चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको किन ‘घटुवा’ भयो

तस्बिर स्रोत, Getty Images
विरोधीहरूको खरो आलोचना गर्ने ‘उल्फ वारियर’ शैलीका लागि चिनिएका एक जना कूटनीतिज्ञलाई चीनले कम महत्त्वपूर्ण पदमा सरुवा गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका पूर्व प्रवक्ता जाउ लिजिएनलाई सीमा र सामुद्रिक मामलासम्बन्धी विभागको उपप्रमुख बनाइएको छ।
अब उनले चीनको सामुद्रिक र जमिनको सीमा व्यवस्थापनको जिम्मेवारी पाएका छन्।
उनले यो भूमिका स्वीकार गरे वा नगरेकोबारे अझै प्रस्ट छैन।
उच्च प्रतिष्ठित व्यक्तित्वका रूपमा चिनिएका जाउले यसअघि विदेश मन्त्रालयको पत्रकार सम्मेलन आयोजना गर्दै आएका थिए।
‘उल्फ वारियर’ कूटनीति
उनको अनपेक्षित सरुवाको कारण प्रस्ट हुन सकेको छैन।
उनको शैलीलाई ‘उल्फ वारियर’ नामले चिनिने कूटनीतिको प्रतिकका रूपमा हेरिएको थियो। चीनले यसअघि अभ्यासमा रोक लगाएको यो कूटनीतिमा आलोचनाहरूको कडा प्रतिवाद गर्ने लडाकू शैली अपनाइने गरिन्छ।
लोकप्रिय बनेको चिनियाँ विशेष फौजका सैनिकहरूबारेको राष्ट्रभक्तिले ओतप्रोत चलचित्रबाट यो शैलीको नाम राखिएको हो।
तीन वर्ष विदेश मन्त्रालयको प्रवक्ता रहेका जाउ आफ्ना ट्विटका कारण बारम्बार विवादमा आएका थिए।
सन् २०२० मा जाओले कोभिड निम्त्याउने कोरोनाभाइरस अमेरिकी सैनिकले बनाएर चीनमा छोडिदिएको भाइरस भएको दाबी गरेका थिए।


त्यही वर्ष उनले एउटा तोडमोड गरिएको तस्बिर सामाजिक सञ्जालमा राखे जसमा अस्ट्रेलियाका सैनिकले अफगान बच्चालाई मारेको गलत जानकारी देखाइएको थियो। उनले राखेको उक्त तस्बिरले ठूलो कूटनीतिक आक्रोश पैदा गर्यो।
त्यसको अघिल्लो वर्ष पनि अमेरिकामा जातीय व्यवस्थाबारे शृङ्खलाबद्ध उत्तेजक ट्विटहरू गरेपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राइसले ५० वर्षीय जाओलाई “नस्लवादी अपमानकारी” भनेकी थिइन्।
अमेरिकाका लागि पूर्व चिनियाँ राजदूत रहेका चीन गाङ चीनको नयाँ विदेश मन्त्री बने लगत्तै जाओको सरुवा भएको हो।
सरुवाको सम्भावित कारण
कतिपय पर्यवेक्षकहरूले जाउको सरुवालाई चिनियाँ कूटनीतिलाई लडाकू शैलीबाट अलग गर्ने कदमको रूपमा हेरेका छन्।
आफ्नो सिनोसिजम ब्लगमा अमेरिकी पत्रकार बिल बिसपले यो कूटनीतिक शैली राष्ट्रपति सी जिन्पिङको “मौलिक सिद्धान्त” जस्तो देखिएको र जाउ यसका “कच्चा मुखपत्र”को रूपमा रहेको उल्लेख गरेका छन्। उनले यो सरुवा चिनियाँ कूटनीतिको व्यापक परिवर्तन हुनसक्ने कुनै पनि प्रमाण फेला नपरेको दाबी गरेका छन्।
कतिपय इन्टरनेट प्रयोगकर्ताहरूले जाउकी श्रीमती ताङ तियानरूले सामाजिक सन्जालमा राखेका कुराहरूबाट पनि उनको घटुवा भएको हुनसक्ने आकलन गरेका छन्।
कोभिड नियन्त्रणका लागि चीनले सबैभन्दा कडा प्रतिबन्ध लगाएको समयमा ताङले आफू मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागि भएका धेरैवटा तस्बिरहरू सामाजिक सन्जालमा राखेकी थिइन्।
कतिपय तस्बिरहरूले चीनमा यात्रा प्रतिबन्ध कायमै रहेको समयमा ताङ जर्मनी भ्रमणमा निस्किएको देखाउँछन्।
अधिकांशको बढुवा
गत नोभेम्बरमा एक पत्रकार सम्मेलनमा जारी दुर्लभ विरोधका बीच चीनले शून्य कोभिड नीति कायमै राख्छ? भनेर सोधिएको प्रश्नमा जाउ लामो समयसम्म नाजवाफ भएका थिए। निकै बेर मौन बसेका जाउले उक्त प्रश्नले “वास्तविक अवस्थालाई प्रतिबिम्बित नगर्ने” दाबी गर्दै प्रश्न पुन दोहोर्याउन भनेका थिए।
चीनमा विदेश मन्त्रालयको प्रवक्ताको भूमिकालाई प्रतिष्ठित मानिन्छ र विगतमा यस्तो भूमिकामा रहनेहरूको बढुवा भएको छ।
चीनका नवनियुक्त विदेश मन्त्री चीन पनि विदेश मन्त्रालयमा बढुवा भएर अमेरिकाका लागि राजदूतको प्रतिष्ठित भूमिका पाउनुअघि प्रवक्ता थिए।
सन् २०१२ पछि प्रवक्ता रहेका जाउकै पूर्व सहकर्मी पनि सन् २०२१ मा सहायक मन्त्रीमा बढुवा भएका थिए।








