इरानविरुद्ध नाकाबन्दी 'लम्बिने' सङ्केतपछि तेलको मूल्य ह्वात्तै बढ्यो

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नाकाबन्दी "लम्ब्याउने" तयारी गरेको विवरण सार्वजनिक भएपछि तेलको मूल्य ह्वात्तै बढेको छ।
इरानविरुद्ध अमेरिका र इजरेलको युद्ध अझै महिनौँसम्म नटुङ्गिने चिन्तासँगै कच्चा तेलको मूल्य प्रतिब्यारल १२० अमेरिकी डलर नाघेको छ।
फेब्रुअरीको अन्त्यतिर युद्ध सुरु भएपछि तेलको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी बन्दरगाह र ढुवानीमाथिको नाकाबन्दीलाई महिनौँसम्म लम्ब्याउन सकिने सम्भावनाबारे ऊर्जा क्षेत्रका कार्यकारीहरूसँग मङ्गलवार छलफल गरेका थिए।
इरान युद्ध सुरु हुनुअघि विश्वभरि निर्यात हुने पेट्रोलिअम पदार्थमध्ये २० प्रतिशतजति सामान्य अवस्थामा होर्मुज जलमार्ग हुँदै ढुवानी हुँदै आएको थियो। हाल युद्धविरामको अवस्था रहे पनि अमेरिकाले इरानविरुद्ध सामुद्रिक नाकाबन्दी जारी राखेको छ।
किन बढ्यो चिन्ता

तस्बिर स्रोत, Getty Images
अमेरिकाले इरानविरुद्ध नाकाबन्दीलाई निरन्तरता दिने सङ्केत सार्वजनिक भएपछि अहिले तेलको मूल्यमा प्रभावित भएको हो।
विश्वबजारमा तेलको मूल्यको मानक मानिने 'ब्रेन्ट क्रूड' बुधवार १२० डलर प्रतिब्यारलभन्दा माथि पुग्यो। केही समय १२२ डलरसम्म पुगेको मूल्य सन् २०२२ यताकै सर्वाधिक हो।
बीबीसीले थाहा पाएअनुसार सेभ्रोनका प्रमुख कार्यकारी माइक विर्थसहितका ऊर्जा कार्यकारीहरूले मङ्गलवार राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए। त्यस क्रममा पछिल्लो द्वन्द्वले अमेरिकी उपभोक्तालाई पार्न सक्ने प्रभाव कसरी सीमित गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो।
ऊर्जा व्यवसायीहरूले यो भेटलाई स्ट्रेट अफ होर्मुज अझै लामो समय नखुल्ने सङ्केतका रूपमा लिएको देखिन्छ ।
उक्त भेटमा घरेलु ऊर्जा उत्पादन, भेनेजुएलामा हुँदै गरेको प्रगति, तेलको भविष्य, प्राकृतिक ग्यास र पानीजहानबाट ढुवानीजस्ता विषयमा छलफल भएको ह्वाइट हाउसका एक अधिकारीले बताए।
यो भेटवार्तालाई ऊर्जा उद्योगबारे त्यहाँका कार्यकारीहरूसँग राष्ट्रपतिले गर्दै आएका नियमित भेट भनिएको छ।
त्यसअघि वाल स्ट्रीट जर्नल पत्रिकाले अमेरिकी राष्ट्रपतिले आफ्ना सहयोगीहरूलाई इरानका बन्दरगाहमाथिको नाकाबन्दी लम्ब्याउने तयारी गर्न निर्देशन दिएका खबर प्रकाशित गरेको थियो। इरानको अर्थतन्त्रलाई चेपुवामा पार्न राष्ट्रपति ट्रम्पले यस्तो गर्न चाहेको भनिएको छ।
मूल्यमा उतारचढाव
इरानले अमेरिकी नाकाबन्दीको प्रत्युत्तरमा आफूले होर्मुज जलमार्गमा पानीजहाजको आवागमनमा लगाएको रोकलाई निरन्तरता दिने बताएको छ।
होर्मुज जलमार्ग अवरुद्ध हुँदा कैयौँ सातादेखि इन्धनको मूल्यमा ठूलो परिवर्तन आएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरेलले आक्रमण गर्न थालेपछि इरानले त्यसको जबाफमा पेट्रोलिअं पदार्थ निर्यात गर्न निकै महत्त्वपूर्ण मानिँदै आएको होर्मुज जलमार्ग प्रयोग गर्ने पानीजहाजहरूमाथि आक्रमण गर्न थाल्यो।
यसै महिनाको सुरुमा पनि तेहरानले होर्मुज जलमार्गतर्फ आउने सबै पानीजहाजलाई निसाना बनाइने चेतावनी दिएको थियो।
त्यसपछि अमेरिकाले इरानका बन्दरगाहबाट आएका वा त्यहाँ जान लागेका पानीजहाजहरूलाई पनि रोक्ने वा फर्काउने घोषणा गरेको थियो।
बीबीसी भेरिफापको एउटा विश्लेषणले इरानी बन्दरगाहबाट 'ट्र्याक गरेका' कम्तीमा चार पानीजहाजले अमेरिकी नाकाबन्दीको क्षेत्र पार गरेको देखाउँछ।
इजरेल र लेबननबीच एप्रिल १७ मा युद्धविराम घोषणा गरिएपछि ब्रेन्ट क्रूडको मूल्य ९० डलर प्रतिब्यारलमा झरेको थियो। अमेरिकाले एप्रिल ८ मा इरानमाथिको आक्रमण आफूले स्थगित गर्ने बताएको थियो। अझै पनि प्रतिब्यारलको मूल्य द्वन्द्व अघिको अवस्थाभन्दा धेरै उच्च छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























