राष्ट्रपतिद्वारा चुनाव गराउन सहयोग गर्न सबैलाई अपील

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपील गरेका छन्।

सारांश

  • राष्ट्रपतिद्वारा चुनाव गराउन सहयोग गर्न सबैलाई अपील
  • नवनियुक्त प्रधानमन्त्रीद्वारा 'जेन जी' प्रदर्शनका क्रममा घाइते भएकाहरूसँग अस्पतालमा भेटघाट
  • प्रतिनिधिसभा पुनर्स्थापना गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने आठ दलको माग
  • गत मङ्गलवार नक्खु जेलबाट निस्किएका रास्वपा सभापति रवि लामिछानेद्वारा आफू कारागारमै फर्कन लागेको सार्वजनिक जानकारी
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालका नयाँ प्रधानमन्त्रीलाई शुभकामना, मणिपुरमा एक सार्वजनिक कार्यक्रममा नेपाली युवाहरूको प्रशंसा
  • राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर भन्छिन्," नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता तथा प्रगतिका आकाङ्क्षाका साथसाथ संयुक्त राष्ट्रसङ्घ खडा "
  • चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधवार भने, "चीन र नेपाल परम्परागत मित्र तथा छिमेकी रहेका अनि नेपालका विभिन्न पक्षले आन्तरिक मामिलालाई उचित व्यवस्थापन गर्ने तथा शान्ति र स्थिरता चाँडै पुनर्स्थापना गर्न आशा"
  • "नेपालको सबभन्दा पुरानो मित्रका रूपमा हामी अगाडिका चुनौतीबारे जानकार छौँ र जवाफदेहिता तथा समावेशी शासनको नेपाली आकाङ्क्षालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ," ब्रिटिश राजदूतावासको टिप्पणी
  • बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसद्वारा नेपालकी नयाँ प्रधामन्त्रीलाई बधाई ज्ञापन
  • देशका विभिन्न स्थानमा निषेधाज्ञा हटाइए पनि कतिपय निषेधित क्षेत्र भने कायमै, सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा

लाइभ कभरेज

  1. आजका लागि 'लाइभ अपडेट' बाट बिदा दिनुहोस्

    राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीको नियुक्ति, प्रतिनिधिसभा विघटन र आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट भएका विभिन्न राजनीतिक गतिविधिहरूबारे हामीले प्रस्तुत गरेका धेरै थरी सामग्रीहरू हेरिदिनुभएकामा तपाईँहरूलाई धेरैधेरै धन्यवाद छ।

    आजका लागि हामी यो लाइभ पेजलाई यहीँ टुङ्ग्याउँछौँ।

    हाम्रा अरू सामग्रीका लागि हाम्रो वेबसाइट र सोशल मिडियाका प्ल्याट्फर्महरू हेर्दै रहनुहोला। धन्यवाद।

  2. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे नेपालका युवाहरूको प्रशंसा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

    तस्बिर स्रोत, Reuters

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको परिवर्तनमा संलग्न युवाहरूको प्रशंसा गरेका छन्।

    उत्तरपूर्वी भारतको मणिपुरमा पुगेका मोदीले एक कार्यक्रममा सम्बोधन गर्दै नेपालको पछिल्लो परिवर्तन र नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन लामै समय खर्चिए।

    नेपालबारे उनको वक्तव्यको अंश यहाँ साभार गरिएको छ:

    साथीहरू आज मणिपुरको यो धरतीबाट म नेपालकाबारेमा पनि कुरा गर्छु। हिमालयको काखमा बसेको नेपाल भारतको एक मित्र हो, नजिकको साथी हो। हामी साझा इतिहाससँग, आस्थासँग जोडिएका छौँ। साथै मिलेर अघि बढिरहेका छौँ। नेपालमा नेपालका अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेकोमा १ अर्ब ४० करोड भारतवासीका तर्फबाट सुशीलाजीलाई हार्दिक बधाई दिन्छु।

    मलाई विश्वास छ कि उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुने छ।

    पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको एकदमै उत्तम उदाहरण हो। म आज नेपालका त्यस्ता हरेक व्यक्तिको सराहना गर्छु जसले यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे।

    साथीहरू, नेपालमा भएका घटनाक्रममा अर्को कुरा पनि विशेष छ जसमा मानिसहरूको ध्यान गएको छैन। पछिल्ला दुई तीन दिनदेखि नेपालका युवायुवतीहरूले नेपालका सडकमा सफाइ र रङ्गरोगनका काम बडो मेहनत र पवित्रताको भावनाका साथ गरिरहेको देखिएको छ।

    सामाजिक सञ्जालमा आइरहेका उनीहरूका तस्बिर मैले पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच यो सकारात्मक कार्य केवल प्रेरणादायक मात्रै छैन यो नेपालको नवउदयको स्पष्ट सङ्केत पनि हो।

    म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना दिन्छु।

  3. संविधान बचेको र गणतन्त्र कायम छ: राष्ट्रपति पौडेल

    राष्ट्रपतिको विज्ञप्ति

    तस्बिर स्रोत, President Office

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।

    राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गरी अवसरको सदुपयोग गर्दै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्।

    "देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्," राष्ट्रपति पौडेलको विज्ञप्तिमा भनिएको छ।

  4. कारागार फर्कँदै छु: रवि लामिछाने

    रवि लामिछाने

    तस्बिर स्रोत, Screengrab

    पूर्व गृहमन्त्री रवि लामिछानेले आफू कारागार फर्कन लागेको बताएका छन्।

    फेसबुकमा एक भिडिओ राख्दै लामिछानेले आफ्नो जन्मदिनकै दिन ‘भारी मन लिएर’ कारागार फर्कन लागेको बताएका छन्।

    “आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदै छु,” उनले भनेका छन्।

    भदौ २४ गतेको प्रदर्शन उत्कर्षमा पुगेका समयमा लामिछाने नक्खु कारागारबाट बाहिर आएपछि उनको आलोचना भएको थियो। उनले यसअघि कारागारको सुरक्षाका लागि आफूलाई प्रशासनले नै रिहा गरेको र आफू नभागेको दाबी गरेका थिए।

    “जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिट्ठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो। आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्नँ,” उनले भनेका छन्।

  5. संसद् ब्यूँताउन आठ दलको माग

    आठ दलको विज्ञप्ति

    विभिन्न आठ वटा राजनीतिक दलका प्रमुख सचेतक र नेताहरूले संसद् विघटनको कदमप्रति असहमति जनाएका छन्।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन कानुन छलेर भएको आरोप लगाएका छन्।

    “नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

    “लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनु पर्ने र सबै निकायहरू संविधान र कानुन बमोजिम सञ्चालन हुनु पर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ।”

    आठ दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर संसद् बैठक बोलाउन र त्यहीँबाट आन्दोलनरत समूहको माग सम्बोधन गर्न माग गरेका छन्।

    संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलको भने संलग्नता छैन।

  6. के पूर्वप्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा उजुरी परेको हो?

    नयाँ बानेश्वरमा प्रदर्शनकारीहरूमाथि पानीको फोहरा

    विभिन्न सञ्चारमाध्यमहरूमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नयाँ बानेश्वर प्रहरीमा उजुरी परेको भन्दै समाचार आएको छ।

    कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभाका पूर्वसदस्य अभिषेकप्रताप शाहले ओलीविरुद्धको उजुरी पठाएको समाचारहरूमा जनाइएको छ।

    बीबीसीले यस विषयमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई सम्पर्क गरी सोधेको थियो।

    पूर्वसांसद शाहले आफूलाई उजुरी बुझाएको तामाङले बताए।

    “उहाँले ज्ञापनपत्र बुझाउन आउँदै छु भन्नुभयो। वास्तवमा त्यो उजुरी रहेछ। जिल्ला प्रशासन कार्यालय यस विषयको उजुरी लिने निकाय होइन। यस्तो उजुरी वारदात भएको स्थान नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने नियम छ,” तामाङले भने।

    “नजिकको कार्यालयले नबुझे त्यसभन्दा माथिको कार्यालयमा बुझाउने व्यवस्था छ। तर हामीले बुझेर उजुरी पठाउने भन्ने व्यवस्था हुँदैन।”

    जिल्ला प्रशासन कार्यालयबाट यस्तो उजुरी प्रहरीमा पठाउने व्यवस्था नभएको भन्दै तामाङले ‘प्रहरीको कार्यक्षेत्रमा पर्ने’ विषयको उजुरीबारे आफ्नो कार्यालयले केही कारबाही गर्न नसक्ने बीबीसी न्यूज नेपालीसँग बताए।

  7. 'आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदै छ नयाँ प्रधानमन्त्रीको कार्यकक्ष', राष्ट्रिय समाचार समिति

    नयाँ प्रधानमन्त्री कार्यालय

    तस्बिर स्रोत, RSS

    'जेनजी' युवाहरूको प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ।

    सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन्।

    राससका अनुसार आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायतका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो। पुरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ।

    राणाकालीन प्रधानमन्त्री कार्यालयमा लागेको आगो निभाइँदै

    तस्बिर स्रोत, RSS

    आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ। तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपस्ट छन्।

    आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिवार सरसफाइ र फोहर व्यवस्थापनको काम भएको छ।

    मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटाएर सरसफाइ र फोहर व्यवस्थापन सुरू गरिएको राससलाई बताए।

    “सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौँ,” उनले भने।

  8. प्रधानमन्त्री कार्की आन्दोलनका घाइते भेट्न अस्पतालमा

    प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पताल पुगेकी छन्।

    कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी हुन्।

    प्रधानमन्त्री सुशीला कार्की
    प्रधानमन्त्री सुशीला कार्की
    प्रधानमन्त्री सुशीला कार्की
  9. नयाँ सरकारबाट अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरूले खोजे सार्वजनिक प्रतिबद्धता

    मानव अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालको अन्तरिम सरकारलाई विधिको शासन, अन्तर्राष्ट्रिय मानव अधिकारका दायित्वहरू पालना गर्ने सार्वजनिक प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।

    एम्नेस्टी इन्टर्न्याश्नल, इन्टर्न्याश्नल कमिशन अफ जुरिस्ट्स्, इन्टरन्याश्नल फेडरेशन अफ ह्यूमन राइट्स र ह्यूमन राइट्स वाचले देश पश्चगमनको यात्रामा जान नहुनेतर्फ ध्यानाकर्षण समेत गराएका छन्।

    “नेपालले बरु विधिको शासनअन्तर्गतको प्रक्रियामार्फत् दण्डहीनता, कुशासन र भ्रष्टाचारजस्ता गहिरा समस्याहरूलाई सम्बोधन गर्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ,” विज्ञप्तिमा भनिएको छ।

    मानव अधिकार निकायहरूले “प्रहरीद्वारा भएको बल प्रयोगका साथै हिंसक प्रदर्शनकारीहरूद्वारा गरिएका आक्रमणहरूको” शीघ्र, पूर्ण, स्वतन्त्र, विश्वसनीय, समयबद्ध, पारदर्शी र प्रभावकारी अनुसन्धान गर्न भनेका छन्।

  10. कार्कीलाई बाङ्ग्लादेशका सरकार प्रमुखको बधाई

    मोहम्मद युनुस

    तस्बिर स्रोत, Reuters

    बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिएका छन्।

    उनले कार्कीको नेतृत्व र मार्गदर्शनमा नेपाल र नेपालीले शान्ति, विकास र स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    उनले पछिल्लो प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त समेत गरेका छन्।

    नेपालमा जस्तै बाङ्ग्लादेशमा पनि एक वर्षअघिको प्रदर्शनप्रश्चात् अन्तरिम सरकार गठन भएको थियो।

    विद्यार्थीहरूको अगुवाइमा भएको प्रदर्शनले शेख हसिनाको सरकारलाई अपदस्थ गर्दै युनुसको नेतृत्वमा चुनावी सरकार गठन गरेको थियो।

    युनुसको सरकारले आगामी फेब्रुअरीमा चुनाव घोषणा गरेको छ।

    युनुसको शुभकामना

    तस्बिर स्रोत, Chief Adviser GOB

  11. कुनकुन माओवादी नेताका घरमा पुग्यो क्षति, माओवादी पार्टीले दियो क्षतिको विवरण

    नेकपा माओवादी केन्द्रले आफ्नो दलका नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ।

    उक्त पार्टीका अनुसार क्षतिको विवरण यस्तो छ:

    १. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

    २. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

    ३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

    ४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

    ५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।

    ६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

    ७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

    ८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

    ९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

    १०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

    ११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

    १२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

    १३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

    १४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

    १५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त

    १६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

    १७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

    १८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

    १९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

  12. काठमाण्डू उपत्यकामा सार्वजनिक सवारी चल्न थाले, उपत्यकाबाट बाहिरी जिल्लामा जाने सवारीसाधन पनि आज साँझदेखि चल्न सक्ने

    सिंहदरवार अगाडीको दृश्य

    तस्बिर स्रोत, RSS

    विरोध प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाण्डू उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमन पुनः सञ्चालन भएको छ।

    काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि सञ्चालनमा रहेको जनाएको छ।

    कर्फ्यू,निषेधाज्ञा र प्रदर्शनका गतिविधि रोकिएसँगै उपत्यकाबाट बाहिरी जिल्लामा जाने सवारीसाधन पनि आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

  13. नेपालका नयाँ प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीको शुभकामना

    शनिवार बिहान सामाजिक सञ्जालमा नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा पोस्ट गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालकी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिएका छन्।

    "नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ," मोदीले भनेका छन्।

    यस विषयमा पूरा समाचार पढ्न तलको लिङ्कमा जानुहोला।

  14. काठमाण्डूका यी स्थानमा निषेधित क्षेत्र कायमै

    राष्ट्रपति कार्यालय अगाडीको दृश्य

    तस्बिर स्रोत, RSS

    नयाँ प्रधानमन्त्री नियुक्तिसँगै देशका अधिकांश स्थानमा लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइए पनि काठमाण्डूका निश्चित स्थानमा जुलुस र प्रदर्शन गर्न लगाइएको रोक कायमै राखिएको छ।

    जिल्ला प्रशासन कार्यालय काठमाण्डूले शनिवार एक सूचना जारी गर्दै पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो। यसअघि नेपाली सेनाले काठमाण्डू उपत्यकामा लागु गरेको कर्फ्यूको अवधि पनि शनिवार बिहानबाट सकिएको छ।

    "सुरक्षा संवेदनशीलताको आधारमा २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको बेहोरा सबैको जानकारीको लागि अनुरोध छ," सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ।

    भदौ २६ गते काठमाण्डूका छ स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको थियो। उक्त आदेश दुई महिनासम्म कायम रहने सूचनामा उल्लेख छ।

    प्रशासनले सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र कायमै राखेको छ।

  15. नयाँ अन्तरिम सरकारसँग देश विदेशबाट अपेक्षासहितका सन्देश

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    आज हामी तपाईँहरूलाई युवाहरूको आन्दोलनपश्चात् नयाँ अन्तरिम प्रधानमन्त्रीको नियुक्ति, शान्तिसुरक्षाको स्थिति र अन्तरिम सरकार गठनका सम्बन्धमा अबका नयाँ गतिविधिबारे यो लाइभ पेजबाट जानकारी गराउने छौँ।