जापानमा प्राथमिक विद्यालयका शिक्षकहरू 'अपस्कर्ट तस्बिर' शेअर गरेको आरोपमा गिरफ्तार

हतकडी (फाइल फोटो)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ती शिक्षकहरूले विभिन्न स्कूलका १० शिक्षकको समूहमा अश्लील तस्बिर शेअर गरेका प्रहरीले बताएको छ
    • Author, शाइमा खलिल
    • Role, टोक्यो संवाददाता
    • Author, केली अङ
    • Role, बीबीसी न्यूज

जापानको स्थानीय प्रहरीले बीबीसीलाई बताएअनुसार नागोयाको एक सामुदायिक विद्यालयमा पढाउने एक ४७ वर्षीय पुरुष र योकोहामाको अर्को सामुदायिक विद्यालयमा पढाउने ३७ वर्षीय अर्का शिक्षकले १३ वर्षभन्दा कम उमेरका छात्राहरूको गोप्य रूपमा 'अपस्कर्ट फोटो' अर्थात् उनीहरूको अनुमतिबिना स्कर्टभित्रका भागका फोटो र भिडिओ लिएको स्वीकार गरेका छन्।

कथित 'अपस्कर्ट' तस्बिरसहितका केही फोटोहरू १० जना प्राथमिक तथा निम्नमाध्यमिक स्कूल शिक्षकहरूबीच शेअर गरिएको थियो। त्यो समूह एक जना गिरफ्तार शिक्षकले व्यवस्थापन गर्ने गर्थे।

जापानले हालै यौन अपधार सुधार कार्यक्रमअन्तर्गत 'अपस्कर्टिङ' र यौन गतिविधिको गोप्य फिल्म खिच्नमा प्रतिबन्ध लगाइदिएको छ।

घटना कसरी थाहा भयो

जापानको 'आसाही शिम्बुन'मा प्रकाशित समाचारअनुसार ती शिक्षकहरूको सामूहिक अनलाइन कुराकानी तीमध्ये एक शिक्षक आफ्नो "शरीरको तरल पदार्थ" एक १५ वर्षीय बालिकाको पछाडि बोक्ने झोलामा झारेका कारण गिरफ्तार भएपछि प्रकाशमा आएको थियो।

उनको मोबाइल फोनको फरेन्सिक जाँच गर्दा त्यो 'च्याट ग्रूप' पत्ता लागेको थियो। त्यो 'च्याट ग्रूप' नाम नभनिएको सोशल मिडिया प्ल्याट्फर्ममा चलाइएको थियो।

उक्त समूहमा अपस्कर्ट तस्बिरहरू र बालिकाहरूले लुगा फेरिरहेका तस्बिरहरू शेअर गरिएका थिए। र उनीहरूको अनुहार मात्र देखिने तस्बिरबाट 'डीपफेक' बनाइएको जस्तो पनि देखिन्थ्यो।

प्रहरीका अनुसार केही तस्बिरहरू स्कूलमा खिचिएको देखिन्छ तर ती तस्बिरहरू ती शिक्षकहरू पढाउने स्कूलकै हुन् कि हैनन् भन्ने स्पष्ट छैन।

जापानमा सन् २०२३ को मे महिनामा यौन अपराधसम्बन्धी आफ्नो सयौँ वर्ष पुरानो कानुनमा व्यापक फेरबदल गरिएको थियो। सन् २०१९ मा बलात्कारका कैयौँ मामिलामा सफाइ दिइएपछि व्यापक हङ्गामा मच्चिएको थियो, जुन कानुनमा फेरबदलसम्म पुगेको थियो।

विशेष रूपमा कानुनमा "उचित कारण नभई बालबालिकालाई यौन सन्दर्भमा" भिडिओ खिच्न प्रतिबन्ध लगाइएको छ।

अपराधीहरूलाई तीन वर्षसम्मको जेल सजाय या ३० लाख जापानी येन करिब २०,८०० डलर सम्मको सजाय हुने छ।

सन् २०२३ मा कानुनमा सुधार गर्दै बलात्कारको परिभाषालाई पनि विस्तार गरिएको छ। यौन सम्पर्कका लागि सहमतिको दिन सक्ने उमेर पनि १३ बाट बढाएर १६ वर्ष पुर्‍याइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।