मणिपुर हिंसाबारे सामाजिक सञ्जालमा भ्रामक कुराको बिगबिगी

मणिपुरमा जलाइएको पानीको ट्याङ्कर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत मे महिनामा मणिपुरमा हिंसा भड्किएको थियो
    • Author, श्रुति मेनन
    • Role, बीबीसी भेरिफाई, दिल्ली

पूर्वोत्तर भारतको हिंसाग्रस्त मणिपुर राज्य सरकारी अधिकारीहरूले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएर भ्रामक जानकारीहरू हटाउने प्रयास गरेका छन्। तैपनि त्यहाँ मिथ्या सूचनाहरूको बिगबिगी छ।

बहुसङ्ख्यक मैतेई समुदाय र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको द्वन्द्व हालै विश्वव्यापी रूपमा समाचारको विषय बनेको छ। विशेषगरी पुरुषहरूको भिडले दुई महिलालाई आक्रमण गरी निर्वस्त्र पारेर हिँडाएको भिडिओ भाइरल भएपछि यस विषयले भारतभित्र र बाहिर आक्रोश उत्पन्न भएको छ।

चेतावनी: यस सामग्रीमा केही मानिसलाई विचलित पार्न सक्ने विवरणहरू छन्।

यौन हिंसाबारे मिथ्या दाबीहरू

गत मे महिनाको सुरुमा मणिपुरमा हिंसाका घटनाहरू बढेयता महिलामाथिको आक्रमण मिथ्या र भ्रामक दाबीको एउटा प्रमुख स्रोत बनेको छ।

सरकारी अधिकारीहरूले “सामाजिक सञ्जालमार्फत् भ्रामक सूचना र झुटा दाबीहरू फैलनबाट रोक्न” भन्दै मे ३ मा झडप सुरु हुनासाथ मोबाइलमा इन्टरनेट सेवाहरू बन्द गरेका थिए।

त्यसको एकदिन पछि राज्यभर सबै प्रकारका इन्टरनेट सेवाहरू बन्द गरियो।

मणिपुरबारे गरिएको एउटा ट्वीट

तर त्यतिबेलासम्म कुकी पुरुषहरूले बलात्कार गरी हत्या गरेकी मैतेई नर्स भनिएकी एक महिलाको प्लास्टिकमा बेरिएको शव देखिने बीभत्स तस्बिर सार्वजनिक भइसकेको थियो।

उक्त तस्बिर सामाजिक सञ्जालमा मात्र सीमित थिएन। हामीले त्यो तस्बिर मे ३ मा झडप भएको चुराचाँदपुर जिल्लामा ह्वाट्स्यापमा पनि शेअर भएको प्रमाण भेटेका छौँ।

उक्त तस्बिरबारे गरिएका दाबीहरू गलत छन्। उक्त तस्बिर मणिपुरको होइन।

उक्त तस्बिर २१ वर्षीया आयुषी चौधरीको हो। उनको गत वर्ष नोभेम्बरमा दिल्लीमा हत्या भएको थियो।

त्यसैगरी मे ५ मा बलात्कारपछि हत्या गरिएको भनिएका ३७ मैतेई महिलाहरू र सातवर्षे बालकको शवसम्बन्धी सामाजिक सञ्जालमा फैलिएका कुराहरू पनि झुटा हुन्। उनीहरूको शव मणिपुरको राजधानी इम्फालस्थित सिजा अस्पतालमा परीक्षणका लागि राखिएकोबारे मिथ्या दाबी गरिएको थियो।

उक्त पोस्ट ट्विटरमा धेरै पटक, उस्तै शब्दहरूसहित साझा गरिएको थियो। त्यस्ता पोस्ट प्राय: नयाँ खाताहरूबाट सार्वजनिक भएका थिए।

बीबीसीले स्थानीय मणिपुरी भाषामा समेत उही शब्दसहित लिखित सन्देशहरू फेला परेको छ। तलको उदाहरणमा तिनलाई प्रस्तुत गरिएको छ। हामीलाई मणिपुरमा अवस्थित पत्रकारहरूले बताएअनुसार त्यहाँ मोबाइल सेवा बन्द भए पनि सन्देश लेखेर कुराकानी गर्न सकिन्छ।

समारचारसंस्थाबाट प्रवाह भएको गलत सूचना

यद्यपि त्यसरी फैलाइएको दाबी गलत हो।

सिजा अस्पतालले बीबीसीलाई बताएअनुसार परीक्षण गर्न त्यसरी शवहरू राखिएको छैन।

वास्तवमा निजी चिकित्सा संस्थान भएकाले उक्त अस्पताललाई शव परीक्षण (पोस्टमोर्टम) गर्ने अधिकार दिइएकै छैन।

मणिपुरको भन्दै म्यान्मारको भिडिओ

गलत तथा भ्रामक सामग्रीका अन्य उदाहरणहरू पनि छन्। मणिपुरको सडकमा एक महिलालाई आक्रमणपछि हत्या गरिएको दाबीसहित एउटा बीभत्स भिडिओ सार्वजनिक गरिएको थियो।

जुन महिनाको अन्त्यमा उक्त भिडिओ ह्याशट्याग (#) 'मणिपुर' सहित साझा हुन थाल्यो र त्यसलाई हजारौँ पटक हेरियो। केहीले उक्त भिडिओमा (सम्भवत: मैतेई समुदायका) सशस्त्र पुरुषहरूले एक कुकी महिलाको हत्या गरेको दृश्य समावेश भएको बताएका थिए।

सोही भिडिओ एक साताअघि पुरानै दाबीसहित पुनः फैलिन थाल्यो।

गलत जानकारीसहित प्रवाह भएको म्यान्मारको भिडिओ

तर ती दाबीहरू झुटा हुन्।

उक्त भिडिओ मणिपुरको होइन र पीडित महिला कुकी समुदायकी होइनन्। त्यो त छिमेकी देश म्यान्मारको हो र त्यो दृश्य मणिपुरमा द्वन्द्व सुरु हुनुभन्दा धेरैअघि सन् २०२२ को हो।

यसबारे एउटा भारतीय तथ्य जाँच गर्ने साइटले स्पष्ट पारेको छ।

यो भिडिओ कति व्यापक रूपमा शेअर गरिएको थियो भन्नेबारे हामी निश्चित हुन सक्दैनौँ। तर यो मणिपुरभित्र फैलिरहेको थियो किनकि त्यहाँको राज्य प्रहरीले यसलाई साझा गर्ने जोकोहीलाई कारबाही गर्ने भन्दै सार्वजनिक चेतावनी नै दिनुपर्‍यो।

पक्राउबारे गलत सूचना

जुलाई १९ मा भिडले कुकी समुदायका दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ भाइरल भएपछि मणिपुर हिंसा पुनः समाचारमा छायो।

त्यसयता मे महिनाको सुरुतिर भएको उक्त घटनासम्बन्धी गलत सूचना प्रवाह हुने क्रम चलिरहेको छ।

भिडिओ सार्वजनिक भएको भोलिपल्ट घटनामा संलग्नताको आरोपमा एक मुस्लिम व्यक्तिलाई पक्राउ गरिएको दाबी गरिएको थियो।

उक्त जानकारी प्रवाह गर्नेमध्ये भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता तेजिन्दर पाल सिंह बग्गा पनि थिए।

बग्गाको ट्वीट

बग्गाको ट्वीट १० लाखभन्दा बढी पटक हेरिएको छ र त्यसलाई हजारौँले रिट्वीट गरेका छन्।

उनको ट्वीटमा ती व्यक्तिलाई महिलाहरूमाथि आक्रमण गर्ने “मणिपुर मुद्दाका मुख्य अभियुक्त” भनेर उल्लेख गरिएको थियो। तर यो विवरण भ्रामक थियो।

त्यस दिन मणिपुर प्रहरीले एक मुस्लिम व्यक्तिलाई गिरफ्तार गरेको भए पनि त्यो निनान्त असम्बन्धित विषयमा थियो।

प्रहरीले विभिन्न स्थानबाट कहीँ मानिसलाई पक्राउ गरेको स्पष्ट पारेको छ। यद्यपि ती मुस्लिम व्यक्तिको गिरफ्तारीको सम्बन्ध महिलामाथि भएको आक्रमणसँग देखाइएको छैन।

सामूहिक आक्रमणको सम्बन्धमा ती व्यक्तिलाई पक्राउ गरिएको भनेर गलत विवरण प्रकाशन गर्ने समाचार संस्था एएनआईले पछि आफ्नो गल्ती सच्च्याएको थियो।

उसले आफूले प्रहरीको “ट्वीटको गलत अर्थ बुझेको” जनाएको थियो।

यद्यपि भाजपा नेता बग्गाले बुधवार रातिसम्म आफ्नो ट्वीट सच्याएका थिएनन्। न त उनले उक्त घटनाक्रमबारे नै स्पष्ट पारेका थिए।

उनले यस विषयमा बीबीसीको प्रश्नको उत्तर पनि दिएका छैनन्।

अहमद नूरको अतिरिक्त अनुसन्धान

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।