कुन कुन राज्यमा के आधारमा कानुनी चुनौती दिएका छन्? विस्तृत जानकारी पढ्नुहोस्।

    प्रदर्शन

    तस्बिर स्रोत, EPA

  11. 'निर्वाचनमा विदेशी चलखेल भएको प्रमाण छैन'

    अमेरिकी राष्ट्रपतीय मतगणनामा अहिलेसम्म कुनै विदेशी शक्तिले कुनै चलखेल गरेको प्रमाण नभएको गृह मन्त्रालयका प्रमुख साइबर सुरक्षा अधिकारीले बताएका छन्।

    क्रिस्टोफर क्रेब्सले एउटा वक्तव्यमा 'कुनै विदेशी शक्तिले अमेरिकी नागरिकलाई मतदान गर्न रोक्ने वा मतगणना परिवर्तन गर्ने क्षमताको प्रमाण' नरहेको बताएका छन्।

    अमेरिकी जासुसी संस्थाहरूले सन् २०१६ को निर्वाचनमा रुसले चलखेल गर्न खोजेको निष्कर्ष निकालेका थिए।

    "हामी अहिले भइरहेको मतगणना र नतिजा प्रमाणीकरणसम्म कुनै बाधा नआओस् भनेर चनाखो रहने छौँ," क्रेब्सले भने।

  12. बाइडनको सङ्क्रमणकालीन वेबसाइट शुरू

    ह्यारिस र बाइडन

    तस्बिर स्रोत, Reuters

    स‌ंयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनामा गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण ज्यानुअरी २० मा मात्रै हुन्छ।

    निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति-निर्वाचित उम्मेदवारले 'सङ्क्रमणकालीन टोली' बनाउने गर्छन्।

    अहिलेसम्म अमेरिकी निर्वाचनको मतगणनामा जो बाइडन वा डोनल्ड ट्रम्प कोही पनि स्पष्ट विजेताका रूपमा अगाडि आएका छैनन्। दुवै उम्मेदवारले आफू विजयतर्फ उन्मुख भएको दाबी गरिरहेका छन्।

    यसैक्रममा बाइडनको टोलीले भने नयाँ बेवसाइटसुरु गरेको छ।

    यसमा लेखिएको छ: "देशले सामना गरिरहेको सङ्कट गम्भीर छ - महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङ्क्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको छ जसले गर्दा बाइडन-ह्यारिस प्रशासनले पहिलो दिनदेखि नै काम गर्न सकोस्।"

    बुधवार बाइडनले जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पहिलो दिनमा पुन: जोडिने वाचा दोहर्‍याएका थिए। सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय स्वरूप बुधवार नै अमेरिका औपचारिक रूपमा छुट्टिएको छ।

  13. बाइडनको जित्ने दाबी, ट्रम्पको कानुनी चुनौती

    बाइडन समर्थक

    तस्बिर स्रोत, Reuters

    अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ।

    जो बाइडनले आफ्नो महत्त्वपूर्ण अग्रता देखिएपछि भने, "जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।"

    राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सिल्भेनिया र जोर्जिआमा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।

    त्यसअघि सो समूहले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो।

  14. कुन उम्मेदवारको स्थिति के छ

    ताजा परिणाम
  15. लाइभ अपडेटमा स्वागत छ

    नमस्कार। शुभ प्रभात।

    अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२० को मतगणना जारी छ।

    अहिलेसम्मको अवस्थामा डेमोक्र्याट उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् तर स्पष्ट रूपमा कसले जित्छ भन्ने भन्नसक्ने अवस्था छैन।

    आज बिहीवार हामी ताजा जानकारी र मतपरिणाम यो पेजमा अपडेट गर्नेछौँ।

    हिजो दिनभरि के के भयो भन्ने जानकारीका लागि यो पेजमा जानुहोस्