राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आठ दलबीच समझदारी

नेताहरू

संसद्‌मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटेको एक नेताले बताएका छन्।

नेपाली कांग्रेस र एकीकृत समाजवादी दलले उक्त पदका लागि आकाङ्क्षा व्यक्त गर्दै आएको विवरण आइरहँदा अन्ततः कांग्रेसलाई समर्थन गर्न माओवादी केन्द्रसहितका आठ दल सहमत भएको नेकपा एकीकृत समाजवादी नेता प्रकाश ज्वालाले बीबीसीलाई बताए।

''राष्ट्रपतिका सन्दर्भमा आठ दलको उपस्थितिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव आएको थियो। त्यसमा साझा उम्मेदवारका रूपमा सहयोग गर्ने टुङ्गो लाग्यो,'' ज्वालाले भने।

लिखित निर्णय नभएको भए पनि समझदारी बनेको उनले जानकारी दिए।

कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे टुङ्गो लाग्न‌ बाँकी भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

‘‘भोलि बिहान कार्य सम्पादन समितिको बैठक पार्टी कार्यालयमा छ। त्यही निर्णय हुन्छ। अहिले नै सम्भावित (नाम) भन्नु उपयुक्त हुँदैन,’’ उनले भने।

ओली र प्रचण्ड
तस्बिरको क्याप्शन, राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि शुक्रवार छलफल भएको थियो

शुक्रवार साँझको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल नभएको बुझिएको छ।

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारूढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सघाउने भएका छन्।

त्यस्तै विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन्।

राजनीतिक दलहरूले शनिवार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ।

बालुवाटारमा शुक्रवार बिहान कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूबीच बैठक चलेको थियो।

प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको उक्त बैठकमा राष्ट्रपतिमा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेको विवरणहरू सार्वजनिक भएका थिए।

red line
red line

तर उक्त बैठकमा नेपाली कांग्रेसले आफ्नो दलले राष्ट्रपति पाउनुपर्ने अडान कायमै राखेपछि त्यसबारे साँझ छलफल गर्ने बताइएको थियो।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै नेकपा एमालेलाई समर्थन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हच्किएपछि एमालेले पनि एकीकृत समाजवादीका नेता नेपाललाई अघि सार्न खोजेको बताइएको थियो।

त्यसै सिलसिलामा शुक्रवार दिउँसो प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झन्डै दुई घण्टा बैठक भएको थियो।

उनीहरूबीच कुराकानी सकिएपछि पुनः कांग्रेस र माओवादी केन्द्रसहित अन्य राजनीतिक दलहरू छलफलमा जुटेका थिए।

चार दलको बैठक बालुवाटारमा बसिरहँदा पछि लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी पनि सहभागी भएका थिए।