भेनेजुएलासँग सम्बन्धित तेस्रो तेल ट्याङ्करलाई कार्वाहीको निम्ति पछ्याउँदै अमेरिका

पानीजहाजको माथि उडिरहेको हेलिकप्टर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले शनिवार भेनेजुएलाको समुद्री तटमा अर्को तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ
    • Author, सहर असफ

अमेरिकी कोस्ट गार्डले भेनेजुएला नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा तनाव चर्कँदै जाँदा अर्को पानीजहाजलाई "सक्रिय रूपमा पछ्याइरहेको" छ।

अमेरिकी अधिकारीहरूले यसै महिना दुई वटा तेल ट्याङ्कर पानीजहाज नियन्त्रणमा लिइसकेका छन्। ती मध्ये एउटा गत शनिवार नियन्त्रणमा लिइएको हो।

आइतवार पछ्याइएको पानी जहाज "भेनेजुएलामाथिको गैरकानुनी प्रतिबन्ध छल्ने एक हिस्सा अन्तर्गत रहेको" एक अमेरिकी अधिकारीले बताएका छन्।

"उसले नक्कली झन्डा फहराइरहेको छ र त्यो जफत गर्ने न्यायिक आदेश अन्तर्गत पर्दछ।"

वाशिङ्टनले भेनेजुएलाले तेलबाट प्राप्त आम्दानी लागु औषध सम्बन्धी अपराधका लागि प्रयोग गरेको आरोप लगाएको छ भने भेनेजुएलाले ट्याङ्कर नियन्त्रणमा लिने कामलाई "चोरी र अपहरण" भनेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता प्रतिबन्धित तेल ट्याङ्करहरूलाई भेनेजुएला भित्रिन र बाहिरिनमा "प्रतिबन्ध लगाउन" आदेश दिएका थिए।

विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको भेनेजुएलाले ट्रम्प प्रशासनले आफ्ना स्रोतहरू चोर्न खोजेको आरोप लगाएको छ।

अमेरिकी अधिकारीहरूले आइतवारको धरपकड प्रयासबारे आधिकारिक रूपमा पुष्टि गरेका छैनन् र ट्याङ्करको नाम र सही अवस्थिति अहिलेसम्म थाहा हुनसकेको छैन।

ट्याङ्कर ट्र्याकर्स डट कमले सङ्कलन गरेको तथ्याङ्क अनुसार गत सातासम्म भेनेजुएलाको जल क्षेत्रमा रहेका ८० मध्ये ३० भन्दा बढी पानीजहाज अमेरिकी प्रतिबन्धमा परेका छन्।

शनिवार कब्जा गरिएको घटनामा पनामाको झन्डा भएको र अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको ट्याङ्करमा एक विशेष टोली प्रवेश गरेको थियो।

त्यो पानीजहाज अमेरिकी ट्रेजरीको प्रतिबन्धित पानीजहाजहरूको सूचीमा छैन। तर अमेरिकाले उक्त पानीजहाजले "प्रतिबन्धित पीडीभीएसए तेल" बोकिरहेको जनाएको छ। बीबीसी भेरिफाइले हेरेको रेकर्ड अनुसार विगत पाँच वर्षमा सो पानीजहाजले ग्रीस र लाइबेरियाको झन्डामुनि पनि यात्रा गरेको थियो।

"यी गतिविधिलाई विना सजाय त्यत्तिकै छाडिने छैन," शनिवारको घटनाको जवाफमा भेनेजुएला सरकारले भनेको छ। उसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र "अन्य बहुपक्षीय निकायहरू र विश्वका सरकारहरूमा" उजुरी दर्ता गर्न चाहेको पनि बताएको छ।

भेनेजुएला आफ्ना सरकारी खर्चका लागि तेल निर्यातहरूबाट हुने राजस्वमा अत्यधिक निर्भर रहेको छ।

हालैका साताहरूमा अमेरिकाले क्यारेबिअन सागरमा आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ र भेनेजुएलाको लागु औषध तस्करी गर्ने भन्ने आरोप लागेका डुङ्गाहरूमा घातक आक्रमण गरेको छ। त्यसमा लगभग १०० जनाको ज्यान गएको छ।

प्रतिबन्धहरू राष्ट्रपति निकोलास मदुरोका आफन्त र अमेरिकाले उनको अवैध शासनसँग सम्बन्धित भन्ने गरेको व्यवसायहरूमाथि पनि लगाइएको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रवार पत्रकारहरूलाई भने: "भेनेजुएलाको अहिलेको शासनको यथास्थिति अमेरिकाका लागि सह्य नरहेको स्पष्ट छ।"

उनले ट्रम्प प्रशासनको उद्देश्य त्यसलाई परिवर्तन गर्नु रहेको बताए।

उनको टिप्पणीको भेनेजुएलाका विदेशमन्त्रीले आलोचना गरेका छन् जसले अमेरिकालाई "शासन परिवर्तन" को बाटोमा जबर्जस्ती अघि बढेको आरोप लगाएका थिए।

ती पानी जहाजहरूले लागु औषध बोकेका थिए भन्ने कुनै सार्वजनिक प्रमाण दिइएको छैन र त्यस्ता हमलालाई लिएर सेनामाथि संसद्को निगरानी बढ्दो छ।

ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आतङ्कवादी सङ्गठन कार्टेल ड लोस् सोलेस् सञ्चालन गरिरहेको आरोप लगाएको छ जसलाई मदुरोले अस्वीकार गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।