कुवेतमा आगलागीमा परेर कैयौँको मृत्यु, केही नेपाली पनि घाइते

तस्बिर स्रोत, EPA
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
कुवेत दक्षिणी सहर मङ्गाफस्थित आप्रवासी कामदारहरूलाई राखिएको एउटा आवासगृहमा भएको आगलागीको घटनामा केही नेपाली कामदार पनि घाइते भएका उक्त देशस्थित नेपाली राजदूतले बीबीसीलाई बताएका छन्।
कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालका अनुसार उक्त आवासगृहमा कुल पाँचजना नेपाली बस्दै आएका पुष्टि भएको छ।
उनले भने, "पाँच जनामध्ये दुईजना सकुशल हुनुहुन्छ भने तीनजना घाइते हुनुभएको जानकारी आएको छ। दूतावासको टोली उहाँहरूको अवस्था बुझ्न अस्पताल गइसकेको छ।"
राजदूत लम्सालका अनुसार घाइते नेपालीहरूको पहिचान खुल्न सकेको छैन।
"दूतावासको टोली अस्पताल पुगेपछि उहाँहरूको अवस्थाबारे पनि थाहा हुन्छ अनि परिचय पनि खुल्छ होला," उनले भने।
आगलागीको कारण

तस्बिर स्रोत, EPA
कुवेतका आन्तरिक मामिलामन्त्रीले दिएको जानकारीअनुसार उक्त आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ।
मन्त्री फहद युसुफ अल-सबाले उक्त आवासगृहका मालिकहरूको "लोभका कारण उक्त दुर्घटना निम्तिएको" बताएका छन्।
उक्त आवासगृहमा रहेका मानिसहरूमा प्राय: सबैजसो आप्रवासी कामदार थिए।
स्थानीय सञ्चारमाध्यमहरूले उक्त भवनमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेका थिए भन्ने विवरण सार्वजनिक गरिरहेका छन्।
उक्त आगलागीको कारण के थियो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।
कुवेतमा कति नेपाली छन्?

तस्बिर स्रोत, EPA
उक्त भवनमा करिब दुई सय कामदार बसोबास गरिरहेको बताइएको छ।
गैरआवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रणध्वज लामाले उक्त घटनामा परेका नेपालीहरूबाट जानकारी लिन उक्त क्षेत्र आसपासका नेपालीहरूलाई खटाइएको बताए।
"हामीले यथार्थ विवरण लिएर आवश्यक सहयोग गर्नु परेमा गर्ने भनेर त्यसै क्षेत्रमा रहेका एनआरएनका साथीहरूलाई खटाएका छौँ," उनले भने।
उनका अनुसार हाल कुवेतमा एक लाख सात हजार जना नेपाली आधिकारिक रूपमा रहेको विवरण छ।
"तर यहाँ अवैध रूपमा बस्ने नेपालीहरूको सङ्ख्या पनि २०/२५ हजार जति भएकाले कुल एक लाख ४० हजार जनाको हाराहारीमा नेपाली छौँ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








