अहिले 'दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने हाम्रो कुनै चाहना छैन': किम यो जङ

लाउडस्पीकरबाट प्रोपगान्डा सन्देशहरू प्रसारण गरिने गरेको बताइन्छ

तस्बिर स्रोत, Getty Images

उत्तर कोरियाका नेता किम जङ अनकी बहिनीले प्रोपगान्डा गर्ने लाउडस्पीकरहरू सीमा क्षेत्रबाट प्योङयाङले हटाएको भन्ने दक्षिण कोरियाको दाबी अस्वीकार गरेकी छन्।

"उत्तर कोरियाले त्यस्ता लाउडस्पीकरहरू कहिल्यै हटाएको छैन र हटाउन चाहेको छैन," सरकारी सञ्चारमाध्यम केसीएनएले बिहीवार प्रकाशित गरेको किम यो जङको एउटा वक्तव्यमा उल्लेख छ।

"हामीले विभिन्न अवसरमा यो कुरा प्रस्ट पारेका छौँ कि [दक्षिण कोरियासँग] सम्बन्ध सुधार्ने हाम्रो कुनै चाहना छैन," उनले भनेकी छन्।

उत्तर कोरियाको यो अडान "भविष्यमा संविधानमै उल्लेख गरिने" पनि उनले बताएकी छन्।

'निराधार र भ्रामक'

यसै साताको शुरूतिर दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्ना केही प्रोपगान्डा लाउडस्पीकरहरू सीमा क्षेत्रबाट हटाएको बताएको थियो। त्यसको केही दिनअघि दक्षिण कोरियाले आफ्ना प्रोपगान्डा लाउडस्पीकरहरू हटाएको थियो।

उत्तर कोरियाको प्रोपगान्डा विभागकी उपनिर्देशक किमले सोलको दाबी "निराधार, एकतर्फी अनुमान र भ्रामक" भएको बताइन्।

प्रोपगान्डा सन्देशबाहेक दक्षिण कोरियाली लाउडस्पीकरहरूबाट सीमा क्षेत्रमा के-पप गीतहरू पनि बजाउने गरिएको थियो भने उत्तर कोरियाको तर्फबाट होहल्ला निम्त्याउने जनावरका आवाजहरू प्रसारण गर्ने गरिएको छ।

सीमा क्षेत्रमा बसोबास गर्ने दक्षिण कोरियाली नागरिकहरूले दुवैतर्फका आवाजबाट झन् कहिलेकाहीँ मध्यरातमा जनजीवनमा असर पर्ने गरेको गुनासो गरेका थिए।

प्योङयाङले सोलको प्रोपगान्डा प्रसारणलाई युद्धको एउटा कार्यका रूपमा लिने गरेको छ र तिनलाई उडाइदिने चेतावनी पनि विगतमा उसले दिएको थियो।

उत्तर कोरियाप्रति कडा रवैया अपनाउने तत्कालीन राष्ट्रपति यून सुक यउल निर्वाचित भएपछि दक्षिण कोरियाले छ वर्षको विश्रामपछि सीमा क्षेत्रमा सन् २०२४ को जुनबाट लाउडस्पीकरहरू फेरि बजाउन शुरू गरेको थियो।

अझै असहज सम्बन्ध

उत्तर कोरियाप्रतिको उनको कडा नीतिले दुई कोरियाबीच सैन्य तनाव बढ्ने खतरासमेत उत्पन्न भएको थियो।

दक्षिण कोरियाली भूभागबाट बलूनमा राखेर किम जङ अनको विरोध गर्दै छापिएका पर्चासहितका सामग्री उत्तरपट्टि पठाइएपछि र दक्षिणका सेनाले सीमापारि बस्ने मानिसले सुन्ने गरी चर्को आवाजमा लाउडस्पीकरबाट विभिन्न सन्देशहरू बजाउन थालेपछि उत्तर कोरियाले सोही शैलीमा जबाफ दिन थाल्यो।

सम्बन्ध सुधार गर्ने बताएका ली जेम यङ दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपश्चात्‌ द्विपक्षीय सम्बन्धमा नरमपन आएको देखिन्छ।

लीले गत जुन महिनामा कार्यभार सम्हालेपछि "विश्वास पुनर्स्थापित गर्ने" र कोरियाली प्रायःद्वीपमा "शान्ति हासिल गर्ने" भन्दै दक्षिण कोरियाको सेनाले सीमावर्ती भेगमा अवस्थित असैनिकीकृत क्षेत्र (डीएमजेड) बाट लाउडस्पीकरहरू हटायो।

यद्यपि दुई कोरियाबीच सम्बन्ध अझै असहज रहेको छ। दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासअघि यसै साताको शुरूतिर उत्तर कोरियाले "कडा जबाफी कदम" चाल्ने चेतावनी दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।