नासाकी प्रथम महिला अन्तरिक्ष कमान्डर: म मानिसले 'ती महिलाले गल्ती गरिन्' भनून् भन्ने चाहन्नथेँ

तस्बिर स्रोत, Tony Jolliffe/ BBC News
- Author, रेबेका मोराल
- Role, विज्ञान सम्पादक
उनी सीमाहरू तोडेर उच्चतम तहमा पुगेकी अन्तरिक्ष यात्री हुन्। र उनी निरन्तर अगाडि बढिरहिन्।
आइलिन कोलिन्सले अमेरिकी अन्तरिक्ष निकाय नासाको अन्तरिक्षयानको पाइलट बन्ने र कमान्ड सम्हाल्ने पहिलो महिलाको रूपमा इतिहास रचेकी छिन्।
उनका उपलब्धिहरू उल्लेखनीय भए पनि धेरैले उनलाई नचिन्न सक्छन्।
अब 'स्पेसवुमन' नामक एक फिचर आकारको वृत्तचित्रले उनको लोभलाग्दो करिअरको कथा भन्ने छ र उनलाई धेरै माझ परिचित गराउने छ।
हामी लन्डनको विज्ञान सङ्ग्रहालयमा कोलिन्सलाई भेट्छौँ। मधुर स्वरकी उनले अपनत्व महसुस गराउँछिन्, उनी सहज छिन्।
तर तत्कालै तपाईँले उनमा रहेको एकाग्रता र दृढ सङ्कल्पको अनुभूति महसुस गर्नुपर्छ। उनीमा स्पष्ट रूपमा दृढता देखिन्छ।
"म जेमिनी अन्तरिक्षयात्रीहरूबारे म्यागेजिनका लेख पढ्दै थिएँ। त्यसबेला म सायद नौ वर्षकी थिएँ। मलाई लाग्यो त्यो नै सबैभन्दा गज्जबको कुरा हो। म त्यही काम गर्न चाहन्छु," उनी भन्छिन्।
"त्यसबेला कुनै महिला अन्तरिक्ष यात्री थिएनन्। तर मैले आफू एक महिला अन्तरिक्ष यात्री बन्ने छु भन्ने सोचेँ।।"

तस्बिर स्रोत, NASA
ती सानी किशोरीले आफ्नो सोच अझ उँचो पारिन्- उनी अन्तरिक्षयानको नियन्त्रण गर्ने भूमिकामा हुन चाहन्थिन्।
उक्त लक्ष्य हासिल गर्ने एक मात्र उपाय भनेको सेनामा जोडिँदै टेस्ट पाइलटको भूमिका सम्हाल्नु हुन्थ्यो।
हवाई फौजमा उनी धेरैजना मध्येबाट चुनिएर अन्तरिक्ष कार्यक्रममा जोडिइन्।
उनले नासाको बारम्बार प्रयोग गर्न मिल्ने विमान अर्थात् स्पेस शटल उडाउन पाइन्।
सन् १९९५ मा आफ्नो पहिलो मिसन सुरु हुँदा संसारको आँखा आफूमाथि रहेको कुरा उनलाई हेक्का थियो।
"अन्तरिक्ष यान उडाउने पहिलो महिला पाइलटको रूपमा मैले निकै कडा मिहिनेत गरेँ। किनभने म मानिसहरूले 'हेर, ती महिलाले गल्ती गरिन्' भनून् भन्ने चाहन्नथेँ," उनी भन्छिन्।
"र म चाहन्थेँ कि महिला पाइलटहरूका लागि त्यहाँ एउटा प्रतिष्ठा होस् जुन 'हेर, तिनीहरू साँच्चै राम्रा छन्' भनून् भन्ने थियो।"

तस्बिर स्रोत, Eileen Collins
खासमा उनी आफ्नो भूमिकामा निकै कुशल भएकैले उनलाई ऐतिहासिक रूपमा चाँडै नै कमान्डरमा पदोन्नति गरियो।
कोलिन्स दुई साना सन्तानकी आमा पनि थिइन्। त्यतिबेला उनी एक कामकाजी पत्नी र आमा रहेको भन्ने तथ्यलाई बारम्बार पत्रकार सम्मेलनहरूमा उठाइन्थ्यो।
केही पत्रकारहरू उनी दुवै भूमिकामा रहन सकेकामा चकित पर्ने गर्थे।
तर कोलिन्सका अनुसार आमा र कमान्डर हुनु "संसारको दुई उत्कृष्ट काम" थियो।
"तर म तपाईँलाई भन्छु कि अन्तरिक्षयानको कमान्डर हुनु भन्दा अभिभावक हुनु गाह्रो छ," उनी हाँस्छिन्।
"कमान्डर हुनुका लागि मैले पाएको सबैभन्दा राम्रो प्रशिक्षण अभिभावक हुनु थियो - किनकि तपाईँले मानिसहरूलाई कसरी नाइँ भन्ने भनेर सिक्नुपर्छ।"

तस्बिर स्रोत, NASA
तीन दशकसम्म उडान भरेका नासाका अन्तरिक्षयानहरूले निकै उचाइ मात्र हासिल गरेनन् बरु केही भयानक तहमा पनि झरे।
सन् १९८६ मा च्यालेन्जर अन्तरिक्षयान प्रक्षेपणको केही सेकेन्डमै विनाशकारी विफलता सामना गर्दा त्यस जहाजमा रहेका सबै सात जना चालक दलका सदस्यहरू मारिए।
र, २००३ मा कोलम्बिया शटल आफ्नो मिसनको अन्त्यमा टेक्ससको आकाशमा टुक्रियो। त्यस घटनामा उसका सात जना चालक दलका सदस्यहरूको ज्यान गयो।
कोलम्बियाको इन्धन ट्याङ्कीमा इन्सुलेट गर्ने फोमको टुक्रा प्रक्षेपणको क्रममा फुट्दा त्यसले विनाशकारी परिणामहरू सहित 'हिटशील्ड'लाई क्षति पुर्यायो।
पृथ्वीको वायुमण्डलमा पुनः प्रवेशलाई सहन असमर्थ रहँदा संसारले त्यसको डरलाग्दो अन्त्य देख्यो।
कोलिन्सले उक्त भयानक घटना र त्यसमा ज्यान गुमाएका साथीहरू सम्झिइन्।
तर कमान्डरका रूपमा आफ्नो कामको साथ उनी शटलको अर्को उडानको जिम्मेवारीमा हुनुपर्यो।
के त्यस बिन्दुमा उनले काम छोड्ने बारेमा सोचिन्?
"शटल कार्यक्रमभरि मानिसहरू यी कमान्डरले त्यसमा अडिग रहनेछन् भन्ने कुरामा भर परेका थिए," उनी बिस्तारै भन्छिन्।
"मलाई लाग्छ मिसन छोड्नु बहादुरीको विपरीत हुने थियो... र म एक बहादुर नेता बन्न चाहन्थेँ। म एक आत्मविश्वासी नेता बन्न चाहन्थेँ। म अरू मानिसहरूमा त्यो विश्वास जगाउन चाहन्थेँ।"
उनको मिसनमा अन्ततः सन् २००५ मा आकाशमा उड्दा फेरि नसोचिएको अवस्था देखा पर्यो। प्रक्षेपणका क्रममा फोमको एउटा टुक्रा फुट्यो।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मुनि उडान गर्दा कोलिन्सले ३६० डिग्री फ्लिपमार्फत् उक्त शटलको पाइलटका रूपमा भूमिका निर्वाह गर्नु परेको थियो।
यसले पृथ्वीलाई परिक्रमा गरिरहेको आईएसएस प्रयोगशालामा रहेका सहकर्मीहरूलाई यानको तलको भागको तस्बिर खिच्न र 'हिटशील्ड' फुटेको छ कि छैन भनेर जाँच्ने अवसर दियो।
"त्यहाँ रहेका इन्जिनियर र व्यवस्थापकहरूले त्यसो गर्न सकिँदैन भन्दै थिए। त्यसको कारण त्यो निकै खतरनाक भएकैले थियो," उनी भन्छिन्।
"मैले छलफल सुनेँ। उनीहरूलाई म कमान्डर भएको कुरा थाहा थियो र मैले भनेँ: 'हामी यो गर्न सक्छौँ जस्तो लाग्छ'।"

तस्बिर स्रोत, NASA
नियन्त्रणमा आफ्ना हात स्थिर राख्दै र मिसन नियन्त्रणसँग धैर्यका साथ कुरा गर्दै कोलिन्सले बिस्तारै, सुन्दर समरसल्टमार्फत् उक्त यानलाई चलाइन्।
शटलको तलको भाग अब देखिने भएकाले क्षति चाँडै देखियो र त्यसलाई मर्मत गर्नका लागि स्पेसवाक गरियो।
यसको अर्थ कोलिन्स र उनको टोली सुरक्षित रूपमा घर फर्कने भन्ने थियो।
त्यो कोलिन्सको अन्तिम उडान थियो। उनले हामीलाई बताए अनुसार कोलिन्स सधैँ आफ्नो चौथो मिसनपछि रोकिने योजनामा थिइन्। त्यो अरूलाई अन्तरिक्षमा जाने मौका दिनका लागि रहेको भन्ने उनको भनाइ थियो।
र, उनले कैयौँ अन्तरिक्ष यात्रीहरूले आफ्नो पदचाप पछ्याएको देखेकी छिन्।
के उनको ताराहरूको सपना देख्ने अर्को पुस्ताको लागि कुनै सल्लाह छ?
"आफ्नो गृहकार्य गर्नुहोस्। आफ्नो शिक्षकको कुरा सुन्नुहोस्। कक्षामा ध्यान दिनुहोस् र पुस्तकहरू पढ्नुहोस् र त्यसैले तपाईँलाई त्यसप्रति ध्यान केन्द्रीत गर्न (मद्दत) दिनेछ," उनी भन्छिन्।
कोलिन्सलाई अन्तरिक्षमा पछ्याउनेहरूले उनीबाट महिलाको रूपमा मात्र नभई एक शक्तिशाली पाइलट र कमान्डरको रूपमा उनले कति उपलब्धि हासिल गरिन् भन्ने कुरा सिक्नेछन्।
उनलाई अन्तरिक्षयात्रीको रूपमा आफ्नो करिअर अन्त्यमा पुर्याएकोमा कुनै पछुतो छैन। उनले आफ्नो निर्णय लिइन् र त्यसप्रति पछाडि फर्केर हेरिनन्।
तर जब हामीले के अन्तरिक्षयानमा सीट खाली भयो भने उनी लोभिन्छिन् कि भनेर सोध्दा उनले भनिन्, - "हो, म कुनै दिन मिसनमा जान चाहन्छु। जब म बुढी हुन्छु सायद मलाई फेरि अन्तरिक्षमा जाने मौका मिल्ने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








