रुसका पूर्व राष्ट्रपतिले के भने जसकारण ट्रम्पले 'परमाणु पनडुब्बी' खटाए

तस्बिर स्रोत, Reuters
- Author, यारोस्लाभ लुकिभ
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् उनले दुईवटा 'परमाणु पनडुब्बी'हरूलाई 'उचित क्षेत्रमा खटाउन' आदेश दिएका छन्।
रुसका पूर्व राष्ट्रपति डिमित्री मेदभेदेभको 'अति उत्तेजक' टिप्पणीको जबाफमा आफूले उक्त आदेश दिएको उनको भनाइ छ।
ट्रम्पका अनुसार "कतै ती शब्द केवल मूर्खतापूर्ण अनि भड्काउने उद्देश्यले निहीत मात्रै नहोलान्" भनेर उक्त कदम चालिएको हो। "शब्दहरू धेरै महत्त्वपूर्ण हुन्छन्। तिनले अक्सर नचाहेको परिणाम ल्याउँछन्। मेरो आशा छ यो घटना त्यस्तो नहोस्।"
उनले ती पनडुब्बी कता खटाइने छन् भनेर भनेका छैनन्। अमेरिकी सैन्य प्रोटोकलले पनि यस्ता कुरा गोप्य नै राख्छन्।
युक्रेनमा युद्धविराम गर्न वा कठोर आर्थिक प्रतिबन्ध बेहोर्न ट्रम्पले दिएको चेतावनीको प्रतिक्रियास्वरूप हालसालै मेदभेदेभले अमेरिकालाई धम्की दिएका थिए।
सबभन्दा धेरै परमाणु अस्त्र

तस्बिर स्रोत, Reuters
रुस र अमेरिकासँग संसारमै सबभन्दा धेरै सङ्ख्यामा परमाणु अस्त्र छन्। दुवै देशसँग परमाणु अस्त्रले सुसज्जित पनडुब्बीहरू छन्।
शुक्रवार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखे: "रुसका पूर्व राष्ट्रपति डिमित्री मेदभेदेभ, जो अहिले रुसी महासङ्घका सुरक्षा परिषदका उपाध्यक्ष छन्, उनले गरेको अति उत्तेजक टिप्पणीपछि मैले दुईवटा परमाणु पनडुब्बीलाई उचित क्षेत्रमा खटाउन आदेश दिएको छु।"
अमेरिकी राष्ट्रपतिले उनले खटाउन आदेश दिएका पनडुब्बीहरू परमाणु अस्त्रले लैस पनडुब्बी हुन् वा परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी हुन् भनेर चाहिँ उक्त पोस्टमा प्रस्ट पारेका छैनन्।
पछि पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भने: "धम्की दिइएको हामीलाई उचित लागेन। त्यसैले मैले धेरै होसियार हुनुपर्छ।"
"मेरा जनताका लागि मैले (होसियारी) हरेक दिन गर्नुपर्छ। रुसका पूर्व राष्ट्रपतिले धम्की दिए। र, हामी हाम्रा मानिसको सुरक्षा गर्नेछौँ।"
यस मामिलामा क्रेमलीनले हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन तर ट्रम्पको टिप्पणीपछि मस्कोको स्टक बजारमा तेज गिरावट आएको थियो।
हालै पनि ट्रम्प र मेदभेदेभले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध शृङ्खलाबद्ध टिप्पणी गरेका थिए।
युद्ध रोक्ने नयाँ समयसीमा
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध समाप्त पार्न अगस्ट ८ को नयाँ समयसीमा दिएपछि पछिल्लो घटनाक्रम विकसित भएको हो। ट्रम्पको समयसीमा मान्नेतर्फ पुटिनले कुनै रुचि देखाएका छैनन्।
यसअघि सोमवार ट्रम्पले १० वा १२ दिनको समयसीमा दिएका थिए। जुलाईमा उनले रुसलाई ५० दिनभित्र युक्रेन युद्ध नरोके उसका तेल तथा अन्य निर्यातलाई निशानामा पार्ने गरी कठोर आर्थिक प्रतिबन्ध लगाइदिने चेतावनी दिएका थिए।

तस्बिर स्रोत, Reuters
सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका मेदभेदेभले यही साता ट्रम्पले रुससँग 'अल्टिमेटम (धम्कीपूर्ण समयसीमा)को खेल खेलेको' आरोप लगाएका थिए।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेभले "प्रत्येक नयाँ अल्टिमेटम धम्की भएको र युद्धतर्फको कदम भएको" उल्लेख गरेका थिए।
ट्रम्पको धम्कीहरूलाई उनले 'नौटङ्की' भन्दै रुसले त्यसलाई 'वास्ता नगर्ने' पनि भनेका थिए।
बिहीवार टेलिग्राममा लेख्दै मेदभेदेभले 'डेड ह्यान्ड'को धम्की पनि दिए – जसलाई कतिपय सैन्य विश्लेषकहरूले रुसले बदलास्वरूप परमाणु अस्त्र प्रहार गर्ने प्रणालीको गुप्तनाम भनेर बुझे।
मेदभेदेभको टिप्पणीप्रति ट्रम्पले जबाफ दिएको शुक्रवार पहिलो पटक भने होइन। बिहीवार उनले मेदभेदेभलाई "रुसका पराजित पूर्व राष्ट्रपति जो अहिले पनि आफूलाई राष्ट्रपति ठान्छन्" भनेका थिए।
उनले मेदभेदेभलाई 'खतरापूर्ण क्षेत्रमा प्रवेश गर्दै गरेको' भन्दै आफ्नो 'बोलीमा लगाम लगाउन' भने।
सन् २०२२ मा थालिएको युक्रेन अतिक्रमणलाई मेदभेदेभको समर्थन छ र उनी पश्चिमा जगत्को एक कटु आलोचक हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








