लामो समयदेखि बच्चा नजन्मिँदा राउटे समुदाय चिन्तित, कारण के हुनसक्छ?

राउटे परिवार

तस्बिर स्रोत, PRAKASH PANT/BBC

    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

वर्षौँदेखि जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका तीन जोडी दम्पतीले विवाह गरेको ५ वर्ष बितिसक्यो तर अहिलेसम्म उनीहरूले चाहँदाचाहँदै पनि बच्चा हुन सकेको छैन।

"बच्चा नजन्मिँदा यी दम्पतीले असाध्यै पिर मानेका छन्," विगत ५ वर्षदेखि राउटे समुदायको रेखदेखमा खटिएका स्वास्थ्यकर्मी लालबहादुर खत्रीले भने।

"विगत १६ महिनायता अरू राउटे समुदायमा एकजना पनि बच्चा जन्मिएको छैन।"

गत वर्ष असोज २८ गते प्रकाश शाहीकी छोरी जन्मिएकी थिइन्।

त्यसयता भने यो समुदायमा नयाँ बच्चा जन्मिएको छैन।

"दोस्रो बच्चा जन्माउन कोसिस गर्दा पनि गर्भ रहेन," शाहीले भने।

१४३ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा अहिले २४ विवाहित जोडी छन्।

अहिले कोही पनि राउटे महिला गर्भवती पनि नभएको र विगतमा गर्भवती भए पनि गर्भ नरहने जस्तो समस्या देखिएको यहाँ खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन्।

पछिल्लो १६ महिनामा तीन जना महिला गर्भवती भए पनि दुई जनाको ३ महिनामा र एक जनाको ७ महिनामा गर्भ खेर गएको खत्रीले बताए।

उनका अनुसार तीन चार वर्षअघिसम्म भने राउटे समुदायमा बर्सेनि ७–८ जनासम्म बच्चा जन्मिने गरेका थिए। 

२०६६ सालदेखि राउटेहरूलाई भत्ता दिन थालिएको र अहिले मासिक प्रतिव्यक्ति पाँचहजार रुपैयाँको दरले पाउने राउटे समुदायमा विगत चार वर्षदेखि काम गर्दै आएको संस्था सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापा बताउँछन्।

यही भत्ताका कारण पनि राउटे समुदाय आफ्नो परिवारमा जनसङ्ख्या बढाउन चाहने गरेको बताइन्छ।

तर पछिल्लो समय बच्चा नजन्मिएका कारण उनीहरू धेरै चिन्तित रहेको सुनिन्छन्।

राउटे समुदाय

तस्बिर स्रोत, PRAKASH PANT/BBC

राउटे बस्तीमै कार्यरत अनमी अमृता रोकाय रोग केही नदेखिए पनि राउटे महिलाहरू गर्भवती भने हुन नसकेको बताउँछिन् ।

"गर्भ रहेको शङ्का लाग्ने बित्तिकै उनीहरूले भन्छन् तर अघिल्लो महिना चार जनाको जाँच गराउँदा कसैको पनि गर्भ रहेको पाइएन," उनले भने।

उनका अनुसार "महिलाहरूमा स्वास्थ्य समस्या नदेखिए पनि उनीहरू रक्सी सेवन गर्छन्।"

चिकित्सक के भन्छन्?

राउटे समुदायका पूर्व मुखिया महिनबहादुर शाही पुरुषमा जस्तै महिलामा पनि रक्सी सेवन गर्ने समस्या रहेको बताउँछन्।

"महिलाले रक्सी खाँदा बच्चा नजन्मिने समस्या आएको हो कि भन्ने लाग्छ। रक्सी नखान भने पनि उनीहरू मान्दैनन्," उनले भने।

चिकित्सक भने अत्यधिक रक्सी र चुरोट प्रयोगका साथै खानपान र रहनसहन जस्ता कारण पनि कहिलेकाहीँ यो समस्या देखिने बताउँछन् ।

कामको चाप र प्रजनन अङ्ग परिपक्व नहुँदै गर्भवती हुने जस्ता विभिन्न समस्याले गर्दा समेत बच्चा नबस्ने, बसे पनि खस्ने समस्या देखिने प्रदेश अस्पताल सुर्खेतकी स्त्रीरोग विशेषज्ञ डा. सजिप्ता पन्त बताउँछिन् ।

"वंशाणुगत रोग र हाडनाताभित्र हुने शारीरिक सम्बन्धले गर्दा यस्तो समस्या आउन सक्छ। समुदाय स्तरमै समस्या देखिएकोले स्वास्थ्य जाँचबाट मात्रै वास्तविकता थाहा पाउन सकिन्छ," उनले भनिन्।

राउटे समुदायले हाडनाताभित्र विवाह नगरे पनि शारीरिक सम्बन्ध भने राख्ने गरेको बताइन्छ।

राउटे समुदायका मुखियाहरू

तस्बिर स्रोत, PRAKASH PANT/BBC

खत्रीका अनुसार राउटे समुदायले हाडनाताभित्र विवाह नगरे पनि शारीरिक सम्बन्ध राख्ने विषयलाई भने धेरै वास्ता नगर्ने गर्छन्। त्यसैगरी विवाह नगर्दै जन्मिएका बच्चा सातजना रहेको उनी बताउँछन्।

हाडनाताभित्र बच्चा जन्माउने पुरुषलाई राउटे समुदायले सजाय स्वरूप एउटा खसी र भोजभतेर खुवाउनुपर्ने नियम छ। बच्चाको रेखदेख र लालनपालन गर्ने जिम्मा पनि उसकै हुन्छ ।

बालविवाहको समस्या

तर त्यसरी सम्बन्ध राख्ने र बच्चा जन्माउने महिलासँग कसैले विवाह नगर्ने र उनी एकल भएर बस्ने गरेको खत्री बताउँछन्।

खत्रीका अनुसार राउटे समुदायमा अहिले श्रीमान् गुमाएका र हाडनाताबाट बच्चा जन्माएका गरी १५ जना एकल महिला छन्। श्रीमती गुमाएका एकल पुरुष भने चार जना छन्।

राउटे समुदायमा १२–१३ वर्षकै उमेरमा छोरीहरूको विवाह हुने गरेको देखिन्छ।

सामान्यतया महिनावारी भएपछि नै राउटेहरू छोरीलाई विवाहका लागि योग्य हुने ठान्ने त्यहाँ कार्यरत अधिकारीहरू बताउँछन्।

राउटे समुदायमा श्रीमान् श्रीमतीबीचको उमेरको अन्तर २२ वर्षसम्मको रहेको पाइएको बताइएको छ।

राउटे समुदायमा देखिएको समस्याबारे आफू अनभिज्ञ रहेको बताउने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने, "शायद अत्यधिक जाँडरक्सीका कारण यो समस्या निम्तिएको पो हो कि।"

मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति मानवशास्त्री प्राध्यापक डा.पदमलाल देवकोटा यस्तो किसिमको समस्याले नेपालको फिरन्ते राउटे समुदाय नै लोप हुन सक्ने बताउँछन्।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदायमा आएको समस्या पहिचान गरी उनीहरूको अस्तित्व जोगाउन पहल गर्नु पर्नेमा उनको जोड छ।

महिना दिनदेखि दैलेखको नारायण नगरपालिका–१, सालखर्कमा बस्दै आएका राउटे समुदायको जनसङ्ख्या अहिले १४३ रहेको विभिन्न गैरसरकारी संस्थाको तथ्याङ्कले देखाउँछ।

उनीहरू मध्ये ६८ जना महिला र ७५ जना पुरुष छन्। १८ वर्ष माथिका १३ जना पुरुष र ७ जना महिला अविवाहित छन्।