पश्चिम अफ्रिकामा सङ्कट निम्त्याएका दुई औषधिमाथि भारतद्वारा प्रतिबन्ध

मुम्बईस्थित एभिओ कम्पनीले पश्चिम अफ्रिकामा लत बसाल्ने औषधि बेचेको पाइएको छ
तस्बिरको क्याप्शन, मुम्बईस्थित एभिओ कम्पनीले पश्चिम अफ्रिकामा लत बसाल्ने औषधि बेचेको पाइएको छ
    • Author, विकी वङ र बीबीसी आई इन्भेस्टिगेसन्स
    • Role, बीबीसी न्यूज र बीबीसी विश्वसेवा

बीबीसीले गरेको एक अनुसन्धानले पश्चिम अफ्रिकाका केही भागमा सार्वजनिक स्वास्थ्य सङ्कटका जिम्मेवार दुई थरी अति नै लत बसाल्ने किसिमका ओपिओइड भएका औषधि रहेको पत्ता लगाएपछि भारतीय अधिकारीहरूले तिनलाई प्रतिबन्ध लगाएका छन्।

भारतका औषधि महानियन्त्रक डा राजीव सिंह रघुवंशीले ती औषधिको उत्पादन तथा निर्यातको इजाजतपत्र फिर्ता गरिएको छ भनेर लेखेको पत्र बीबीसीले हेरेको छ।

बीबीसी आईले एक औषधि कम्पनी एभिओले टापेन्टाडोल र कारिसोप्रोडोलका हानिकारक मिश्रण अवैध रूपमा घाना, नाइजिरिया र कोट डिभोरजस्ता देशमा निर्यात गरिरहेको फेला पारेको थियो।

भण्डारणमा रहेका औषधि जफत

भारतको खाद्य एवं औषधि व्यवस्थापन निकायले मुम्बईस्थित उसको कारखानामा छापा मारिएको र त्यहाँ रहेका बाँकी औषधि जफत गरिएको जनाएको छ।

शुक्रवारको मितिमा डा रघुवंशीले जारी गरेको परिपत्रमा बीबीसीले गरेको अनुसन्धानलाई उद्धृत गर्दै उनले टापेन्टाडोल र कारिसोप्रोडोलका सबै मिश्रणलाई प्रतिबन्ध लगाउने निर्णय भएको र सो निर्णय तत्काल लागु हुने जनाइएको छ।

'ती औषधिको दुरुपयोगको सम्भावना र मानिसहरूमा तिनको हानिकारक प्रभाव' बारे अधिकारीहरूले हेरेपछि पछिल्लो निर्णय गरिएको पनि उनले भनेका छन्।

टापेन्टाडोल एक शक्तिशाली ओपिओइड हो भने कारिसोप्रोडोल चाहिँ अति नै लत बसाल्ने किसिमको 'मसल रिल्याक्स्यान्ट' हो, जो युरोपमा प्रतिबन्धित छ।

कारिसोप्रोडोलको प्रयोग अमेरिकामा गरिन्छ तर एकदमै छोटो समय करिब तीन साताका निम्ति मात्र। उक्त औषधि सेवन गर्न छाड्दा डर लाग्ने, निद्रा नलाग्ने अनि भ्रम पैदा हुने जस्ता दुष्प्रभाव हुने गर्छन्।

के छन् दुष्प्रभाव?

ती दुई औषधिको मिश्रणको प्रयोग गर्न भने संसारमा कतै पनि इजाजत छैन किनकि तिनले श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गर्ने, 'सिजर' हुने र बढी मात्रामा लिँदा ज्यान नै जाने हुन सक्छ।

जोखिमका बाबजुद पश्चिम अफ्रिकी देशहरूमा यी ओपिओइड निकै चल्तीमा छन् किनकि ती सस्ता र सजिलै उपलब्ध छन्।

सार्वजनिक रूपमा उपलब्ध निर्यातसम्बन्धी आँकडामा एभिओ फार्मसूटिकल्स तथा उसको अर्को कम्पनी वेस्ट्फिन इन्टर्न्याश्नलले दशौँ लाख ट्याब्लेट घाना तथा अन्य पश्चिम अफ्रिकी देशहरूमा पठाइएको देखिन्छ।

बीबीसी विश्व सेवाले एभिओको लोगोसहितका चक्कीका प्याकेटहरू नाइजिरियाका गल्लीहरूमा अनि आइभोरियन नगरहरूमा भेट्टाएको थियो।

साढे २२ करोड जनसङ्ख्या रहेको नाइजिरिया उक्त औषधिको सबभन्दा ठूलो बजार रहेको छ। झन्डै ४० लाख नाइजिरियालीहरूले कुनै प्रकारको ओपिओइडको दुरुपयोग गर्ने गरेको अनुमान त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागले गरेको छ।

नाइजिरियाली अधिकारीहरूले जफत गरेका खास गरी ओपिओइडजस्ता अवैध औषधि लागोसस्थित भण्डारमा राखेका छन्
तस्बिरको क्याप्शन, नाइजिरियाली अधिकारीहरूले जफत गरेका खास गरी ओपिओइडजस्ता अवैध औषधि लागोसस्थित भण्डारमा राखेका छन्

भेष बदलेर अनुसन्धान

अनुसन्धानको क्रममा बीबीसीले भेष बदलेर ओपिओइड आपूर्तिमा इच्छुक अफ्रिकी व्यापारीको भान पारेर एक जनालाई भारतस्थित एभिओको एउटा कारखानामा पठाएको थियो। त्यहाँ उक्त कम्पनीका एक निर्देशक विनोद शर्माले पश्चिम अफ्रिकामा फेला पारिएकाजस्ता हानिकारक उत्पादन देखाएका थिए।

गोप्य रूपमा गरिएको रेकर्डिङमा ती व्यक्तिले शर्मालाई नाइजिरियामा ती ट्याब्लेट बेच्न चाहेको र त्यहाँका किशोरकिशोरीले 'ती उत्पादन असाध्यै रुचाएको' भनेका छन्।

जबाफमा शर्मा 'हुन्छ' भन्छन् अनि प्रयोगकर्ताले दुई वा तीन ट्याब्लेट एकैपटक सेवन गरेमा तिनले 'आनन्द'को अनुभूति गर्ने र 'नसा' समेत चढ्ने स्वीकार्छन्।

कुराकानीको अन्त्यमा शर्मा भन्छन्, "स्वास्थ्यका लागि यो निकै हानिकारक छ," र थप्छन्, "अचेल यो व्यापार भएको छ।"

शर्मा र एभिओ फार्मसूटिकल्सले बीबीसीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन प्रकाशन गर्ने बेलामा उनीहरूको प्रतिक्रियाबारे सोधिएको प्रश्नको कुनै जबाफ दिएनन्।

भारतको खाद्य एवं औषधि व्यवस्थापन निकायले उसले शुक्रवार गरेको कारबाहीमा एभिओको सम्पूर्ण स्टक जफत गरिएको र थप उत्पादन रोकिएको भनेर वक्तव्यमा जनाएको छ। कम्पनीविरुद्ध थप कानुनी कारबाही गरिने पनि उसले बताएको छ।

"देशको छविमा दाग लाग्ने कुनै पनि अवैध क्रियाकलाप"मा संलग्न जोकसैका विरुद्ध कारबाही गर्न आफू "पूर्ण तयार" रहेको सो निकायले जनाएको छ।

ती औषधिको आपूर्ति रोक्न थप जाँचका आदेशहरू दिएको पनि उसले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।