राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल सुरु

शपथ लिँदै रामचन्द्र पौडेल

तस्बिर स्रोत, PRABIN RANABHAT

नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो।

पौडेल फागुन २५ गते भएको चुनावबाट राष्ट्रपति निर्वाचित भएका थिए।

उनी नेपालको राष्ट्रपति बन्ने तेस्रा व्यक्ति हुन्। नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो।

रामवरण यादवपछि नेपालकी दोस्री राष्ट्रपति बनेकी विद्या भण्डारी नयाँ संविधान जारी भएपछि पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्।

रामचन्द्र पौडेल

गत साता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम रामचन्द्र पौडेल नयाँ राष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए।

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेदेखि सकिएको थियो।

शीतल निवास

तस्बिर स्रोत, PRESIDENT.GOV.NP

भण्डारीको बिदाइ

शीतल निवासमा आयोजित समारोहमा विभिन्न संवैधानिक अङ्गका प्रमुखहरू उपस्थित थिए। तर विदेशभ्रमणमा रहेकाले सभामुख देवराज घिमिरे भने उक्त कार्यक्रममा सहभागी भएनन्।

नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै निवर्तमान राष्ट्रपतिको बिदाइ गरिने अभ्यास छ।

अब भण्डारी निजी निवास फर्किने राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले बीबीसीलाई बताए।

“आज निवर्तमान राष्ट्रपतिज्यूलाई राज्यको तर्फबाट औपचारिक बिदाइ भयो। उहाँले पदभार हस्तान्तरण गरेसँगै नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्नुभएको छ। अब उहाँ निजी निवास फर्कनुपर्छ,” ढकालले भने।

को हुन् रामचन्द्र पौडेल?

समाजवादी चिन्तकको परिचय बनाएका छन् नेपाली कांग्रेसका नेता हुन्।

तनहुँको बाहुनपोखराका पौडेल १५ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा होमिए। उनले २०१८ सालदेखि हालसम्मको राजनीतिक यात्रा अवधिमा पटकपटक गरी १५ वर्ष बन्दी जीवन बिताएका छन्।

राजनीतिक चेत भएको पारिवारिक पृष्ठभूमिका कारण उनी नेताको रूपमा उदाएको उनी निकट व्यक्तिहरू बताउँछन्।

redline
यो पनि पढ्नुहोस्
redline

कुनै समय नेपाली कांग्रेसको कार्यवाहक सभापति समेत बनेका पौडेलले उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका छन्।

यद्यपि उनी सन् २०१०/२०११ मा कयौँ पटक प्रधानमन्त्री बन्नका लागि एक्लो उम्मेदवार भए पनि प्रत्येक पटक बहुमत ल्याउन नसकेकै कारण पराजित भएका थिए।

रामचन्द्र पौडेललाई राजनीतिक रूपमा कुनै गलत अभ्यासहरूमा नजोडिएका ‘तटस्थ व्यक्तित्व’को रूपमा व्याख्या गर्छन् प्राध्यापक डा. विपिन अधिकारी।

“राजनीतिक वृत्तमा उनलाई सकारात्मक रूपमा नै हेरिन्छ। हालसम्म नकारात्मक चर्चामा आएका छैनन्,” उनले पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दिँदा बीबीसीसँग भनेका थिए।

रामचन्द्र पौडेल

तस्बिर स्रोत, RAMCHANDRA PAUDEL/FB

उनले सङ्गठन बिस्तार गर्नमा भने पौडेल कमजोर रहेको बताउँदै भनेका छन्, “भूमिका पाउँदा निर्वाह गर्न सक्ने तर पार्टीभित्रै दह्रो पकड भएको मानिस भने होइनन्।”

विचार, नीति, निष्ठा र मूल्यमान्यताको कसीमा जाँचिने योग्य थोरै वरिष्ठ नेताहरूमा पर्ने भनिएका पौडेलबारे लामो समय संसदीय राजनीतिमा उनीसँगै काम गरेका नेता हृदयेश त्रिपाठी भन्छन्, ''प्रजातान्त्रिक मूल्य मान्यतामा सम्झौता नगर्ने नेता।”

यद्यपि कतिपय आलोचकले भने पौडेल “सुशील कोइरालाको अवसानलगत्तै भएको महाधिवेशनमा पराजित भएपछि आफ्नै मान्यताबाट धरमराउन थालेको” बताएका छन्।

संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक लेखेका छन्।

राष्ट्रपतिको रूपमा कस्ता सुविधा पाउँछन्?

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले राष्ट्राध्यक्षले कस्तो सेवा र सुविधा प्राप्त गर्छन् भन्नेबारे व्यवस्था गरेको छ।

ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ।

पौडेलले राष्ट्रपतिका रूपमा मासिक १,५०,४५० रुपैयाँ पारिश्रमिकका प्राप्त गर्नेछन्। त्यस्तै पोसाकका लागि वार्षिक २५,००० रुपैयाँ पाउने व्यवस्था उक्त ऐनले गरेको छ।

कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरी खर्चबापत दिइने उल्लेख छ। त्यस्तो खर्चको बिल भरपाई पेस गर्नुपर्दैन।

ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।

देशभित्रै भ्रमण गर्दा दुवैले ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर प्राप्त गर्छन्।

redline
यो पनि पढ्नुहोस्
redline

युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजील्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङ्‌कङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।

चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान छ।

कर्मचारी कति?

त्यस्तै राष्ट्रपतिको सचिवालयमा १९ जना कर्मचारीको व्यवस्था गरिएको हुन्छ। राष्ट्रपतिलाई एकजना प्रथम श्रेणीसरहका सहस्वकीय सचिव उपलब्ध गराइएको हुन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिका लागि एक-एक निजी चिकित्सकको समेत व्यवस्था गरिएको हुन्छ।

उनीहरूको स्वदेशमा उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने अवस्थामा विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।

अस्पतालमा भर्ना भएका बेला कुरुवा बसेबापत तीन जनासम्मको ‘मनासिब खर्च’ पनि सरकारले उपलब्ध गराउने व्यवस्था छ।