पाकिस्तानमा इमरान खानलाई रिहा गर्न माग गर्दै हजारौँ समर्थक राजधानीमा

पूर्व प्रधानमन्त्री इमरान खान

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै आएका छन्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न माग गर्दै उनका हजारौँ समर्थक राजधानी इस्लामाबादमा भेला भइरहेका छन्।

आन्दोलनको नेतृत्वकर्तामध्येकी एक खानकी पत्नी बुशरा बीबीले खान रिहा नभएसम्म प्रदर्शन समाप्त नहुने बताइन्।

देशका विभिन्न स्थानबाट खानका हजारौँ समर्थकहरू राजधानीमा भेला भएका हुन्। कतिपय स्थानबाट जुलुसहरू राजधानी पुग्ने क्रम जारी छ।

खानले आफ्ना समर्थकहरूलाई "निर्णायक प्रदर्शन"का निम्ति आह्वान गरेका थिए।

अधिकारीहरूले इस्लामाबादमा लकडाउन गरेका छन्।

राजमार्गहरू बन्द गरिएका छन् भने केही निश्चित स्थानहरूमा मोबाइल र इन्टरनेट पनि बन्द गरिएको छ।

खानकी पत्नी बीबीले खानको निर्देशनमा समर्थकहरू आइतवारबाट राजधानीतर्फ आउन सुरु गरेका र "अवरोधहरू पार गर्दै इस्लामाबाद पुग्ने" बताएकी छन्।

राजधानीमै रहन आह्वान

खानका समर्थक र प्रहरीबीच दोस्रो दिन पनि झडप भएको छ।

प्रहरीले आइतवार प्रदर्शनकारीविरुद्ध अश्रुग्यास प्रहार गर्नुका साथै सयौँलाई हिरासतमा लिएको थियो।

अधिकारीहरूले हालसम्म हिरासतमा लिइएका सयौँका निम्ति विशेष कारागार तयार पारेका छन्।

खानले सरकारले आफ्ना मागबारे सम्बोधन नगर्दासम्म प्रदर्शनकारीहरूलाई राजधानीमै रहन भनेका छन्।

पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा एक वर्षभन्दा बढी समयदेखि जेलमा छन्।

आफूमाथिका अभियोगहरूलाई अस्वीकार गर्दै आएका उनी जेलमै भए पनि बलियो विपक्षी शक्तिका रूपमा कायम छन्।

यसैबीच पीटीआई पार्टीका नेताहरूले राजधानी नजिकैको रावलपिण्डी जेलमा रहेका खानलाई भेटेको बताइएको छ।

पार्टीका कामचलाउ अध्यक्ष गोहर अली खान लगायतले उनलाई भेटेका हुन्।

इस्लामाबाद उच्च अदालतले खानको पीटीआई पार्टीले नेतृत्व गरेको प्रदर्शन गैरकानुनी भएको जनाएको छ।

बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्को आफ्नो तीन दिन भ्रमणमा आएका बेला उक्त प्रदर्शनहरू भइरहेका छन्।

आइतवार राति इमरान खानका समर्थकहरूले उनको समर्थनमा रिहा गर्न माग गर्दै नाराहरू लगाएका थिए। उनीहरूले खानको पक्षमा असङ्ख्य मानिसहरू रहेको पनि बताए।

सुरक्षाकर्मी परिचालन

यसअघि खानले पाँच महिनाअघि राज्यका गोप्य कुरा चुहाएको अभियोगमा अदालतबाट सफाइ पाएका थिए।

तर अर्को एउटा मुद्दामा दोषी ठहर भएको हुनाले उनी जेलबाट छुट्न भने पाएका थिएनन्।

गत फेब्रुअरीमा भएको निर्वाचनअघि ७१ वर्षीय खानलाई तीनवटा मुद्दामा जेल सजाय सुनाइएको थियो।

उनले राजनीतिक दुराशय राखेर आफूविरुद्ध ती मुद्दा हालिएको दाबी गर्दै आएका छन्।

सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हटेका थिए।

उनलाई एउटा कूटनीतिक दस्तावेज सन् २०२२ मा सार्वजनिक गरेको अभियोगमा मुद्दा परेको थियो।

उक्त मुद्दामा उनलाई ज्यानुअरीमा १० वर्षको जेल सजाय सुनाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।