भारतीयहरू किन हप्तामा ७० घण्टा काम गर्नुपर्ने विषयमा बहस गरिरहेका छन्?

भारत

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, कोरोनाभाइरस महामारीपछि कामसँगको सम्बन्धलाई समीक्षा गर्नुपर्ने विषयमा बहस चलिरहेको छ
    • Author, मेरिल सेबास्टियन
    • Role, बीबीसी न्यूज, कोची

एक जना व्यक्तिले दिनमा कति घण्टा काम गर्नु उपयुक्त होला?

सफ्टवेअर अर्बपति एवं ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकका ससुरा एनआर नारायण मूर्तिले युवाहरूले देशको विकासका लागि सघाउन ७० घण्टासम्म काम गर्न तयार हुनुपर्ने बताएपछि अहिले भारतमा यो प्रश्न उठेको छ।

“भारतको काममा उत्पादकत्व विश्वकै कम मध्येमा पर्छ,” उनले हालै एउटा पडकास्टमा भनेका थिए। “जबसम्म हामी हाम्रो उत्पादकत्वमा सुधार गर्दैनौँ हामी द्रुत प्रगति गरिरहेका देशहरूसँग प्रतिस्पर्धा गर्न सक्नेछैनौँ।”

“त्यही भएर मेरो अनुरोध के हो भने युवाहरूले यो मेरो देश हो। म हप्ताको ७० घण्टासम्म काम गर्न चाहन्छु भन्नुपर्छ,” उनले थपे।

यी धारणाहरू भाइरल भएपछि मूर्तिको समर्थन र आलोचनामा सामाजिक सञ्जाल र समाचारपत्रहरूमा विचारहरू व्यक्त भइरहेका छन्।

कतिपयले कार्यस्थलका ‘विषाक्त’ वातावरण र रोजगारदाताले आफूले जागिर दिएका कामदारबाट के अपेक्षा गर्नुपर्छ भन्ने धारणा राखिरहेका छन्।

आलोचना गर्नेहरूले के भनिरहेका छन्

आलोचना गर्नेमध्ये कतिपयले सुरुमा दिइने न्यूनतम ज्यालाको चर्चा गरेका छन्। जसमा उनीहरूले त्यो न्यून रहेको पनि बताएका छन्।

मूर्ति आफैँ सह-संस्थापक रहेको भारतीय कम्पनी इन्फोसिसमा इन्जिनिअरहरूलाई दिइने ज्यालाबारे पनि कुरा उठाइएको छ।

अरूहरूले आराम नगरीकन काम गर्दा त्यसले निम्त्याउने शारीरिक र मानसिक स्वास्थ्यका समस्याबारे चर्चा गरेका छन्।

“सामाजिक घुलमिल हुन समय छैन, परिवारसँग कुरा गर्ने समय छैन, शारीरिक व्यायाम गर्न समय छैन, मनोरञ्जन गर्न समय छैन। कामको अवधिपछि पनि इमेल र फोन सम्पर्कमा जवाफ दिने अपेक्षा गर्ने गरिएकै छ। त्यही भएर युवा उमेरमै हृदयाघात भयो भनेर किन अचम्ममा पर्ने?,” बैङ्ग्लोरमा बस्ने एक जना मुटु रोग विशेषज्ञ दीपक कृष्णमूर्तिले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

कतिपयले अधिकांश महिलाहरूले घर र कार्यालय दुवैमा गरेर ७० घण्टा भन्दा निकै धेरै काम गर्ने गरेको उल्लेख गरेका छन्।

कोभिड-१९ महामारीले कामसँगको सम्बन्धबारे समीक्षा गर्न मानिसहरूलाई बाध्य बनाइरहेका बेला भारतमा यो बहस सुरु भएको हो।

धेरैले घरबाट काम गर्न आफूले बढी उत्पादनशील अनुभूत गरेको भनेका छन्।

कतिपयले काम गर्ने वातावरण सन्लुतिल हुनुपर्ने भन्दै पैरवी गरेका छन्।

भारतीयहरू कति काम गर्छन्?

मूर्तिको धारणाले भारतमा बहस निम्त्याएको हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मूर्तिको धारणाले भारतमा बहस निम्त्याएको हो

विज्ञहरूले यसबाट कामदारलाई मात्र नभई अरूलाई पनि फाइदा हुने बताउँछन्।

“काम र जीवनको सन्तुलन गर्ने नीतिहरू लिने कम्पनीहरूले काम गरिरहेका कर्मचारीहरूलाई लामो समय काममै राखिराख्न सक्छन्, नयाँ कर्मचारी भर्नामा सुधार गर्छन्, अनुपस्थित हुने दर घटाउँछन् र उत्पादनशील बढाउँछन्,” अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले अघिल्लो वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

अमेरिकामा रहेका ४५ वटा कम्पनीहरूबारे अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालिएको हो।

भारतीयहरू अहिले नै दैनिक धेरै घण्टा काम गर्ने आइएलओको रिपोर्टमा उल्लेख छ। महामारीअघि औसतमा भारतीयहरू प्रत्येक वर्ष दुई हजार घण्टा बढी काम गर्थे जुन अमेरिका, ब्राजिल र जर्मनी भन्दा धेरै बढी हो।

एक जना भारतीय उद्यमी तथा चलचित्र निर्माता रोनी स्क्रिउवालाले एक्समा लेखेका छन्, “उत्पादनशील वृद्धि गर्नु भनेको धेरै घण्टा काम गर्नु होइन। त्यो भनेको आफूले गर्ने काममा अझ राम्रो हुनु—क्षमताहरू बढाउनु, सकारात्मक काम गर्ने वातावरण हुनु र गरेको कामको लागि उचित ज्याला पाउनु हो।”

यो विषय भारतका लागि संवेदनशील विषय हो। उक्त देशको श्रम कानुन मजबुत छ तर अभियानकर्ताहरूले त्यसलाई कडा रूपमा पालना गर्नु पर्नेमा जोड दिइरहेका छन्।

यसै वर्षको सुरुमा कामदार र विपक्षी नेताहरूको विरोधपछि तामिल नाडू राज्य सरकारले उद्योगहरूमा काम गर्ने समय ८ घण्टाबाट बढाएर १२ घण्टा पुर्‍याउन प्रस्ताव गरेको एउटा विधेयक फिर्ता लिएको थियो।

सन् २०२० मा कोरोनाभाइरस महामारीले निम्त्याएको आर्थिक सुस्ततालाई क्षतिपूर्ति गर्न भारतीयहरूले न्यूनतम ६४ घण्टा प्रतिहप्ता काम गर्नुपर्ने धारणा राखेपछि मूर्तिको आलोचना भएको थियो।

समर्थनमा कस्ता विचार व्यक्त भएका छन्

अघिल्लो वर्ष अर्का भारतीय सीइओले आफ्नो पेसागत जीवन थाल्दा युवाहरूलाई दैनिक १८ घण्टा काममा लगाउनुपर्ने धारणा राखेपछि उनको आलोचना भएको थियो।

कतिपय भारतीय व्यावसायिक नेताहरूले पछिल्लो सुझावको समर्थन पनि गरेका छन्।

त्यसमध्ये एक आइटी कम्पनी टेक महिन्द्राका सीपी गुर्नामी हुन्।

उनले एक्समा लेखेका छन्, “जब उनले कामको बारेमा कुरा गरेका छन्, मलाई लाग्छ त्यो कम्पनीमा मात्रै सीमित छैन। ….. उनले ७० घण्टा कम्पनीको लागि मात्रै काम गर भनेका छैनन्—४० घण्टा कम्पनीको लागि काम गर तर ३० घण्टा आफ्नो लागि काम गर भनेका छन्। एक हजार घण्टा लगानी गरेर एउटा विषयमा मास्टर्स गर। रातिसम्म काम गरेर आफ्नो विषयको विज्ञ बन।”

जेएसडब्ल्यू ग्रूप अफ कम्पनीजका अध्यक्ष सज्जन जिन्दालले द्रुत गतिमा विकासशील भारत जस्तो आकारको देशले पाँच दिनको काम गर्ने संस्कृति धान्न नसक्ने बताए।

भारतले काम गर्ने अवधि बढाउने चर्चा गरिरहँदा कतिपय देशहरूले हप्तामा चार दिन काम गर्ने अभ्यासमाथि परीक्षण गरिरहेका छन्।

सन् २०२२ मा बेल्जियमले कानुन परिमार्जन गरेर कामदारहरूलाई तलब नघट्ने हिसाबमा हप्ताको चार दिन काम गर्न मिल्ने अधिकार दिएको थियो। त्यहाँका प्रधानमन्त्रीले उक्त कदमको उद्देश्य अझ ‘गतिशील र उत्पादनशील अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित’ भएको जनाएका थिए।

अघिल्लो वर्ष युकेमा पनि कैयौँ कम्पनीहरूले ६ महिना परीक्षणका रूपमा हप्तामा ४ दिन काम गर्ने अभियान चलाएका थिए। उक्त परीक्षण सकिने बेलामा त्यसमा सामेल ६१ मध्ये ५६ कम्पनीले तत्कालका लागि चार दिन कामको व्यवस्थालाई निरन्तरता दिने बताएका थिए भने १८ वटाले स्थायी रूपमा नै त्यस्तो व्यवस्था गर्ने उल्लेख गरेका थिए।

एउटा प्रतिवेदनले उक्त व्यवस्थाले विशेष गरी कामदारहरूको कल्याणमा व्यापक लाभ पुर्‍याएको निष्कर्ष निकालेको थियो।

यस्तै खालको परीक्षण पोर्चुगलमा पनि चलिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।