सेमिफाइनलमा पुगेसँगै मोरक्कोले विश्वकप फुटबलमा रच्यो इतिहास

मोरक्को

तस्बिर स्रोत, EPA

इतिहास निर्माताहरू।

विगतमा तीनवटा अफ्रिकी टोलीहरू विश्वकप क्वार्टरफाइनलसम्म पुगेका थिए तर उनीहरू त्यहाँ भन्दा माथि उक्लिन सकेनन्।

तर यो पाली अवस्था भिन्न बन्न पुगेको छ।

सानदार प्रदर्शन सहित मोरक्कोले यो विश्वकपमा आकर्षण थपेको छ र उसका समर्थकहरू आफ्नो टोली अफ्रिका महादेशबाटै सेमिफाइनलमा पुग्ने पहिलो राष्ट्र बनेकोमा हर्ष मनाइरहेका छन्।

जितको हकदार मोरक्को

क्रिस्टियानो रोनाल्डो र उनको टोली पोर्चुगल घर फर्कन बाध्य भएका छन् र 'एटलस लायन्स' विजेताका रूपमा अघि बढेका छन्। “हामी सबैले माया गर्ने टोली बनिरहेका छौँ किनभने हामीले आफूले के हासिल गर्न सक्छौँ त्यो देखाइरहेका छौँ,” मोरक्कोका व्यवस्थापक वालिद रेग्रगुइले भने।

“यदि तपाईँले जोस, माया र विश्वास देखाउनुभयो भने सफलता पाउन सक्नुहुनेछ र मेरा खेलाडीहरूले त्यो प्रदर्शन गरेका छन्। युरोपमा रहेकाहरूले भन्न सक्ने जस्तो यो चमत्कार होइन। तर हामीले पोर्चुगल, स्पेन र बेल्जियमलाई पराजित गरेका छौँ र गोल नखाई क्रोएसियासँग बराबरी खेलेका छौँ। यो कठिन परिश्रमको परिणाम हो।”

उनले थपे, “अफ्रिकी र अरब टोलीहरूले कडा परिश्रम गरेका छन् र हामीले हाम्रा मानिसहरूलाई खुसी र गौरवान्वित बनाएका छौँ। पुरै महादेशले गर्व गरिरहेको छ। जब तपाईँ रकी बाल्बोवा ( खेलकुदको विषय समेटेको एउटा चलचित्र) हेर्नुहुन्छ, तपाईँ रकीलाई समर्थन गर्न चाहनुहुन्छ, हामी यो विश्वकपको रकी हौँ।”

क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) को विश्वकप यात्रा क्वार्टरफाइनलमा अन्त्य भएको थियो। तर मोरक्कोले त्यो सीमालाई पार गर्दै कतारको अल थुमामा रङ्गशालामा नयाँ इतिहास रचेको छ।

मैदानमा उपस्थित समर्थकहरूले “अघि बढ, अघि बढ” भन्दै आफ्नो टोलीलाई हौस्याउने क्रममा “सदैव मोरक्को” भनेर चिच्च्याएका थिए।

बीबीसी रेडियो फाइभ लाइभमा स्कटल्याण्डका पूर्व खेलाडी प्याट नेभीनले भने, “यो रङ्गशालाबाट आएको आवाज अभूतपूर्व छ। विश्वकपमा यसअघि कहिले यस्तो आश्चर्य भएको थियो म सोच्ने प्रयास गरिरहेको छु।”

उनले थपे, “उनीहरू यसको हकदार हुन्। आफ्नो दक्षता र प्रयास र निरन्तरको समर्थनले गर्दा पनि।”

पोर्चुगल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, क्रिस्टियानो रोनाल्डो र उनको टोली पोर्चुगल अन्तिम आठमा नै यात्रा टुग्याउन बाध्य भएका छन्

खुसी मनाउने शैली

अन्तिम चारमा पुग्ने मोरक्को पहिलो अफ्रिकी मात्र नभएर पहिलो मुस्लिम बहुल रहेको अरब देश पनि बन्न पुगेको छ।

उक्त टोलीले इस्लामप्रति आस्था प्रदर्शन गर्दै स्पेनविरुद्धको पेनाल्टी प्रहार अघि खेलाडीहरू एक ठाउँमा जम्मा भएको समयमा कुरानका केही हरफ वाचन गरेका थिए।

पोर्चुगलविरुद्ध जित हासिल गरेपछि खेलाडी र टोलीका सदस्यहरूले आफ्ना समर्थकमाझ सज्दा (भुईँमा टेकेर प्रार्थना) गरेका थिए।

वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका असर्फ दारीले पेलेस्टिनी झन्डा बेरेर खुसी साटेका थिए भने प्यारिस साँ-जर्माँकाका असर्फ हाकीमीले आफ्नी आमालाई भेटेर चुम्बन गरेका थिए। सउथह्याम्पटनका सोफीयान बोउफुल आफ्नी आमासँग नाचेका थिए।

सबैभन्दा अन्तिममा मैदान बाहिर निस्किएका रेग्रगुइ उक्त महत्त्वपूर्ण जितपछि भावुक देखिएका थिए।

मोरक्कोका खेलाडी

तस्बिर स्रोत, EPA

खेलपछिको पत्रकार सम्मेलनमा उनले विश्व मोरक्कोको पक्षमा रहेको र (ईश्वरले चाहेमा) आफ्नो टोलीले विश्वकप जित्नसक्ने बताएका थिए।

उनले खेलको अन्त्यमा पहिलो पटक आफू रोएको उल्लेख गर्दै सेमिफाइनलमा पुग्दा आफू भावुक भएको र आँसु रोक्न नसकेको बताए।

मोरक्कोका गोलरक्षक यासिन बुनु उक्त खेलको ‘उत्कृष्ट खेलाडी’ घोषित भए।

उनले भने, “हामी यहाँ मनस्थिति बदल्न र हीनताबाट पार पाउन आएका छौँ। सेमिफाइनल र त्यसपछि पनि मोरक्को विश्वको जुन सुकै (टोली)को सामना गर्न तयार छ।”

उनले आफ्नो टोलीले मानिसहरूको दृष्टिकोण बदलेको भन्दै भावी पुस्ताले मोरक्कोका खेलाडीले चमत्कार गर्न सक्ने थाह पाउने बताए।

मोरक्कोका गोलरक्षक

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मोरक्कोका गोलरक्षक यासिन बुनु खेलका म्यान अफ द म्याच बनेका थिए

सेमिफाइनलमा फ्रान्ससँग भिडन्त

मोरक्कोको सेमिफाइनलमा पुगेसँगै उक्त देश र अरब विश्वभर प्रसन्नता छाएको छ।

बुधवार हुने सेमिफाइनलमा अब मोरक्कोले पछिल्लो विश्व विजेता फ्रान्सको सामना गर्नेछ।

गए रातिको दोस्रो खेलमा इङ्ग्ल्याण्डलाई दुई एक गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको थियो।

प्यारीसमा फ्रान्स र मोरक्कोका हजारौँ समर्थकहरूले खुसी मनाइरहेका छन्।

केही स्थानमा अशान्ति छाएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।