सरकार पूर्ण नियन्त्रण र दुवै सदनमा बहुमत हुँदा पनि सधैँ ट्रम्पले भने जस्तो नहुन सक्छ

अमेरिकी संसद् 'यूएस क्यापिटल'को भवन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाका दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ
    • Author, ग्यारी ओ’डोनोह्यू
    • Role, वरिष्ठ उत्तर अमेरिका संवाददाता, वाशिङ्टन डीसी

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले अमेरिकी संसद्का दुवै सदनमा बहुमत कायम गरेको छ। यससँगै देशको शासन र सत्ताका सबै संरचनामा उनको पूर्ण नियन्त्रण कायम हुने निश्चित छ।

उनका साझेदार माइक जोन्सन पुन: तल्लो सदन 'हाउस अफ रेप्रिजेन्टटिभ्स'का सभामुख बनेका छन्। रिपब्लिकनहरूले जोन थ्यूनलाई सिनेटमा आफ्नो दलका नेता छाने। यद्यपि ट्रम्प फ्लोरिडाका सांसद रिक स्कटको पक्षमा भएको ठानिएको थियो। रिपब्लिकन सिनेटरहरूले थ्यूनलाई नेता छानेकाले ट्रम्पले सधैँ आफूले चाहेको कुरा गर्न पाउँदैनन् भन्ने सङ्केत दिएको छ।

बुधवार ट्रम्पलाई ह्वाइट हाउसमा निम्तो गरेर राष्ट्रपति बाइडनले पदभार हस्तान्तरणका लागि आफ्नो पूर्ण सहयोग रहने वाचा गरेका थिए।

दुवै सदनमा बहुत हुँदा राष्ट्रपतिले के गर्न सक्छन्

मतदान सम्पन्न भएको रात डोनल्ड ट्रम्पले एउटा वाक्य दोहोर्‍यएका थिए: “वाचा गरियो, वाचा पुर्‍याइयो।”

अब रिपब्लिकनहरूले औपचारिक रूपमा नै कङ्ग्रेसमाथि नियन्त्रण कायम राखेका छन् र उनलाई ‘वाचा’ पूरा गर्न धेरै नै सजिलो हुने छ।

वाशिङ्टन डीसीको राजनीतिक भाषामा राष्ट्रपतिको दलले कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेको अवस्थालाई ‘गभर्निङ ट्राइफेक्टा’ भनिन्छ।

अहिले ट्रम्पको रिपब्लिकन पार्टीले यस्तै खालको नियन्त्रण कायम गरेको छ। विगतमा यस्तो नियन्त्रण हुनु सामान्य थियो। तर हालैका दशकमा त्यो दुर्लभ र छोटो अवधिका लागि मात्रै हुने गरेको छ। अधिकांश अवस्थामा सत्तामा रहेको दलले झन्डै दुई वर्षपछि राष्ट्रपतिको कार्यकाल बीचतिर पुग्दा सीटहरू गुमाउने गरेको पाइन्छ।

सत्ता हस्तान्तरणबारे छलफल गर्न बाइडन र ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेट

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाइडन र ट्रम्पबीच ह्वाइट हाउसमा सत्ता हस्तान्तरणबारे छलफल भएको छ

ट्रम्प र जो बाइडन राष्ट्रपति हुँदा सुरुका दुई वर्षमा संसद्‌मा उनीहरूकै दलको बहुमत थियो। तर त्यसले के देखाउँछ भने त्यस्तो नियन्त्रण हुँदा पनि राष्ट्रपतिले चाहेको जस्तो सधैँ हुँदैन।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आफूले उच्च महत्त्व दिएको कर विधेयक कानुन पारित गराए। उक्त कानुनले कर्पोरेट करलाई ३५ प्रतिशतबाट २१ मा झारेको थियो भने व्यक्तिहरूले तिर्नुपर्ने केही कर पनि घटाएको थियो।

उनी सन् २०१६ मा देशको सर्वोच्च पदमा आश्चर्यजनक ढङ्गमा पुग्दा दलभित्रकै केही नेताहरू असन्तुष्ट थिए। तिनका कारण ट्रम्पले आफ्ना अरू उद्देश्य प्राप्त गर्न सङ्घर्ष गर्नुपर्‍यो।

'ओबामा केअर' पनि भनिने स्वास्थ्य तथा स्याहारसम्बन्धी कानुन खारेज गर्ने उनको प्रयास विफल भयो। उनकै दलका सिनेटर जोन मकेनले त्यसको विपक्षमा मतदान गरेका थिए। आफूले वाचा गरेको पूर्वाधार विधेयक पारित गराउन पनि ट्रम्प सफल भएनन्।

डेमोक्र्याटहरूले सदनमा नियन्त्रण कायम गरेको पहिलो दुई वर्षमा बाइडन अमेरिकन रेस्क्यू प्लान, लगानी र रोजगारीसम्बन्धी कानुन, चिप्स र विज्ञानसम्बन्धी कानुन अनुमोदन गराउन सफल भएका थिए। तर आफ्नै दलका एक सिनेटरको विरोधपछि 'बिल्ड ब्याक बेटर' नामक एउटा लगानीसम्बन्धी योजनामा उनी ठूलो कटौती गर्न बाध्य भए।

ट्रम्पले कस्तो चुनौती खेप्नपर्ला

सिनेटमा नियन्त्रण भए पनि त्यहाँ विधेयकहरूमाथिको बहसलाई विलम्ब गराउन प्रयोग गरिने ‘फिलिबस्टर’ निष्क्रिय पार्न कुनै पनि पक्षलाई ६० मतको आवश्यकता पर्छ।

त्यसको अर्थ कुनै पनि दलको सिनेटमा साधारण बहुमत भए पनि उसलाई विधेयक अनुमोदन गराउन अर्को पक्षको पनि सहमति चाहिन्छ।

सिनेटमा यसपालि स्पष्ट बहुमत भए पनि कानुन निर्माणमा विलम्ब गराउन सक्ने प्रयासलाई विफल तुल्याउने ६० सीट ट्रम्पले जुटाउन सक्ने छैनन्।

बुधवार नै रिपब्लिकनहरूले ट्रम्पको समूहका रोजाइका फ्लोरिडाका रिक स्कटको सट्टा सिनेटमा आफ्नो दलका नेतामा जोन थ्यूनलाई आफ्नो नेता चयन गरेका थिए। ट्रम्पले स्कटलाई खुलेर अनुमोदन नगरेको भए पनि कतिपयले यो कदमलाई केही सांसदहरूले आफ्नो स्वतन्त्रता अभ्यास गरिरहेको अर्थ लगाएका छन्।

त्यसो भनिरहँदा यदि राम्रोसँग व्यवस्थापन गर्न सकिएको खण्डमा त्यसले प्रमुख कानुनी प्रयासहरूका लागि बाटो खोलिदिन सक्छ।

आफ्नो लाभको यो परिस्थितिलाई ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला गर्ने अभियान, विदेशी आयातमाथि कर वृद्धि गर्ने प्रतिबद्धता र पर्यावरण संरक्षणबाट पछि हट्ने प्रमुख वाचाका लागि प्रयोग गर्न सक्छन्।

कानुन बनाएर अघि बढ्दा त्यसलाई अदालतले उल्ट्याइदिन गाह्रो हुने गर्छ। आफ्नो पहिलो कार्यकालमा उनले व्यापक रूपमा कार्यकारी आदेशहरू प्रयोग गरेका थिए जसलाई बारम्बार र सफलतापूर्वक अदालतमा चुनौती दिइएको थियो।

न्यायालयको संरचना पनि ट्रम्पकै पक्षमा गएको छ। आफ्नो पहिलो कार्यकालमा तीन कन्जर्भेटिभ न्यायाधीशहरू सर्वोच्च अदालतमा नियु‍क्त गरेर ट्रम्पले आगामी दशकमा न्यायालयमा पनि दुईतिहाइ समर्थन जुटाउने बाटो खोलेका छन्।

उनले सङ्घीय पुनरावेदन अदालतमा चार दर्जनभन्दा बढी न्यायाधीश नियुक्त गरेका छन्। कैयौँ सर्किट कोर्टमा पनि रिपब्लिकन झुकाव छ।

सिनेटमा रिपब्लिकनहरूको बहुमतले महत्त्वपूर्ण लाभ उनलाई दिने छ। सन् २०१७ मा कतिपय मनोनयनहरू अनुमोदन गराउन उनले सङ्घर्ष गरेका थिए।

यी सबै निकायमा अबको दुई वर्ष व्यस्तता र उथलपुथल हुन सक्ने छ। तर समकालीन इतिहासले देखाए जस्तै राष्ट्रपति पदमा र दुवै सदनमा एक दलको नियन्त्रण हुने यस्तो परिस्थिति लामो समय जाँदैन। अब बन्न लागेको सरकारले त्यसभन्दा अगाडि बढ्ने विचार गरेको हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।