थाईल्यान्डसँग तत्काल युद्धविराम गर्न क्याम्बोडियाको प्रस्ताव

तस्बिर स्रोत, AFP via Getty Images
- Author, यरोस्लाभ लुकिभ
- Role, बीबीसी न्यूज
थाईल्यान्ड र क्याम्बोडिया सीमामा तेस्रो दिन पनि सङ्घर्ष जारी रहँदा क्याम्बोडियाले तत्काल युद्धविरामको प्रस्ताव गरेको छ।
संयुक्त राष्ट्रसङ्घका लागि क्याम्बोडियाका राजदूत कायो चिअले सुरक्षा परिषद्मा आफ्नो देशले "निसर्त" युद्धविरामका लागि आग्रह गरेको बताएका छन्। उनले नोम पेनले "विवादको शान्तिपूर्ण समाधान" चाहेको बताएका छन्।
थाईल्यान्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ। यद्यपि सङ्घर्षविरामको प्रस्तावबारे थाईल्यान्डले सार्वजनिक प्रतिक्रिया जनाएको छैन।
यसअघि थाईल्यान्डले क्याम्बोडियासँग सीमा जोडिएका आठ वटा जिल्लामा सैनिक शासन लागु गरेको थियो।
थाई सेनाले क्याम्बोडियाले दक्षिणी तटीय क्षेत्र नजिकैको नयाँ भूभागमा आक्रमण गरेको बताएको छ। आफ्नो देशको जल सेनाले उनीहरूलाई त्यहाँबाट पछि हटाएको थाई सेनाको दाबी छ।

तस्बिर स्रोत, EPA/Shutterstock
दक्षिण पूर्वी एशियाका दुई छिमेकी देशहरूबीच बिहीवारयता जारी द्वन्द्वमा ३२ जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। सीमा विवाद एक्कासि चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन्। द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन्।
थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले दुई पक्षबीच जारी झडपहरूले युद्धको रूप लिन सक्ने चेतावनी शुक्रवार दिएका थिए।
उनका अनुसार दुई पक्षबीच विभिन्न १२ स्थानमा सङ्घर्ष चलिरहेको छ र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएका छन्।
थाईल्यान्डले क्याम्बोडियाली पक्षले गैरसैनिक क्षेत्रहरूमा गोली प्रहार गरेको आरोप लगाउँदै सीमापारिबाट प्रहार गरिने रकेट पुग्न सक्ने सबै गाउँहरू खाली गरिएको बताएको छ।
क्याम्बोडियाले थाईल्यान्डलाई 'क्लस्टर म्यूनिशन' प्रहार गरेको आरोप लगाएको छ। सर्वसाधारण मानिसलाई नराम्रो असर पुग्ने भएकाले विश्वका अधिकांश भागमा 'क्लस्टर म्यूनिशन'मा प्रतिबन्ध लगाइएको छ।
यसैबीच थाईल्यान्डका विदेश मन्त्रीले समाचार संस्था रोएटर्ससँग क्याम्बोडियासँगको द्वन्द्वमा तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको बताएका छन्। विश्व नेताहरूले क्याम्बोडिया र थाईल्यान्डबीच तत्काल सङ्घर्षविरामका लागि अपिल गरिरहेका छन्।
दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन 'आशियान'को अध्यक्षता गर्ने मलेशियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ताका लागि मध्यस्थता गर्ने बताएका थिए।
दुवै पक्षतर्फ भएका क्षति

तस्बिर स्रोत, Reuters
थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको छ।
क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर-हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो।
दुई देशबीच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ। फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो।
त्यसयता दुई देशका सैनिकहरूबीच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ। दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्।
गत मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई पक्षबीच तनाव चुलियो र एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध तल्लो बिन्दुमा पुगेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








