रुसप्रति प्रेम गर्न युक्रेनी बालबालिकालाई बाध्य पार्ने एउटा अभियान

निसानेबाजीको अभ्यास गरिराखेका किशोरीहरू

तस्बिर स्रोत, Yunarmia branch of the Zaporizhzhya region

तस्बिरको क्याप्शन, रुसको युवा सैन्य संस्था युनार्मिआ अहिले जापोरिजासहितका युक्रेनका नियन्त्रित क्षेत्रमा क्रियाशील छ जहाँ यी किशोरीहरू बस्छन्
    • Author, भिताली सेभचेङ्को
    • Role, रसियन सम्पादक, बीबीसी मनिटरिङ

पूर्वी युक्रेनस्थित रुस नियन्त्रित क्षेत्रका बालबालिकालाई सानै उमेरबाट रुसलाई प्रेम गर्न सिकाइन्छ।

लुहान्स्कस्थित एउटा नर्सरी विद्यालयमा ७० जना भन्दा धेरै बालबालिका कालो र सुन्तले रङ्गको रुसी सेनाको तुल बोकेर अङ्ग्रेजी वर्णमालाको 'जेड' आकारमा लामबद्ध भएका छन्। उक्त आकारले युक्रेनमाथि रुसको आक्रमणलाई जनाउँछ।

सहरमा सातजना ससाना बालिकाहरू रुसी झन्डाअघि 'आई एम रसियन' अर्थात् म रुसी हुँ भन्ने चर्को आवाजमा घन्काइने गीतमा हाउभाउसहित प्रस्तुत हुन्छन्। गीत बन्द भएसँगै उनीहरू एकैसाथ "म रुसी हुँ" भनेर कराउँछन्।

एन्थ्रासाइट भनेर चिनिने एउटा नियन्त्रित नगरमा नर्सरी पढ्ने शिशुहरूले रुसी सैनिकहरूका निम्ति घरबना मैनबत्ती र ब्ल्याङ्केटहरू बनाएका छन्।

युक्रेनी राष्ट्रियतालाई मेटाउनु मात्रै होइन, त्यहाँका युवाहरूलाई उनकै देशविरुद्ध जान प्रोत्साहित गर्नु पनि यो अभियानको एउटा हिस्सा हो।

केटाकेटीलाई त्यसो गराउन शिक्षकहरूको खाँचो पर्छ तर धेरै युक्रेनी शिक्षकहरू त्यहाँबाट भागिसकेका छन्। त्यसैले मस्कोको सरकारले युक्रेनका नियन्त्रित क्षेत्रमा सरुवा हुन चाहने रुसी शिक्षकहरूलाई एकमुस्ट १८,५०० पाउन्ड दिने प्रस्ताव गर्न थालेको छ।

केटाकेटीहरूलाई प्रभावित गर्न त्यहाँ खटिएको सबैभन्दा ठूलो र शक्तिशाली सङ्गठन भनेको युनार्मिआ (युवा सेना) हो।

रुसी रक्षा मन्त्रालयसम्बद्ध उक्त सङ्गठनले आठ वर्ष देखिका बालबालिकालाई सदस्यका रूपमा स्वीकार्छ।

"हामी उनीहरूलाई केही आधारभूत कौशल सिकाउँछौँ जुन सैन्य सेवामा सामेल हुने निर्णय लिनुपर्दा उनीहरूले उपयोगी ठान्नेछन्," दक्षिणपूर्वी युक्रेनको जापोरिजा क्षेत्रमा युनार्मिआको शाखा सञ्चालन गर्दै आएका फिडेल बिक्बुलातोभले भन्छन्।

उनलाई रुसको बश्कोर्तोस्तानबाट त्यहाँ तैनाथ गरिएको हो जहाँ उनी सत्तारुढ संयुक्त रसियन पार्टीको "युथ गार्ड"को नेतृत्व गर्थे।

निसानेबाजीको तालिममा युवाहरू

तस्बिर स्रोत, Yunarmia branch of the Zaporizhzhya region

तस्बिरको क्याप्शन, युक्रेनी बालबालिकालाई "दिग्भ्रमित तुल्याएको" र "सैनिकीकरण" गराएकोमा यूके र युरोपेली सङ्घले युनार्मिआमाथि प्रतिबन्ध लगाएका छन्

युरोपेली सङ्घले "युक्रेनी बालबालिकाको सैनिकीकरण"का निम्ति युनार्मिआ र व्यक्तिगत रूपमा बिक्बुलातोभमाथि प्रतिबन्ध लगाएको छ। त्यस्तै युक्रेनी बालबालिकालाई "ब्रेनवासिङ" अर्थात् दिग्भ्रमित तुल्याउने रुसी अभियानको हिस्सा भएकोमा युनार्मिआ यूकेको समेत प्रतिबन्धमा परेको छ।

यस्तो गर्नेमा युनार्मिआ मात्रै छैन।

"मुभमेन्ट अफ द फर्स्ट वन्स" र "वारिअर" जस्ता युवाहरूलाई सैन्य र खेलकुदको तालिम तथा देशभक्तिको शिक्षा दिने केन्द्रका राज्यद्वारा प्रायोजित सञ्जालहरू पनि देखा परेका छन् जुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा खडा गरिएका हुन्।

यी समूहहरूले सोभियतकालिन 'जारनित्स' जस्ता खेलका प्रतियोगिताहरूको आयोजना गर्छन् जसमा युक्रेनी बालबालिकाहरूले "सामान्य सैन्य ज्ञान, रुस तथा यसको सैन्य इतिहास र हतियार चलाउने कौशल" प्रदर्शन गर्नुपर्छ।

उक्त शिक्षा प्रणालीमा अघि बढेसँगै केटाकेटीहरूलाई पढाउन रुसी भाषाका पाठ्यक्रम र पाठ्यपुस्तकहरूको उपयोग गरिन्छ जसले युक्रेनविरुद्धको रुसी युद्धलाई उचित ठहर्‍याउँछ।

तिनैमध्येको एउटा पुस्तकमा युक्रेन रुसलाई क्षति पुर्‍याउन पश्चिमाहरूद्वारा गरिएको आविष्कार बाहेक केही नभएको र सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण नगरेको भए मानव सभ्यता नै समाप्त हुन सक्थ्यो भन्ने किसिमको चित्रण छ।

नियन्त्रित डोनेत्स्क क्षेत्रको एउटा विद्यालय गएकी लिसाले रुस र युएसएसआरको उत्सव मनाउने कार्यक्रमहरूमा विद्यार्थीहरूलाई भाग लिन बाध्य गरिएको स्मरण गरिन्।

"उनीहरूले कुनै किसिमको परेडको तयारी गरिरहँदा म र हाम्रो सिङ्गो कक्षालाई पूरै वर्षभरि हरेक सप्ताहान्तमा त्यहाँ उपस्थित भएर प्रशिक्षण लिन बाध्य तुल्याइन्थ्यो। हामीले पोस्टर समात्नु पर्थ्यो। म समात्दिनँ भन्न सक्दिनथेँ तर त्यो मेरो रोजाइ थिएन। मलाई स्नातक नहुँदासम्म त्यसो गर्नुपर्छ भनिएको थियो," उनले भनिन्।

"प्रत्येक पटक प्रशिक्षण सुरु भएपछि हाम्री शिक्षिकाले हामीलाई उठाउँथिन्, छातीमा हात राख्न लगाएर रुसी राष्ट्रिय गान सुनाउँथिन् र कण्ठ समेत पार्न लगाउँथिन्।"

हाल अमेरिकामा बसोबास गर्दै आएकी लिसाले आफ्ना अनुभव टिकटकमा पोस्ट गरिरहेकी हुन्छिन्।

मस्कोमा युनार्मिआको पोसाक पहिरिएका बालबालिकाहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हजारौँ युक्रेनी बालबालिकालाई रुसको भ्रमणमा लगिएको छ र तीमध्ये कैयौँ फर्किएका छैनन्

उक्त विचारधारालाई बढवा दिन रुसी सेनामा सेवारत सैनिकहरूले पनि भूमिका खेल्छन्। विद्यालयमा पुगेर उनीहरूले कथित "बहादुरीको पाठ" पढाउँछन्। आफ्ना युद्ध गतिविधिलाई बढाइचढाइ गर्नुका साथै युक्रेनी सेनालाई हिंस्रक र अनुशासनहीन "नयाँ नाजीको"का रूपमा चित्रण गर्छन्।

खेअरसन क्षेत्रको नियन्त्रित हिस्साका सत्तारुढ एकीकृत रुसी पार्टीका एक जना अधिकारी पाभेल त्रोप्किन क्रेम्लिनले "विशेष सैन्य कारबाही" भन्ने गरेको अभियानको उद्देश्यहरूबारे केटाकेटीहरूलाई बुझाउन त्यस्ता प्रशिक्षणहरू सञ्चालन गर्ने गरिएको बताउँछन्।

युक्रेनी बालबालिकाहरूलाई रुस तथा उसको "विशेष सैन्य कारबाही"को महिमामण्डन हुने गरी आयोजित विशेष प्रदर्शनी देखाउन विद्यालयबाहिर लगिन्छ।

त्यस्तो भ्रमणका निम्ति जापोरिजा क्षेत्रको एउटा केन्द्रले "रुस– मेरो इतिहास" र "विशेष सैन्य कारबाहीका नायकहरू" नामक प्रदर्शनीहरूको आयोजना गर्दैछ।

उक्त भ्रमण त्यहीँ रोकिँदैन।

क्रेम्लिनले युक्रेनी बालबालिकामा रुस समर्थित भावना जगाउन रुस भ्रमण गराउने एउटा ठूलो अभियान समेत सञ्चालनमा ल्याएको छ।

रुसी संस्कृतिमन्त्री ओल्गा ल्यूबिमोभा "फोर प्लस एटी फाइभ" नामको एउटै कार्यक्रम अन्तर्गत मात्रै नियन्त्रित युक्रेनी क्षेत्रका २० हजारभन्दा धेरै बालबालिकालाई रुस लगिएको दाबी गर्छिन्।

उक्त कार्यक्रम सञ्चालन गर्ने रुसी निकाय 'रोसकन्सर्ट'का अनुसार उक्त कार्यक्रमले "नयाँ पुस्तालाई एकीकृत रुसी समाजमा एकाकार गराउने उद्देश्य राख्छ।"

"एकाकार गराउने" रुसको उक्त अभियान त्यहाँसम्म मात्रै सीमित छैन।

युक्रेनमाथी आक्रमण थालेयता रुस लगिएका हजारौँ युक्रेनी बालबालिकाहरूलाई फर्किने अनुमति दिइएको छैन।

युक्रेन सरकारका अनुसार १९,००० जनाभन्दा धेरै युक्रेनी बालबालिकाहरूलाई जबर्जस्ती रुस पठाइएको छ। यूके सरकारको अनुमानमा झन्डै ६,००० बालबालिकालाई रुसस्थित "पुनर्शिक्षा शिविर"को एउटा सञ्जालमा स्थानान्तरित गरिएको छ।

अन्तर्राष्ट्रिय मानवीय कानुनले यस प्रकारका गतिविधि गर्न रोक लगाएको छ। उदाहरणका निम्ति चौँथो जिनिभा महासन्धिले नियन्त्रणकारी शक्तिले "आफ्नो समूह, सङ्गठन वा त्यसका इकाइहरूमा" बालबालिकाहरूलाई सामेल गर्न नहुने र कब्जा गरिएका क्षेत्रका स्थानीयलाई आफ्नो सैन्य वा सहायक बलहरूमा जोडिन "दबाव दिने वा प्रचार गर्न नमिल्ने" भनिएको छ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले बालबालिकालाई गैरकानुनी रूपमा अन्यत्र लगिएको कार्यका निम्ति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पुटिन र उनको सरकारले उक्त आरोपलाई अस्वीकार गरे।

युक्रेनविरुद्धको युद्धमा रुसले केवल भूमि मात्रै चाहेको छैन, बालबालिकासहित त्यहाँ बस्ने मानिसहरूमा आफ्नो छापसमेत छाड्न चाहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।