सुरक्षित स्थानमा पुर्‍याइए सगरमाथाको तिब्बततर्फको क्षेत्रको हिमपातमा फसेका पदयात्री

एक पदयात्रीलाई सहारा दिँदै सुरक्षित स्थानमा सार्दै गरेका उद्धारकर्मीहरू

तस्बिर स्रोत, Reuters

    • Author, स्टेफन म्याकडोनल
    • Role, चीन संवाददाता
    • Author, युअन ओ'बर्न मुलइगन

प्रतिकूल मौसमका कारण सगरमाथा नजिक फस्न पुगेका ५८० जना पदयात्रीलाई उद्धार गरी तिब्बतस्थित सुरक्षित स्थानमा पुर्‍याइएको चीनका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सीसीटीभीको मङ्गलवारको विवरणअनुसार तीन सय स्थानीय पथप्रदर्शक, केही चौँरीको रेखदेख गर्ने मानिसहरू र अन्य सहयोगीहरूसँगै ती पदयात्रीहरूलाई तिब्बतको सानो नगर वोदाङ र आसपासका सुरक्षित क्षेत्रमा पुर्‍याइएको हो।

उद्धारकर्मीसहित लगभग १० जना पदयात्रीसहितको अन्तिम समूह अझै वोदाङ पुग्न सकेको छैन तर उनीहरू अक्सिजनसहितका आपत्कालीन आपूर्ति व्यवस्था भएको स्थानमा पुगिसकेका ती विवरणमा जनाइएको छ।

सप्ताहान्तमा सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर जाने बाटोमा भीषण हिमपात भएपछि ती पर्यटकहरू अलपत्र परेका थिए। सो क्षेत्र समुद्र सतहदेखि करिब ४,९०० मिटरभन्दा माथि रहेको जनाइएको छ।

चीनमा आठ दिने राष्ट्रिय बिदा सुरु भएसँगै उक्त घटना भएको हो। यो अवधिमा चीनमा विशेष पर्यटकीय चहलपहल हुने गर्छ।

प्राय: मौसम सामान्य र आकाश सफा रहने भएकाले अक्टोबर महिनालाई सगरमाथा र आसपासका क्षेत्रमा जाने वर्षको उत्तममध्येको समय मानिन्छ।

त्यसैले सयौँ पदयात्रीहरू तिब्बतको कर्मा उपत्यकातर्फ निस्किएका थिए। उक्त कम परिचित तर मनोरम रूटबाट सर्वोच्च शिखर सगरमाथा पनि देख्न सकिन्छ।

तर शुक्रवारदेखि सुरु भएको हिमपात तीव्र बन्न जाँदा पदयात्री र पथप्रदर्शकहरूले प्रतिकूल स्थितिको सामना गर्नुपर्‍यो।

दर्जनौँपटक उक्त हिमाली क्षेत्रको भ्रमण गरेका एक पदयात्रीले बीबीसीसँग आफूले यसअघि "त्यस्तो मौसमको कहिल्यै अनुभव नगरेको" बताए।

सत्ताइस वर्षका दोङ शुचाङले २० जनाको आफ्नो समूहका केही व्यक्तिमा 'हाइपोथर्मिया' (शरीरको तापमान कम हुने) को लक्षण देखिएको बताए।

दोङकै समुहको सदस्य चेन गेशुआङले आफूहरूले आइतवार पदयात्रा थाल्दा उक्त स्थानमा एक मिटर गहिरो हिउँ रहेको बताइन्।

"हामीहरू सबै अनुभवी पदयात्री हौँ," उनले भनिन्, "तथापि त्यो भीषण हिमपातबाट निस्कन अत्यन्तै कठिन थियो। म भाग्यले निस्किन सकेँ।"

उद्धारकार्यमा प्रहरी, अग्निनियन्त्रक र सयौँको सङ्ख्यामा स्थानीय तिब्बती स्वयंसेवकहरू खटाइएका थिए।

बीबीसीसँग कुरा गर्दै अर्की महिलाले आफ्ना पति हिउँमा पुरिने डरले पालमा मुस्किलले सुत्न सकेको बताइन्।

इरिक वेनले समाचारसंस्था रोएटर्ससँग बताएअनुसार प्रशस्त कपडा लगाए पनि उनका समूहका तीन जना 'हाइपोथर्मिया'को समस्यामा परेको थिए।

भीषण हिमपात र हरेक दस मिनेटमा हिउँ पन्छाउन परेकाले उनीहरू मुस्किलले सुत्न पाए।

"अन्यथा हाम्रो पाल लड्थ्यो," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।