रवि लामिछाने पुन: प्रहरी हिरासतमा

तस्बिर स्रोत, RSS
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाण्डू जिल्ला अदालतले आइतवार बयान लिएको छ।
बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको अधिकारीहरूले बताएका छन्।
काठमाण्डू जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बीबीसीसँग भने, "थुनछेक बहस नसकिएकाले त्यो कायम हुँदासम्मका लागि प्रहरी हिरासतमा पठाउनु भन्ने न्ययाधीशज्यूको आदेश बमोजिम उहाँलाई प्रहरीकहाँ पठाइएको छ।"
उनका अनुसार सोमवार लामिछानेलाई फेरि अदालतमा उपस्थित गराइने छ र थुनछेक बहसले निरन्तरता पाउने छ।
थुनछेक बहस सकिएपछि न्यायाधीशले उनलाई थुनामा राखेर मुद्दा अघि बढाउनु पर्ने वा बाहिरै राखेर पनि मुद्दा अघि बढाउन सकिने भन्ने निर्णय गर्ने छन्।
आइतवार बिहानै अदालतमा उपस्थित भएका लामिछानेको बयान लिइएको थियो तर उनको थुनछेक बहस भने सुरु हुन नपाएको शर्माले बताए।
"आज थुनछेक बहस नै हुन सकेन अब भोलिबाट सुरु हुन्छ," आइतवार साँझ बीबीसीसँग उनले भने।
कास्की जिल्ला अदालतले ६५ लाख धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि गत बिहीवार हिरासतमुक्त भएका लामिछाने आइतवार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका थिए।
कास्कीमा लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छन्।
उनलाई धरौटी बुझाएर पुर्पक्षका लागि साधारण तारेखमा राख्न आदेश दिँदै कास्की जिल्ला अदालतले "…प्रतिवादी अहिले नै कसूरदार रहेनछन् भन्ने मनासिब आधार.." नदेखिएको जनाएको थियो।

काठमाण्डूको मुद्दा कस्तो?
काठमाण्डूमा भने उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेका छन्।
सरकारी वकिलको कार्यालयले गत साता लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरी बचतकर्ताको रकम ठगी गरेको र त्यो कार्य सङ्गठित रूपमा भएको भन्दै मुद्दा दर्ता गराएको हो।
उनीहरूविरुद्ध कुल एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ सहकारी सदस्यहरूको बचत रकम अपचलन गरेको आरोप लागेको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाका मामिलामा दायर अभियोगपत्रमा कास्कीमा जस्तो लामिछानेसहित प्रतिवादीहरूलाई सम्पत्ती शुद्धीकरण मामिलामा भने कारबाही मागदाबी गरिएको छैन।

काठमाण्डूमा सम्पत्ती शुद्धीकरण मुद्दा किन लगाइएन?
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार एक स्थानमा सबैतिरको बिगो कायम गरी सम्पत्ति शुद्धीकरण मुद्दा चलाएपछि सोही स्थानबाट मात्र त्यसलाई अघि बढाउने गरिन्छ।
त्यसैले गर्दा काठमाण्डूमा सहकारी ठगी र सङ्गठित अपराधका मामिलामा मात्र लामिछानेविरुद्ध अभियोगपत्र दायर गरिएको अधिकारीहरूले बताए।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा दायर अभियोगपत्रमा पनि सोही विषय उल्लेख गर्दै दुवैतिर मुद्दा चलाउँदा "दोहोरो पर्ने भएकाले" त्यस्तो मागदाबी नगरिएको उल्लेख छ।
त्यसमा भनिएको छ, "…सम्पत्ति शुद्दीकरण सम्बन्धमा गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक एवम् कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राई, संस्थापक सञ्चालक छविलाल जोशी, शेअरधनी एवम् प्रबन्ध निर्देशक रवि लामिछानेको हकमा बिगो कायम गरी जिल्ला सरकारी वकिल कार्यालय कास्कीको अभियोगपत्र मिति २०८१।९।७ गते कास्की जिल्ला अदालतमा दर्ता भएको हुँदा निज प्रतिवादीहरूको सम्बन्धमा यस कार्यालयमा अनुसन्धान हुँदै रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन भई गएको गोर्खा मिडिया नेटवर्क प्रालिसहित अन्य विभिन्न ८ वटा कम्पनीहरूले धारण गरेको सम्बन्धमा समेत बिगो कायम गरि सकिएको हुँदा यस कार्यालयबाट निजहरूको हकमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्दा दोहोरो पर्ने भएकाले निजहरूको हकमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट अभियोजन भएको मुद्दाको अभियोग पत्रलाई आधार मानी अनुसन्धान हुनसमेत अनुरोध गरिएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीको … पत्र यस मिसिलमा रहेकोले निजहरूको सम्बन्धमा सम्पत्ति शुद्धिकरण सम्बन्धमा कुनै दाबी लिएको छैन।"

तस्बिर स्रोत, RSS
अन्य जिल्लामा के हुँदैछ?
सहकारी समस्याबारे छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेपछि उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान सुरु भएको थियो।
अधिकारीहरूका अनुसार लामिछानेमाथि कास्की र काठमाण्डूबाहेक रुपन्देही, चितवन पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान जारी छ।
कास्कीबाट हिरासतमुक्त भए पनि लामिछानेलाई अरू जिल्ला अदालतहरूले हिरासतमा राख्न आदेश दिन सक्ने कानुनका जानकारहरूले बताएका छन्।

तस्बिर स्रोत, Surya Thapa/FB
पर्सा, चितवन र रुपन्देहीका अनुसन्धान अधिकारीहरूले ती जिल्लाहरूमा पनि लामिछानेविरुद्ध चाँडै अभियोगपत्रहरू दर्ता हुने बताएका छन्।
रूपन्देहीकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले गत शुक्रवार बुटवलको सूप्रीम सहकारी संस्थाको बचत अपचलनबारे लामिछानेमाथि जारी अनुसन्धान अन्तिम चरणमा रहेका कारण छिट्टै मुद्दा दर्ता बतएकी थिइन्।
उनले बीबीसीसँग भनेकी थिइन्, "अनुसन्धान प्रतिवेदन तयार हुँदै छ। अब केही दिनमै मुद्दा लैजाने तयारी भइरहेको छ।"
सोही दिन रवि लामिछानेका वकिल सुशील पन्तले आइतवार नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी गरिएको बताएका थिए।
त्यसो गर्न सक्दा अदालतले आइतवार नै उनलाई थुनामा राखेर मुद्दा टुङ्गो लगाउने वा बाहिर रहेर मुद्दा लड्न दिनेमध्ये एउटा निर्णय लिने लामिछानेका कानुन व्यवसायीहरूको अपेक्षा थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








