लोपोन्मुख राउटे समुदायमा देखिएको ‘अनौठो’ सङ्कट, समाधानको उपाय के

तस्बिर स्रोत, BINITA DAHAL/BBC
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
धेरैजसो १५-२० दिनमै ठाउँ सरिरहने नेपालको एकमात्रै फिरन्ते राउटे समुदायका कैयौँ युवाहरूको सपना विमान चढेर आकाशमा उडौँ भन्ने छ।
उक्त समुदायका लागि काम गर्ने गरेका गैर सरकारी संस्थाहरूका अनुसार अहिले उनीहरूको जनसङ्ख्या देशभरि जम्मा १४३ रहेको छ। तर राउटेहरू न आफ्नो जनगणना गर्न दिन्छन् न अहिलेसम्म कसैले नागरिकता लिएका छन्।
पर क्षितिजमा हेरेर राउटे युवाहरूले आकाशमा उड्ने सपना व्यक्त गरे पनि उनीहरूको त्यो इच्छा कसरी र कहिले सम्भव होला भन्न सकिन्न।
समुदायका मुखियाहरूलाई सोध्दा “हाम्रो पालासम्म नागरिकता लिँदैनौँ, अबका केटाहरूले पछि हामी मरेपछि खै के गर्छन्” भन्ने जवाफ दिन्छन्।
तर आफ्नोबाहेक अन्य समुदायका मानिससँग विरलै घुलमिल हुने राउटे युवाहरूले आधुनिक जीवनशैलीप्रति आकर्षण देखाए पनि आमाबुवा जस्तै आफ्नो चालचलनलाई परिवर्तन गर्ने पक्षमा देखिँदैनन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
समुदायका मुखियाको निर्णय अनुसार चल्दै आएका राउटेहरू चाहे वयस्कहरू होऊन् वा युवा, पुर्खाले अपनाउँदै आएको र प्रकृतिसँग निकट हुने जीवनशैली परिवर्तन नगर्नेमा प्रतिबद्ध सुनिन्छन्।
२६ वर्षीय दिपक शाही तिनै युवाहरूमध्ये एक हुन् जो आकाशमा उड्न, नयाँ ठाउँ घुम्न इच्छा त राख्छन् तर सँगै “जंगलका राजा” भन्ने राउटेले पाएको नामलाई जोगाउन निरन्तरता दिने बताउँछन्।
“प्लेन चढ्न मन लागेको, रारा ताल हेर्न अनि रुपेडिया जान मन लागेको कुरा सुनाउँछन्,” राउटे समुदायमा विगत चार वर्षदेखि काम गर्दै आएको संस्था सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए।
नौला मानिसहरूसँग नखुल्ने राउटे समुदायले बसाइ सरेका ठाउँमा केही हप्ता म पुग्दा उनै हिरासिंहको टोली पनि दैलेखको बेस्तडा बजारबाट अलि पर पर्ने चुप्रा खोलाको छेउमा बसिरहेका राउटेहरूको समुदायमा पुगेको थियो।
सडकबाट करिब १०० मिटर तल पर्ने खोँच जस्तो ठाउँमा उनीहरूको त्यतिबेला बसोबास थियो। उनीहरू यस्तै जंगल छेउ, पहाडको खोँच वा खोला/नदी किनारमा ठाउँ सर्दै सर्दै हिँड्छन्।
म त्यहाँ पुगेका बेला निर्वाचनको मिति तोकिइसकेका कारण देश चुनावी माहोलमा थियो।
तर औपचारिक रूपमा नागरिक नै हुन नमान्ने उनीहरूलाई न चुनावको मतलब थियो न आफ्नो मताधिकारबारे चासो।
दशैँको छेकोमा उनीहरू मस्त नाचगानमा रमाइरहेका थिए।
आफू बस्ने ठाउँ नजिकै एकजना पाका उमेरका राउटे मादल बजाइरहेका थिए।
युवादेखि वृद्धसम्म गोलो घेरो बनेर आफ्नै शैलीमा नाचिरहेका थिए।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
केटाकेटी नाच हेर्दै थिए। बालदिवस भएकाले केही बालबालिकाको हातमा विभिन्न नारा लेखिएका कागजहरू पनि थिए।
मैले सोधेँ, “तिमीले बोकेको कागजमा के लेखेको थाहा छ,?”
मेरो यो प्रश्नमा उनीहरूले शब्दमा केही भनेनन् तर टाउको हल्लाएको सङ्केतले थाहा छैन भन्ने जनाएको बुझिन्थ्यो।
बरू उनीहरूका समुदायका मानिससँग भिडिओ खिच्न अनुमति मागेपछि जसै मैले क्यामरा खोलेँ उनीहरू पर्दा अगाडिबाट पर्दा पछाडि आए। सबै क्यामराको स्क्रीन हेर्न मेरो छेउमा एकत्रित भए।
अभिभावकले कुनै हालतमा विद्यालय नपठाउने भएपछि उनीहरूका लागि काम गर्ने गरेको सोसेकले त्यहीँ पुगेर अक्षर लेख्न सिकाउन थालेको छ। केही बालबालिकाहरू आफ्नो नाम लेख्नसम्म सक्ने भएका छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
लवाइबाटै फरक देखिन्छ उनीहरूको जीवनशैली। उनीहरू स्थायी बसोबास गरेर एकै ठाउँमा बस्दैनन्। बालबालिकालाई विद्यालय पठाउँदैनन्। कृषिकर्म गर्दैनन्।
थापाका अनुसार विगतमा राउटेहरू पैसालाई पनि “दुश्मन” मान्थे। “तर अहिले उहाँहरूले पैसालाई त्यस्तो मान्नुहुन्न,” उनले भने।
मैले कुरा गर्न खोज्दा पनि धेरैजसोले “पहिला पैसा देऊ न” भने।
केहीबेर बालबालिकासँगै नाचगान हेरेपछि म अझै ओरालो खोलाको छेउ नजिकै रहेको वस्तीमा पुगेँ। केही वृद्ध देखिने पुरुषहरू आधा हर देखाएर भुईँमा पारिलो घाम तापेर निदाइरहेका थिए।
केही वृद्धाहरू पालभित्र सुतिरहेका थिए। साना बालबालिकाहरू नाङ्गै हिँडिरहेका थिए।
महिलाहरू खोलाबाट एकमाथि अर्को भाँडा खप्ट्याएर तलातला परेका जस्ता भाँडामा टाउकोमा राखेर पानी ओसार्दै थिए।
केही महिला खोलामै लुगा धुँदै थिए। बालिकाहरू खोला छेउबाट कचौरामा पानी उभाउँदै थिए।
कति साना बालिकाहरू आफ्ना भाइबहिनीलाई पिठ्युँमा बोकेर हिँडिरहेका थिए। केही जुम्रा हेर्दै थिए। अनि केही पुरुष दाउरा काट्दै थिए भने केही काठका भाँडा बनाउन तल्लिन देखिन्थे।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
म एउटा पालभित्र पसेँ। त्यहाँ तुलसा राउटे आफ्नो सानो नातिसँग थिइन्। उनी बोल्न धकाइन्। मैले प्रश्न सोधिरहेपछि उनले सुरुमा बोलेको वाक्य नै ‘पैसा देउ’ भन्ने थियो। राउटे समुदायमा उनी एकल महिला हुन्। श्रीमान् र छोरा गुमाएपछि अब उनीसँगै बस्ने तिनै नातिमात्रै रहेछन्।
राउटे समुदायमा पहिला एकल महिलालाई फरक दिशातर्फ फर्काएर राख्ने गरिएको रहेछ। अहिले केही वर्षयता भने त्यो चलन हटेको रहेछ। “अहिले मागेर खान्छु। अब नाति ठूलो भएपछि उसैले पाल्छ,” उनले यतिमात्रै भनिन्।
थापाका अनुसार राउटे समुदायमा महिला र बालबालिकालाई असाध्यै माया गर्ने र संरक्षण दिने गरिन्छ। ठाउँ सरिरहने हुनाले नयाँ ठाउँमा जाँदा पाल हाल्न, ठाउँ सम्याउन अर्को परिवारले सघाउने पनि गर्छन्।
यसरी करिब ४० घरधुरी रहेको राउटे समुदाय अहिले भने अनौठो समस्यामा परेको थापा बताउँछन्।
आफ्नै समुदायका फरक गोत्रका महिला र पुरुषबीच मात्रै विवाह गर्ने चलन भएकाले अहिले थुप्रै युवाहरूलाई विवाह गर्न समस्या भइरहेको उनले बताए।
राउटे समुदायमा छत्याल, रास्कोटी र कल्याल गरी तीनवटा गोत्र रहेका छन्। “विवाह गर्ने उमेर पुगेका उही गोत्रका केटा र उही गोत्रका केटी छन्। अर्को गोत्रका केटीहरू नभएपछि विवाह हुन सकिरहेको छैन,” उनले भने।
यसले गर्दा उनीहरूको जनसङ्ख्या नै घट्दै जाने र पहिला नै लोपोन्मुख रहेको समुदाय झन् सङ्कटमा परेको बताइन्छ।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
दीपकको विवाह नहुनुको कारण त्यही हो। उनकै गोत्रभित्र विवाह गर्ने उमेरका महिला छन् तर अन्य थुप्रै जातजातिमा जस्तै आफ्नै गोत्रभित्र उनीहरू विवाह गर्न हुँदैन भन्छन्।
अर्को गोत्रमा उमेर पुगेका महिला छन् तर उनीहरू श्रीमान् गुमाएका एकल महिला छन्। एकल महिलासँग विवाह गर्ने चलन पनि राउटे समुदायभित्र छैन।
“विधवासँग विवाह गर्ने भन्ने कुरा उहाँहरूले अहिलेसम्म मान्नु भएको छैन। तर अहिलेसम्म त्यसबाहेक विकल्प पनि देखिएको छैन,” उनले भने।
राउटेभित्र धेरैजसो बालविवाह नै हुनेगर्छ। १२/१३ वर्षकै उमेरदेखि विवाह गर्न थाल्ने समुदायमा अहिले १८ देखि ३० वर्षका अविवाहित पुरुषको सङ्ख्या सात र महिलाको पाँच रहेको छ।
तर उनीहरूबीच बिहे हुन नसक्नुको कारण एउटै गोत्रभित्रका महिला र पुरुष भएर हो।
राउटे समुदायमा पाँच जना २४ वर्षभन्दा कम उमेरकै श्रीमान् गुमाएका महिलाहरू छन। एकल महिलाको सङ्ख्या १५ रहेको छ।
आहारका लागि राउटेहरू बाँदर खोज्दै भीरपाखा पुग्दा त्यही क्रममा कतिपयले भीरबाट खसेर त कतिले खोलामा परेर ज्यान गुमाएको उनले बताए।
“तीनवर्षअगाडि १५८ जना रहेको समुदायमा अहिले जम्मा १४३ जना हुनुहुन्छ। उमेर पुगेका केटाकेटीको विवाह हुन नसकेका कारण यो समुदाय सङ्कटमा परेको छ,” थापाले भने।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
यस्तो समस्या बुझेका राउटेका मुखियाहरूले समाधान कसरी खोज्ने भन्नेबारे केही बताएनन्।
केही वर्षअघिसम्म औषधोपचार गर्न नमान्ने उनीहरू बिस्तारै संस्थाहरूले गरिदिने उपचार सेवा लिन थालेका छन्। उनीहरूको समुदायमा पुर्याइएका नि:शुल्क औषधिहरू सेवन पनि गर्छन्।
कुरा गरिरहँदा खोकी रहने तुलसा शाहीले पनि औषधि खाएपछि कम भएको बताइन्।
उनीजस्ता थुप्रै राउटेहरू घाउ वा चोटपटकको उपचार गर्न पनि थालेका छन्।
तर रक्सीका कारण भने उनीहरूको स्वास्थ्यमा निकै धेरै समस्या पर्न थालेको थापाले बताए।
वर्षको एक दुईपटकजस्तो राउटे समुदायका मुखिया र केही युवाहरू राजधानी काठमाण्डू आएर आफ्ना गुनासाहरू मन्त्री, प्रधानमन्त्रीलाई पनि भन्ने गरेका छन्।
आफूले १८ जना मन्त्रीलाई भेटेको बताउने मुखिया सूर्यनारायण काठमाण्डू आएका बेला चार लाख रुपैयाँ लिएर त्यसअनुसार आवश्यक लत्ताकपडा र रासन लगेको बताउँछन्।
उनले भने, “हामीले थुप्रै प्रधानमन्त्रीलाई भेट्यौँ, उहाँहरूले तपाईँहरू नेपालगञ्ज, सुर्खेत वा काठमाण्डू कहाँ सर्ने भनेर पनि सोध्नुभयो। तर हामी त यसैगरी बस्ने हो।”

तस्बिर स्रोत, BINITA DAHAL/BBC
सरकारले २०६६ सालदेखि राउटेहरूलाई भत्ता दिन थालेको थियो।
अहिले मासिक प्रतिव्यक्ति पाँचहजार रुपैयाँको दरले पाउने गरेको थापाले बताए।
प्रत्येक तीन महिनामा एकैपटक भत्ता दिइँदा राउटेहरूले फजुल खर्च गर्ने गरेको र रक्सीको कुलतमा लागेको आफ्नो अनुभव रहेको थापा बताउँछन्।
“एउटा परिवारमा छ जना सदस्य हुनुहुन्छ भने उहाँहरूले तीन महिनामा एकैपटक ९० हजार पाउनुहुन्छ, त्यसरी पाएको रकम जम्मा गर्ने वा आवश्यक खाद्यान्न किन्ने गर्नुहुन्न। जति भन्यो त्यति मुल्यमा खसी किन्ने र रक्सी किन्ने काम धेरै भएको पाउँछौँ,” थापाले भने।
“बरू सरकारले उहाँहरूलाई रकम र अन्न मिलाएर महिना महिना दिनमा भत्ता दिने गर्नुभयो भने रक्सीमा फजुल खर्च हुँदैन र जिविकोपार्जनमा पनि मद्दत पुग्छ जस्तो लाग्छ।”
युवाहरूको मृत्यु पनि रक्सी खाएका बेला भीर र खोलामा जाँदा नै धेरै भएको उनले बताए। विगत ४ वर्षको अनुभवमा १० जना युवाको मृत्यु भएको उनले बताए।
पुरुषहरूमा जस्तै महिलामा पनि स्वास्थ्यसम्बन्धी समस्या भए पनि उनीहरूले नभन्ने त्यहाँ कार्यरत स्वयंसेवी महिला दुर्गा खत्रीले बताइन्।
“महिलाहरू हत्तपत्त आफ्नो समस्या भन्दैनन्। गर्भवती हुँदा पर्याप्त पोषणयुक्त खाना उपलब्ध हुँदैन। बालबालिकाहरू पनि कुपोषित छन्,” राउटे समुदायमा स्वास्थ्य र सरसफाइबारे काम गर्ने उनले भनिन्।
अहिलेसम्म कुनै महिला बच्चा जन्माउनका लागि स्वास्थ्यचौकी पुगेका छैनन्।
उनीहरूको दैनिकीमा खोलामा लुगा धुने, पानी ल्याउने, जङ्गलमा निगुरोलगायत तरकारी खोज्ने, भात पकाउने जस्ता काम पर्छन् । त्यस्तै पुरुषहरू भने बाँदर पाइए त्यसको सिकार गर्ने, भाँडा बनाउन जङ्गलबाट दाउरा ल्याउने अनि हातैले विभिन्न भाडा बनाउने काम गर्छन्।

तस्बिर स्रोत, BINITA DAHAL/BBC
एक साताअघिमात्रै दैलेखकै अर्को क्षेत्रबाट चुप्रा खोला नजिक पुगेका उनीहरू फेरि अर्को ठाउँ सर्नेबारे कुराकानी गर्न थालिसकेका थिए।
“अब दशैँभरिलाई एउटै ठाउँमा बस्ने गरी सर्नुपर्छ। रुखहरू भएको अनि खोला भएको छेउमा,” राउटे समुदायका एक मुखिया सूर्यनारायण शाहीले भने।
आफ्नो समुदायको कसैको मृत्यु भयो भने वा बस्दै आएको ठाउँ फोहोर हुन थालेपछि वा भाँडा बनाउन उपयुक्त काठ नपाएपछि उनीहरू अर्को ठाउँ सर्ने गर्छन्। आफ्नै परिश्रमबाट आम्दानी गर्ने भनेको उनीहरूले काठका भाँडा बेचेर हो।
उनीहरूले हातैले काठको प्रयोगबाट मात्रै बनाएका भाँडा केही भारतमा पनि बिक्रीका लागि लगिन्छ। विगतका वर्षहरूमा सुर्खेत काठमाण्डू र भक्तपुरमा प्रदर्शनीमा राखेर पनि बिक्री गरिएको छ।
कर्णालीका कालिकोट, जाँजरकोट, दैलेख, सल्यान, सुर्खेतलगायतका जिल्लामा बस्ने गरेका राउटेहरू पछिल्ला वर्षहरूमा भने दैलेख वा सुर्खेतमै धेरै बस्ने गरेका छन्।
“विगत १३ वर्षमा उहाँहरूमा केही परिवर्तन आएको छ तर अझै पनि उहाँहरूको फरक पहिचान र बाँच्ने शैली भने उस्तै छ,” थापाले भने।








