'संसारकै सबैभन्दा ठूलो ब्याङ्क ठगी': के अर्बौँ डलर तिरे यी भियतनामी व्यापारी मृत्युदण्डबाट जोगिन सक्छिन्
भियतनाममा संसारकै सबैभन्दा ठूलो ब्याङ्क ठगी भनिएको एक मुद्दामा दोषी ठहर भएकी एक घरजग्गा व्यापारी मृत्युदण्डको फैसलाविरुद्ध गरेको पुनरावेदन मुद्दामा पनि पराजित भएकी छन्।
गत एप्रिल महिनामा त्यहाँको एउटा अदालतले ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क (एससीबी) मा गोप्य रूपमा कब्जा जमाएको र १० वर्षको अवधिमा नगद र ऋण गरी ४४ अर्ब अमेरिकी डलर लिएको ठहर गरेको थियो।
अभियोजनकर्ताहरूका अनुसार त्यसमध्ये उनले २७ अर्ब डलर अपचलन र १२ अर्ब डलर हिनामिना गरेकी थिइन्। उक्त गम्भीर वित्तीय अपराधका लागि उनलाई मृत्युदण्ड हुने फैसलामा अदालत पुगेको हो।
अब मृत्युदण्डबाट जोगिन उनले निकै सङ्घर्ष गर्नुपर्ने छ। भियतनामको कानुनअनुसार उनले आफूले हिनामिना गरेको रकमको ७५% अर्थात् ९ अर्ब डलर फिर्ता गरिन् भने मात्र उनी मृत्युदण्डबाट जोगिन सक्छिन्। त्यस अवस्थामा उनलाई जन्मकैद हुने छ।
उनका वकिलहरूले ट्रूङ मी लानसँग उक्त रकम फिर्ता गर्न पुग्ने सम्पत्ति भएको दाबी गरेका छन्। तर उनलाई मृत्युदण्डको फैसला सुनाइएकाले त्यो सम्पत्ति बेच्दा उचित मूल्य आउन नसक्ने उनीहरूको तर्क छ।
राज्यले ठगीसँग सम्बन्धित १,००० वटाभन्दा बढी सम्पत्ति पहिचान गरी तिनलाई रोक्कामा राखिदिएको छ।
नौ अर्ब डलर जम्मा पार्न ट्रूङ मी लानले सम्पत्ति बेच्ने प्रयास गर्नुका साथै आफ्ना इष्टमित्रसँग ऋण लिने प्रयास पनि गरेको बीबीसीलाई थाहा भएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



