कतार विश्वकपमा रङ्गशालाभित्र मदिरामाथि प्रतिबन्ध

तस्बिर स्रोत, Getty Images
फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ।
मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि "रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा" रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो।
यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्नेछन्।
कतारमा आइतवार विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच हुनेछ।
फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो।
फिफाले के भन्यो?

तस्बिर स्रोत, Getty Images
"आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ," फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ।
"बड जिरोको विक्रीमा कुनै असर पर्ने छैन। त्यो कतारका सबै विश्वकप रङ्गशालाहरूमा उपलब्ध हुनेछ। "आयोजक देशका अधिकारी र फिफाले रङ्गशाला र वरपरका क्षेत्रले सबै प्रशंसकहरूलाई रमाइलो, सम्मानजनक र सुखद अनुभव प्रदान गरोस् भन्ने सुनिश्चित गर्न जारी राख्नेछन्।”
उसले प्रतियोगितामा पेय आपूर्ति गर्नुका साथै समझदारी र निरन्तर समर्थन गरेको भन्दै एबी इनबेभको प्रशंसा पनि गरेको छ।
बडवाइजरले शुक्रवर ट्विटरमा सन्देश पोस्ट गर्दै लेखेको थियो, "ठिकै छ, यो असहज कुरा हो।" तर पछि उसले उक्त पोस्ट मेटाएको थियो।
एबी इनबेभका एकजना प्रवक्ताले "काबुबाहिरको परिस्थिति"का कारण "केही योजनाबद्ध रङ्गशालाभित्रको सक्रियता"लाई अघि बढाउन नसकिएको बताए।
फुटबल समर्थक सङ्घ (एफएसए) ले अधिकांश प्रशंसकहरूका लागि बियर विक्री रोक्ने निर्णयको जुन समयमा गरियो त्यो उपयुक्त नभएको भन्दै आलोचना गरेको छ।








