चेतावनी दिएको भए लिबियामा बाढीका कारण मारिनेको सङ्ख्या घटाउन सकिन्थ्योः राष्ट्र सङ्घ

लिबियामा बाढीले पुर्याएको क्षति

तस्बिर स्रोत, Reuters

संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनको अध्यक्षले भनेको छन् लिबियामा आएको बाढीबाट ज्यान गुमाएकाहरू मध्ये धेरैलाई जोगाउन सकिने अवस्था रहेको थियो।

ति प्रमुख पेटेरी टालसले पत्रकारहरूसँग कुरा गर्दै उक्त देशले बेलैमा बाढी सम्बन्धी चेतावनी सन्देश जारी गर्न सक्थ्यो।

" आपतकालिन विपद व्यवस्थापन सैन्यले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान सक्ने थिए र धेरैजसोको ज्यान जोगाउन सकिने थियो," उनलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएको छ।

लिबियामा दुई थरी सरकार सक्रिय छ जुन अवस्थाले विपदप्रति तत्काल र संयोजित प्रतिक्रिया जनाउने कार्यलाई गाह्रो बनाएको छ।

विनाशकारी बाढी निम्त्याएको समुद्री आँधी लिबिया तर्फअघि बढ्दै गर्दा त्यहाँका दुवै सरकारहरूले बेग्लाबेग्लै सावधानीका उपायको घोषणा गरेका थिए।

यसैबीच विनाशकारी बाढीबाट प्रभावित लिबियामा दुई अलग क्षेत्रमा अवस्थित प्रतिद्वन्द्वी सरकारहरूले पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर डेर्नामा दुईवटा बाँध भत्किएर आएको विनाशकारी बाढीमा ५,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

कम्तीमा १०,००० जना हराइरहेको बताइएको छ र अन्य दशौँ हजार विस्थापित भएका छन्।

डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या १८,००० देखि २०,००० सम्म पुग्न सक्ने अनुमान गरेका छन्।

डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ।

इजिप्टबाट पठाइएको राहत सामग्री

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजिप्टले लिबियामा मानवीय सहायता सामग्री पठाएको छ

डेर्नाको अवस्थालाई भूकम्प आएपछिको अवस्थासँग तुलना गरिएको छ।

बीबीसी रेडिओ फोरनको वर्ल्ड टुनाइट कार्यक्रमसँग कुरा गर्दै टर्किश रेड क्रेसन्टका सहायक निर्देशक इब्राहिम ओजरले त्यहाँ भएको क्षति भूकम्पका कारण भएको जस्तो देखिएको बताए।

"मैले बाढी, डढेलो र भूकम्पसहित धेरै विपद् देखेको छु तर यो निकै फरक छ," उनले भने।

"आँधीले सहरलाई निकै नराम्ररी प्रहार गर्‍यो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाँध र पुल भत्किँदा डेर्ना सहरमा ठूलो विध्वंस

सहयोगको आह्वान

संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार देशको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन्वय गरिरहेका छन्।

“दुवै सरकारहरूले सहयोगको अनुरोध गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सम्पर्क गरेका छन्,” अन्तर्राष्ट्रिय आप्रवसन सङ्गठनका तौहिद पाशाले बीबीसी रेडिओ फोरको वर्ल्ड टुनाइट कार्यक्रममा बताएका छन्।

“अबको चुनौती भनेको ती सरकारहरूको आवश्यकता र आग्रहबमोजिम अन्तर्राष्ट्रिय समुदायले कसरी प्रतिक्रिया जनाउने भन्ने हो,” उनले भने।

तौहिद पाशाका अनसुार त्यहाँ प्रदान गरिनुपर्ने सहयोगको स्तरलाई अब छिटो बढाउनुपर्ने छ र त्यसका लागि पैसा आवश्यक हुन्छ।

जेनरल हफ्तार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजिप्टका सेनाप्रमुख सँग जेनरल खलिफा हफ्तार

'विभाजित देश'

लामो समयसम्म सत्तामा रहेका कर्नेल मुअम्मर गद्दाफीको शासनको सन् २०११ मा पतन भएयता लिबिया दुईवटा परस्पर विरोधी सरकारहरूबीचमा बाँडिएको छ र विभिन्न लडाकु समूहहरूबीच जारी द्वन्द्वको चपेटामा परेको छ।

प्रधानमन्त्री अब्दुल हमिद ड्बेइबाले लिबियाको पश्चिमी राजधानी सहर त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यताप्राप्त राष्ट्रिय एकताको सरकारको नेतृत्व गर्छन्।

पूर्वी क्षेत्रका प्रधानमन्त्री ओसामा हमादले प्रतिनिधिसभा भनिने विपक्षी प्रशासनको नेतृत्व गर्छन्। तर धेरैको विश्वासमा त्यहाँको वास्तविक शक्ति सैन्य नेता जेनरल खलिफा हफ्तारको हातमा छ। हफ्तारले लिबियाली राष्ट्रिय सेनाको नेतृत्व गर्छन्।

विपद्‌ग्रस्त क्षेत्रमा राहत र सहायता प्रदान गर्न पुगेको इजिप्टको सैन्य टोलीलाई जेनरल हफ्तारले स्वागत गरेका थिए।

लिबियाको नक्सा
डेर्ना सहरको नक्सा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।