यार्सागुम्बाले दियो डोल्पाका दुर्गम गाउँलाई बिजुली र विद्यालय

तस्बिर स्रोत, PRAKASH PANT/BBC
- Author, प्रकाश पन्त
- Role, डोल्पा, बीबीसी न्यूज नेपाली
गाउँको पुछार हुँदै घट्टेखोला बगिरहे पनि डोल्पाको काँडाताली गाउँ भने डेढ दशक अघिसम्म पनि अन्धकारमै थियो।
गाउँलेहरूले ध्यारसल्लाको दियालोको भरमा रात कटाउँथे। कतिपयले बजारबाट मट्टितेल ल्याएर टुकी बाल्थे।
बालबालिकाहरू दियालो र टुकीकै उज्यालोमा पढ्ने लेख्ने गर्थे। जति अप्ठयारो भएपनि अर्को उपाय थिएन।
अरू गाउँमा आफ्नोभन्दा सानो खोलाबाट बिजुली निकालेको देखेका गाउँलेहरूले घट्टेखोलाबाट बिजुली निकाल्न धेरै प्रयास गरे।
त्यसका लागि उनीहरु धेरै सङ्घसंस्था धाए। सरकारी निकायसँग हातपाउ जोडे। तर आफूहरूको व्यथा कसैले नबुझेको उनीहरूको गुनासो छ।
यसरी पूरा भयो बिजुली बत्तीको सपना
विसं २०६४ देखि भने उनीहरूले स्थानीय रूपपाटन सामुदायिक वनमा यार्सागुम्बा टिप्न आउनेहरूसँग प्रवेश शुल्क लिन थाले।
पहिलो वर्षमै प्रवेश शुल्क बापत ९६ लाख रुपैयाँ सङ्कलन भयो। दोस्रो वर्ष पनि पहिलो वर्षकै हाराहारीमा रकम सङ्कलन भयो।
यसरी दुई वर्षमा प्रवेश शुल्कबाट उठेको रकममध्ये एक करोड ७० लाख रुपैयाँ खर्च गरेर गाउँलेले २०६६ सालमा ३० किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण गरी बिजुलीको सपना पूरा गरेको स्थानीय रमेशराज रोकायाले बताए।
उनले भने, "अहिले काँडाताली, दुरगाउँ र थरगाउँका ३२० घरमा चौबीसै घण्टा विद्युत प्रवाह भइरहेको छ। रातदिन जति बत्ती प्रयोग गरे पनि महिनामा सय रुपैयाँ मात्रै महसुल तिर्नुपर्छ । यस्तो सुविधा अरू ठाउँमा सायदै होला।"
बिजुली आएपछि मोबाइल चार्ज गर्न, टीभी हेर्न र बालबालिकालाई पढ्न लेख्न सहज भएको छ, विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयको काम गर्न पनि सजिलो भएको छ।

तस्बिर स्रोत, PRAKASH PANT/BBC
बिजुली बलेपछि सबैभन्दा सजिलो आफूहरूलाई भएको स्थानीय गृहिणीहरूले बताए।
दुरगाँउकी सिद्धि रोकाया भन्छिन्, "पहिले अँध्यारोमा बस्नुपर्थ्यो, बिजुली बलेपछि उज्यालोमा रमाएका छौँ।"
सल्लाको दियालो र टुकी बाल्दा मानिसको स्वास्थ्यमा समस्या हुन्थ्यो। अहिले स्थानीयले त्यस्तो समस्याबाट पनि मुक्ति पाएका बताएका छन्।
गाउँलेले विद्युत आयोजनाको रेखदेख गर्न राखेका दुई जना कर्मचारीको तलबभत्ता पनि महसुलले नै धानेको छ।

तस्बिर स्रोत, PRAKASH PANT/BBC
जुफाल र दुनै जानुपर्ने बाध्यताबाट मुक्त
बिजुली बत्तीको सपना पूरा भएपछि यार्साको आम्दानी शिक्षामा लगानी गरेको गाउँलेले बताए।
गाउँमा माध्यमिक विद्यालय थिएन। बालबालिकालाई माध्यमिक तहको पढाइको लागि जुफाल र दुनै जानुपर्ने बाध्यता थियो।
या त्यहाँ गएर भाडामा कोठा लिएर बस्नुपर्थ्यो या त पढाइ नै छाड्नुपर्थ्यो।
गाउँमा माध्यमिक विद्यालय नहुँदा कतिपय बालबालिकाले बीचमै पढाइ छाडेको गाउँलेहरू बताउँछन्।
बिजुली बालेर गाउँ झलमल्ल पारेका उनीहरू शिक्षकको तलब निजी स्रोतबाट बेहोर्ने गरी २०६६ सालमा गाउँमै मावि स्थापना गर्न सफल भए।
यार्साको आम्दानीबाट सरकारी सरह तलबभत्ता दिने गरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक खोजेर थरगाउँमा लक्ष्मी माध्यामिक विद्यालय सञ्चालन गरिएको बताइएको छ।
गाउँमै माध्यामिक तहको पढाइ हुन थालेपछि काँडाताली, थरगाउँ र दुरगाउँका बालबालिका जुफाल र दुनै जानुपर्ने बाध्यताबाट मुक्त भए।
सामुदायिक बनमार्फत् यार्साको आम्दानी नभएको भए गाउँलेले निजी स्रोतबाट खर्च बेहोरेर विद्यालय धान्न सक्ने अवस्था नरहेको उनीहरूले बताए।
न त बत्ती बल्थ्यो न विद्यालय नै चल्थ्यो
यार्सागुम्बाको आम्दानीले विद्यालय सञ्चालनमा ठूलो मद्दत पुगेको छ। "यार्साबाट आम्दानी नभएको भए उक्त भार अभिभावकले थेग्नुपर्थ्यो", स्थानीय राजीमान बोहोराले भने।
रूपपाटन सामुदायिक बनले लक्ष्मी माध्यमिक विद्यालयलाई बर्सेनि करिब ३२ लाख रुपैयाँ कमाउने गरेको शिक्षक कमल बुढाले बताए।
उनका अनुसार सामुदायिक बनले विद्यालयलाई अहिलेसम्म चार करोड रुपैयाँभन्दा बढी रकम उपलब्ध गराइसकेको छ।
"यार्सा टिप्न आउनेहरूको प्रवेशबापत रकम सङ्कलन गरिएको हुँदैनथ्यो भने न त गाउँमा बत्ती बल्थ्यो न त विद्यालय नै चल्थ्यो", शिक्षक बुढाले भने।

तस्बिर स्रोत, PRAKASH PANT/BBC
छिमेकी माझफालका गाउँलेले पनि यार्साको आम्दानीबाटै बिजुली बालेका छन्।
साइकुमारी सामुदायिक वनमा लगाइएको प्रवेश शुल्कको आम्दानीबाट रोलगाड लघु–जलविद्युत आयोजना बनाइएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








