ब्रजिलमा शरण खोज्नेमध्ये विमानस्थलभित्रै कति नेपाली छन्, तीनको अवस्था कस्तो छ?

साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Getty Images

साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा केही नेपालीहरू शरणको खोजीमा बसिरहेका भन्ने विवरणमाझ ब्रजिलका एकजना सङ्घीय अभियोजनकर्ताले हालैका दिनमा उत्तर अमेरिका छिर्ने उद्देश्यसहित आफ्नो मुलुक प्रवेश गर्ने नेपालीहरूको सङ्ख्या ठूलो रहेको बताएका छन्।

चार दिनअघि ब्रजिलियास्थित नेपाली राजदूतावासले साओ पाउलो विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब ७०० यात्रुहरू रोकिएको खबरप्रति ध्यानाकर्षण भएको जनाएको थियो।

जसमध्ये सबै १७६ जना नेपालीहरू सकुशल रहेको भन्दै दूतावासले आवश्यकता अनुसार नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयार अवस्थामा आफूहरू रहेको उल्लेख गरेको थियो।

तर बीबीसी ब्रजिललाई दिएको प्रतिक्रियामा ब्रजिलको प्रहरीले बिहीवारसम्म ३३१ जना विमानस्थलमा नियन्त्रणमा रहेको बताएको छ।

ब्रजिलको प्रहरी के भन्छ?

व्यक्तिगत सुरक्षाका कारण उनीहरूको राष्ट्रियता नखुलाइएको भएपनि विमानस्थलको निषेधित क्षेत्रमा रहेकामध्ये सबैभन्दा धेरै ९३ जना एउटै देशका रहेको ब्रजिलको प्रहरीले उल्लेख गरेको छ।

बीबीसी ब्रजिलिअनका भितोर ताभारेस भन्छन्: “यसको अर्थ यदि त्यहाँ रहेकामध्ये सबैभन्दा धेरै नेपाली नागरिक छन् भने पनि विमानस्थलभित्र उनीहरू ९३ जना छन्।”

यसबारे बीबीसी नेपालीले ब्रजिलस्थित नेपाली राजदूतावासका अधिकारीहरूसँग बुझ्ने प्रयास गरेको थियो।

दूतावासका नियोग उपप्रुमख बाबुराम सिग्द्यालले ‘अद्यावधिक विवरण आई नसकेको र आफूहरूले बुझ्ने प्रयास गरिरहेको' बताएका छन्। आफूहरू ब्रजिलका अधिकारीहरूको सम्पर्कमा रहेको उल्लेख गर्दै उनले केही नयाँ विवरण प्राप्त भए सार्वजनिक गर्ने जनाए।

ब्रजिलले सोमवारबाट नयाँ अध्यागमन नीति कार्यान्वयनमा ल्याएको थियो।

जसअन्तर्गत ‘नेपाली आगन्तुकले ब्रजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने’ रहेको ब्रजिलियास्थित नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ।

साओ पाउलो विमानस्थल

तस्बिर स्रोत, Reuters

नेपालीहरूको उक्त समूह नयाँ नियम कार्यान्वयन हुनुअघि नै साओ पाउलो विमानस्थलमा पुगेका थिए।

जसले गर्दा ब्रजिलिअन प्रणाली अन्तर्गत दर्ता भएको खण्डमा उनीहरूले उक्त देशमा प्रवेश गर्न पाउनेछन्।

ब्रजिलको प्रहरीले नयाँ नियम कार्यान्वयनमा आएपछि गएको सोमबारयता शरण खोज्दै विमानस्थल पुग्नेको सङ्ख्या 'उल्लेख्य रूपमा घटेको’ जनाएको छ।

यस अवधिमा शरण खोज्नेको सङ्ख्या जम्मा ४८ रहेको थियो जुन ‘हालैको हप्ताहरूको औसतको तुलनामा ज्यादै न्यून” र “गुहारुल्युस विमानस्थलमा हुने साधारण आवतजावतको निकट” हो।

ती व्यक्तिहरू अब आफ्नै देश फिर्ता हुनुपर्नेछ वा आफ्नो बोर्डिङ पासमा उल्लेख गरिएको अन्तिम गन्तव्यका लागि यात्रा गर्नुपर्ने ब्रजिलका अधिकारीहरूले जनाएका छन्।

मानव तस्करहरूले प्रयोग गर्ने मार्ग

यसअघि ब्रजिलको प्रहरीअन्तर्गतको गुप्तचर निकायले विगत डेढ वर्षमा उक्त देशमा शरण माग्नेहरूमध्ये तेस्रो ठूलो सङ्ख्या नेपालीहरू रहेको प्रतिवेदन दिएको थियो।

उक्त प्रतिवेदन अनुसार साओ पाउलोस्थित विमानस्थलमा ज्यानुअरी २०२३ देखि जुलाई २०२४ सम्म शरणार्थी हुनका परेका ८,३२७ आवेदनमध्ये ७० प्रतिशत भन्दा बढी भारत, भियतनाम र नेपालका रहेका छन्।

एक महिनाअघि उक्त निकायले बुझाएको प्रतिवेदनमा ब्रजिलमा विगत डेढ वर्षमा शरण माग्ने ८,३०० भन्दा धेरै मानिसहरूमध्ये करिब १,९०० जना नेपालीहरू रहेको उल्लेख छ।

ब्राजिलको प्रहरी तथ्याकङ्क

ब्रजिलमा विगत डेढ वर्षमा शरणार्थी बन्न निवेदन दिएकाहरूमध्ये सबैभन्दा धेरै २३.९ प्रतिशत भारतीयहरू छन्। त्यसपछि भियतनामी २३.५ प्रतिशत र नेपाली २२.८ प्रतिशत छन्।

विमानस्थलको अवस्थाबारे अनुगमन गर्न जिम्मेवार सङ्घीय अभियोजनकर्ता गीलयर्मी रोचा गोप्फर्टले विमानस्थलभित्र रहेका ३३१ जनामा धेरै नेपाली, भारतीय, पाकिस्तान र दक्षिण अफ्रिकाका नागरिकहरू रहेको बताए।

उनी भन्छन्: “हालै यस्तो परिस्थितिमा ब्रजिल आएर उत्तर अमेरिका जाने मानिसहरूको एउटा प्रमुख देश नेपाल पनि बनेको छ। यो समूहले शरणको लागि अनुरोध गर्ने अवसर कुरिरहेको छ।”

ब्रजिलमा शरण लिएकामध्ये ९९.५९ प्रतिशत मानिसले या त ब्रजिल छाडेका हुन्छन् या गैरकानुनी आवतजावत गर्छन्।

पेरुको सीमामा अवस्थित ब्रजिलको एकर राज्यलाई उनीहरूले उत्तर अमेरिका छिर्ने प्रमुख मार्गको रूपमा प्रयोग गर्ने गरेको प्रहरीको गुप्तचर इकाइको प्रतिवेदनमा जनाइएको छ।

अमेरिका छिर्ने चाहनामा पेरुबाट बोलिभिया हुँदै त्यस्ता शरणार्थीहरू निक्कै कष्टप्रद र खतरनाक यात्रा गर्ने गरेको विभिन्न अधिकारवादी संस्थाहरूको प्रतिवेदनमा जनाइएको छ।

ब्रजिलस्थित नेपाली राजदूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन सम्बन्धित सबैमा अनुरोध गरेको छ।

विमानस्थल

विमानस्थलमा रहेका व्यक्तिहरूको अवस्था के छ?

शरण आवेदन प्रक्रियाका लागि विमानस्थलमै रहेका ती ३३१ जना मानिसहरूको भुँईमा बसिरहेको र उनीहरूका लागि सुत्ने ठाउँ पनि नरहेको सङ्घीय अभियोजनकर्ता गीलयर्मी रोचा गोप्फर्ट बताउँछन्।

“तर पनि उनीहरूले न्यूनतम सहयोग - जस्तै खानेकुरा र नुहाउने सुविधा पाइरहेका छन्।”

उक्त विमानस्थलभित्र कैयौँ भारतीयहरू रहेको भए तापनि बाहिर प्रचारमा आएजस्तो सङ्ख्या ठूलो नभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले शुक्रवार बताएका थिए।

उनका अनुसार साओ पाउलोस्थित भारतीय कन्सुलेटका अधिकारीहरू सो सहरमा रहेका ब्रजिलको विदेश मन्त्रालयका प्रतिनिधिसँग सम्पर्कमा छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताका अनुसार स्वास्थ्यकर खानेकुरा लगायतका कुरामा भारतीय नागरिकहरूले कुनै अप्ठेरोको सामना गरेका छैनन्।

ब्रजिलस्थित नेपाली अधिकारीहरूले भारतको ब्रजिलस्थित दूतावासका अधिकारीहरूसँग पनि आफूहरूले कुराकानी गरेको र 'उद्धार गर्नुपर्ने अवस्था नदेखिएको' निष्कर्षमा पुगेको जनाएका छन्।

विमानस्थलमा रहेका नेपालीहरूले शरण लिने प्रयास गरिरहेकाले उसै पनि उनीहरूका सूचनामा आफ्नो पहुँच कम हुने अधिकारीहरू बताउँछन्।

गएको सोमबार उक्त विमानस्थलमा बसिरहेका आप्रवासी समूहमध्ये एकजनामा ठेउला भएको साओ पाउलो अस्पतालले जनाएको थियो।

शरणार्थी हैसियत माग गर्दै विमानस्थलमा रहेका ती व्यक्तिमा “एमपक्ससँग मिल्दो जुल्दो लक्षण र सङ्केत देखिएपछि’ तीनलाई अस्पताल लगिएको ब्रजिलको स्वास्थ्य तथा सरसफाइ सम्बन्धी नियामक निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको थियो।

ठेउला भएका ती व्यक्ति नेपाली रहेको र उनको स्वास्थ्य जाँचको सहजीकरणका लागि नेपाली राजदूतावासले एक जना दोभासेको पनि व्यवस्था गरिदिएको बीबीसी नेपालीले थाहा पाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।