चीनसँग जोडिने रसुवाको पुल कात्तिकभित्रै 'तयार हुने', 'तर बाटोको छैन भर'

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
गत असार अन्तिम साता रसुवा-केरुङबीचको मितेरी पुल बाढीले बगाएपछि त्यहाँ बेलिब्रिज जडानकार्य अन्तिम चरणमा पुगेको भन्दै नेपाली अधिकारीहरूले मध्य कात्तिकसम्ममा त्यो सञ्चालनमा आउने आशा गरिएको बताएका छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले उक्त अस्थायी पुल 'फिट' गर्ने काम असोज अन्तिममै पूरा भइसके पनि नदीमाथि राख्ने क्रममा अन्तिममा केही समस्या देखिएको बीबीसीलाई बताए।
"जडान गर्ने क्रममा नदीमा तयार पारिएको जगमा राख्ने क्रममा पुल केही लच्किएको देखिन्छ," पन्थीले भने। "त्यसपछि पहिले सोचिएभन्दा फरक बीचमा अर्को पिलर बनाएर त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ। उहाँहरू [चिनियाँ पक्ष] ले त्यो करिब १० दिनजतिको काम भएको बताउनु भएको छ।"
उनले पुल बने पछिको अवस्थामा पनि हाल रसुवागढीसम्म साना गाडी र बससम्म चल्ने परिस्थिति मात्र रहेको बताए। उनले त्यसतर्फका सडकमा स्तरोन्नतिको पर्याप्त काम बाँकी रहेको बताए।
कन्टेनर लगायतका ठूला गाडीको आवतजावत हुने गरी उक्त सडक तत्काल प्रयोगमा आइहाल्ने अवस्था नदेखिएको उनीहरूको भनाइ छ।
असारको उक्त बाढीका कारण चिनियाँ सहयोगमा निर्माणाधीन रहेको रसुवागढी भन्सारको सुक्खा बन्दरगाहमा समेत गम्भीर क्षति पुगेको थियो।
त्यहाँ जाँचपासको प्रक्रियामा रहेका कैयौँ गाडी एवं मालवाहक ट्रकहरू बाढीका कारण बगेका थिए।
'हिउँदलाई समस्या छैन, बर्खामा भर छैन'

तस्बिर स्रोत, Prakash Chandra Timilsena
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी रसुवागढी सडक योजनाका प्रमुखले सीमावर्ती पुल एउटा प्रमुख पक्ष भए पनि त्यहाँसम्म पुग्ने सडकमा धेरैतिर एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने परिस्थिति रहको बताउँछन्।
योजना प्रमुख कृष्ण पौडेल भन्छन्: "पहिरो गएका धेरै ठाउँमा एकतर्फी भए पनि हिउँदभरलाई सञ्चालन गर्न समस्या हुँदैन।"
तर उनले मुख्य समस्या रहेको स्याफ्रुबेसी रसुवागढी खण्डमा सडक विस्तार र स्तरोन्नतिको जिम्मा चिनियाँ ठेकेदारको रहेको भन्दै उसको काम अवरुद्ध हुँदा तत्काल स्थायी समाधान भइहाल्ने अवस्था नरहेको बताउँछन्।

"चिनियाँ दायित्वको रसुवागढी-स्याफ्रुबेसी खण्डका लागि ठेकेदार आएर बसेको छ तर त्यहाँबाट सामग्री निकाल्नका लागि निकुञ्जले अनुमति दिएको छैन," कृष्ण पौडेलले बीबीसीलाई भने।
"करछुटको फाइल मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने छ। त्यो भौतिक मन्त्रालयबाट अघि बढेकै छैन।"
साढे तीन महिनादेखि मुख्य नाका ठप्प
नेपाल–चीनबीचका करिब ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाका भएर हुने गरेकामा त्यो साढे तीन महिनादेखि ठप्प छ।
"कात्तिक १५ गतेसम्म चीनले नाका खुला गर्ने सम्भावनाका आधारमा हामी तयारीमा छौँ। दुई-तिन दिनमा जाने-आउने बाटो र यार्ड सफा गर्ने काम सकिन्छ," बुधवार प्रमुख जिल्ला अधिकारी पन्थीले भने।
"तर यहाँको भूगोल जटिल छ। सुक्खा पहिरो पनि गइरहेको हुन्छ भने थोरै पानी पर्दा समेत पहिरो गइरहने अवस्था छ। कहीँ कहीँ जिरो लेभलको बाटोमा खोलामा चाङ लगाएर बनाइएको छ।"
उक्त सीमा बिन्दुलाई कैलाश मानसरोवर जाने नेपाली तथा भारतीय तीर्थयात्रीमध्ये धेरैले त्यही नाका प्रयोग गर्दै आएका थिए।
गत आर्थिक वर्षमा चीनतर्फ रसुवा नाकाबाट झन्डै ८५ अर्ब रुपैयाँ बराबरका सामान आयात भएको भन्सार विभागको तथ्याङ्क छ।

तस्बिर स्रोत, Getty Images
नेपाल र चीनले सन् २०१७ मा रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए। त्यसयता दुवै देशले तातोपानीको तुलनामा रसुवागढी भएर आफ्ना व्यापारिक गतिविधि केन्द्रित गर्दै आएका थिए।
नेपाली अधिकारीहरूले स्याफ्रुबेसी-रसुवागढी खण्डका विभिन्न ठाउँका सडक बाढीले बगाएकोमा अझैसम्म पनि विभिन्न ठाउँमा एकतर्फी एवं कतै सडक खोलाले काटेपछि त्यहाँ सतह उठाएर यातायात सञ्चालनमा ल्याइने अधिकारीहरूले बताएका छन्।
"हिउँदलाई समस्या नहोला तर यो सडक मार्ग अर्को वर्ष पनि सञ्चालन हुनुपर्छ। बर्खामा पनि सञ्चालन हुनुपर्छ," प्रमुख जिल्ला अधिकारी पन्थी भन्छन्। "यही अवस्थामा दीर्घकालीन योजनासाथ काम नगरेमा यो बाह्रै मास चल्ने सडक हुँदैन।"
धरापमा परिरहने पुल

हाललाई बेलिब्रिज निर्माण गरेर चीनसँगको आवागमन सहज बनाए पनि पछि त्यहाँ कङ्क्रिटको पुल बनाउनुपर्ने पक्षमा नेपाल सरकार रहँदै आएको अधिकारीहरूले बताएका थिए।
तर अघिल्लो सरकारले त्यसको लागि चीनसँग आग्रह पठाइसके तापनि हालसम्म त्यसको प्रारूपबारे अहिलेसम्म छलफल अघि बढ्न सकेको छैन।
चिनियाँ लगानीमा निर्मित उक्त पुलमा ल्हेन्देखोलाले यसअघि पनि असर पुर्याउने गरेका विवरणहरू आउने गरेका थिए। पछिल्लो पटक चिनियाँ पक्षले २०७७ सालमा उक्त पुलको पुनर्निर्माण गरेको थियो।
हाललाई बेलिब्रिज निर्माण गरेर चीनसँगको आवागमन सहज बनाए पनि पछि त्यहाँ कङ्क्रिटको पुल बनाउनुपर्ने पक्षमा नेपाल सरकार रहँदै आएको अधिकारीहरूले बताएका थिए।
तर अघिल्लो सरकारले त्यसको लागि चीनसँग आग्रह पठाइसके तापनि हालसम्म त्यसको प्रारूपबारे अहिलेसम्म छलफल अघि बढ्न सकेको छैन।
बेलिब्रिज चीनले नै निर्माण गरिदिएको हो।
अहिलेको मुख्य समस्या भनेको झन्डै १७ किलोमिटर लामो रसुवागढी–स्याफ्रुबेसी सडक खण्डको रहेको बताएका अधिकारीहरूले त्यस बीचका करिब एक दर्जन ठाउँमा तत्कालकै लागि समेत जटिल पहिरोले सास्ती थपेको बताउँछन्।
यसअघि चीन सरकारले भदौ ३१ गतेसम्म रसुवागढीको सीमावर्ती पुल बनाइसक्ने आश्वासन दिए पनि त्यस अनुरूप काम हुन सकेको थिएन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








