ट्रम्पविरुद्ध कडा टिप्पणी गरेका क्यानडाका प्रधानमन्त्री के अब पछि हट्दै छन्

कार्नी र ट्रम्प

तस्बिर स्रोत, PA Media

    • Author, नदिन युसिफ
    • Role, बीबीसी न्यूज, टोरन्टो

क्यानडा र अमेरिकाबीचको व्यापार युद्धमा फेरि अर्को मोड आएको छ – अर्को महिनादेखि लागु हुने भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडेली वस्तुमा अनपेक्षित ३५ प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका छन्।

आगामी दिनहरूमा नयाँ सम्झौता गर्ने हिसाबले अहिले दुई देश सघन व्यापार वार्तामा व्यस्त छन्। यो नयाँ ट्यारिफको धम्कीले ती वार्तामा कस्तो प्रभाव पर्ला भन्ने प्रस्ट छैन।

तर क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले चाहिँ के उनी ट्रम्पका सामु नझुकीकन उभिन सक्छन् र क्यानडाका निम्ति उनले विगतमा वाचा गरेको जस्तै उचित सम्झौता गर्न सक्छन् भन्ने प्रश्नको सामना गरिरहेका छन्।

वाचा बिर्सिएको टिप्पणी

एप्रिल महिनामा भएको आम निर्वाचनमा कार्नीले अमेरिकी धम्की सामु नझुक्ने वाचा गर्दै जित हासिल गरेका थिए। वास्तवमा चुनावताका कार्नीले क्यानडाको लोकप्रिय खेल आइस हकीमा उपयोग हुने "एल्बो अप" भनिने शब्द प्रयोग गरेका थिए। जसको अर्थ प्रतिद्वन्द्वीका सामु नझुकिकन लड्ने हुन्छ।

तर क्यानडाले हालसालै ट्रम्पका निम्ति दिएका छूटहरूले अहिलेसम्म कुनै परिणाम दिएको देखिँदैन।

त्यसको पछिल्लो उदाहरण जुन महिनाको अन्त्यतिर देखियो। ट्रम्पले वार्ता अन्त्य गरिदिने धम्की दिएपश्चात् क्यानडाले ठूला प्रविधि कम्पनीहरूमाथि डिजिटल सर्भिस ट्याक्स (डीएसटी) लगाउने योजना त्यागिदियो।

ह्वाइट हाउसले क्यानडा आफ्नो मागका सामु 'झुकेको' बतायो भने त्यसले क्यानडाभित्र बहस निम्तियो।

क्यानडेली टिप्पणीकार रोबीन अर्ब्याकले प्रधानमन्त्री मार्क कार्नी थाकेको हुन सक्ने लेखिन्। कार्नीले प्रयोग गरेको 'एल्बो अप' शब्दको सन्दर्भ जोड्दै उनले सरकारले वार्तामा 'एल्बो अप एन्ड डाउन'को शैली अपनाएर केवल 'चिकन डान्स' वा हावादारी बहानामा मूल मुद्दाबाट पन्छिन खोजेको बताइन्।

ब्रक युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ब्लेन ह्यागर्टले हालै द ग्लोब एन्ड मेल पत्रिकामा एक लेखमा भनेका छन्: "कार्नीको अमेरिका रणनीतिको कुनै पाटोले पनि अर्थ राखेको पाइँदैन।"

डीएसटीबाट पछि हटेर 'शून्यभन्दा कम' हासिल भएको उनले भनेका छन्।

समर्थन अझै बलियो

कतिपय मानिसहरू कार्नीलाई थप समय दिन तयार छन्। जनमत सर्वेक्षणहरूले उनको सरकारलाई बलियो समर्थन कायम रहेको देखाएका छन्।

क्यानडा-अमेरिका सम्बन्धमा ओटावाका पूर्व सल्लाहकार रोल्यान्ड प्यारिसले क्यानडाले हतारोमा आफ्ना अडान त्यागेको भनिहाल्न अहिले समय आइनसकेको बीबीसीलाई बताए।

"धेरै कुरा अन्तिम सम्झौतामा भर पर्छ," उनले भने।

तर ट्रम्पले कडा लेनदेन गर्ने चाहिँ प्रस्ट भएको उनले बताए।

"यदि कार्नीले ट्रम्पका सामु आत्मसमर्पण गरेको देखियो र हाम्रा हातमा खराब सम्झौता पर्‍यो भने उनले स्वदेशमा राजनीतिक मूल्य चुकाउने छन्," उनले भने।

मार्क कार्नी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी क्यानडा र यूकेका केन्द्रीय ब्याङ्कका पूर्व गभर्नर हुन्

डीएसटीमा पछि हट्नु अगाडि क्यानडाले ट्रम्पलाई खुसी पार्न साझा सिमानाको सुरक्षा सुदृढ गर्न १ अर्ब ३० करोड क्यानडेली डलर खर्च गर्ने तयारी गरेको थियो। क्यानडासँगको सिमानाबाट लागुऔषध भित्रिएको ट्रम्पको दाबी सम्बोधन गर्न यो देशले 'फेन्टानाइल जार' नामको निकाय पनि नियुक्त गरेको थियो।

यति हुँदाहुँदै बिहीवार ट्रम्पले पत्र लेख्दै पछिल्लो ट्यारिफको धम्की दिए अनि लागुऔषधबारे क्यानडालाई चेतावनी दिए।

गत महिना ट्रम्पले स्टील र अल्युमिनिअममा ट्यारिफ दोबर पार्दा पनि कार्नीले कुनै बदलाको कारबाही घोषणा गरेनन्।

अब अगस्ट १ बाट ३५ प्रतिशत ट्यारिफ लगाइदिने ट्रम्पको नयाँ धम्कीबारे टिप्पणी गर्दै कार्नीले भने: "अमेरिकासँग वर्तमान व्यापार वार्ताका दौरान क्यानडेली सरकारले आफ्ना श्रमिक तथा व्यापारहरूको हितको दृढतापूर्वक रक्षा गर्दै आएको छ।"

अर्को महिनाको नयाँ समयसीमाका माझ उनले क्यानडाले वार्ता जारी राख्ने भनेका छन्। यसअघि दुई देशले जुलाई २१ को समयसीमा तय गरेका थिए।

घरेलु मुद्दामा ट्रम्पविरुद्ध एकता

तत्कालका निम्ति क्यानडाको सामु राम्रो खबर के छ भने नयाँ ट्यारिफ दर – कम्तीमा अहिलेका लागि – अमेरिका-मेक्सिको-क्यानडा स्वतन्त्र व्यापार सम्झौताले समेटेका वस्तुहरूमा लाग्ने छैन। उक्त सम्झौताले सीमा वारपार व्यापार हुने अधिकांश वस्तु समेट्छ।

राष्ट्रपति ट्रम्पले उस्तै प्रकारका पत्र २० भन्दा धेरै देशहरूलाई पठाएका छन्।

घरेलु राजनीतिमा भिन्नभिन्न आस्था पछ्याएपनि क्यानडेलीहरू ट्रम्पका ट्यारिफविरुद्ध एकताबद्ध छन्।

कन्जरभेटिभ दलका नेता पिअर पोलिएभले 'क्यानडाको निम्ति उत्तम सम्झौता हासिल गर्न' आफ्नो पार्टीले जेसुकै गर्न तयार रहेको बताए। त्यस्तै ब्रिटिश कोलम्बियाका प्रिमिअर डेभिड इबीले ट्रम्पको पत्रले 'क्यानडेलीहरूलाई किन एकताबद्ध हुन जरुरी छ भनेर फेरि एक पटक सम्झाएको' उल्लेख गरे।

अमेरिकाभन्दा सानो अर्थतन्त्र भए पनि क्यानडाको पक्षमा केही कुरा रहेको कार्लटन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तथा अन्तर्राष्ट्रिय वार्ताका विज्ञ फेन ह्याम्सनले भने।

"के कुरा सम्झनु जरुरी छ भने आखिरमा ट्यारिफ तिर्ने अमेरिकी उपभोक्ताहरूले हो, हामीले होइन," उनले भने।

अमेरिकाका कैयन् उत्पादकहरू स्टील र अल्युमिनिअम जस्ता क्यानडेली वस्तुमा निर्भर छन् जसमा अहिले चर्को ५० प्रतिशत आयात शुल्क वा ट्यारिफ लगाइएका छन्।

"वार्ताको परिणामलाई तपाईँले पछिल्लो कदम वा दिइएका छूटहरूबाट मूल्याङ्कन गर्न सक्नु हुन्न," प्राध्यापक ह्याम्सनले भने। "त्यसलाई तपाईँले केवल खास परिणामबाट मूल्याङ्कन गर्न सक्नु हुन्छ।"

साथै अमेरिकामाथिको निर्भरता घटाउने – युरोपेली युनियनसँग अस्त्र सम्झौता गर्ने कदम लगायत – अनि ठूला परियोजनाहरूलाई द्रुत गति दिने तथा घरेलु व्यापार अवरोधहरू हटाउने कार्नीका प्रयासहरू तर्फ पनि विज्ञहरूले ध्यान आकृष्ट गरेका छन्।

ट्रम्पका पछिल्ला धम्कीहरूबारे प्रश्न सोध्दा क्यानडाकी उद्योगमन्त्री मेलानी जोलीले सरकार ट्रम्पका सामु झुकेको अस्वीकार गरिन्।

"हामी अप्रत्याशित (व्यवहार गर्ने) अमेरिकी प्रशासनसँग काम गर्दैछौँ," उनले भनिन्। "तर त्यसो गर्ने हामी एक्ला भने होइनौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।