फाइनलमा ‘जिते पनि हारे पनि मेस्सीको फुटबल कौशल अविस्मरणीय रहनेछ’

मेस्सी र एल्भारेज

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मेस्सी र एल्भारेज
    • Author, गेरी लिनेकर
    • Role, बीबीसी खेल टिप्पणीकार

लियोनल मेस्सीको विश्वकपको यात्रा लगभग सकिन लागेको छ तर त्यो जस्तो सुकै गरी सकियो भने पनि उनी विनाको फुटबल धेरै कम रोमाञ्चक हुनेछ।

आइतबारको फाइनल मेस्सीका लागि अन्तिम सबैभन्दा ठूलो विश्वव्यापी प्रतियोगिता हुनेछ।

परिणाम जे जस्तो आए पनि अहिलेसम्म कतारमा मेस्सीको प्रस्तुतिले धेरै फुटबल समर्थकको मन जितेको छ।

क्रोएसियाविरुद्ध सेमिफाइनलमा जित हासिल गरेपछिको एउटा सुन्दर क्षणमा एक जना संवाददाताले मेस्सीलाई उनले सबैको जीवनमा छाप छाडिसकेको र त्यो फ्रान्सविरुद्ध जित निकाल्नु वा आफ्नो लागि पहिलो पटक विश्वकप जित्नुभन्दा धेरै महत्त्वको रहेको बताएकी थिइन्।

उनी वास्तवमै सही थिइन्।

मानिसहरूले मेस्सीबारे म कति धेरै कुरा गर्छु भन्छन् तर त्यसका लागि मैले कहिल्यै गल्ती महसुस गरेको छैन र गर्नेछैन।

किनभने झन्डै दुई दशकदेखि उनलाई निरन्तर खेलेको हेर्न पाउनुले मलाई ज्यादै खुसी दिएको छ।

उनी अहिले ३५ वर्षका भइसके र उनले अब मैदानमा बिताउने समय लामो छैन।

त्यही भएर उनको खेलको प्रत्येक सेकेन्डको स्वाद हामीले लिनुपर्छ।

यो उनको गोल र गोलको अवसर सिर्जनाको मात्रै कुरा होइन

मेस्सीले यो विश्वकपमा ६ वटा खेल खेलेका छन् जसमध्ये चारवटामा उनी ‘म्यान अफ द म्याच’ चुनिएका छन्।

तर आफूले गरेका पाँच गोल वा तीन गोलका लागि सहायताले उनलाई अरू खेलाडीभन्दा भिन्न बनाएको होइन।

वास्तवमा उनले गरेका साना कुराहरू जस्तै तीन वा चार खेलाडीबाट घेरिएका उनले तीनलाई छलाउन सक्दैनन् कि भन्ने सोच्दै गर्दा उनले त्यो अवरोध बारम्बार चिर्न सफलता पाइरहेका छन्।

मेस्सी

तस्बिर स्रोत, EPA

मैलै उनको गज्जबको सङ्ख्यात्मक तथ्याङ्क भन्दा पनि उनको दृष्टि, चेतना र निर्णय क्षमता हेरेर उनलाई यो खेल खेल्ने सर्वोत्तम खेलाडी भनेको हुँ भनेर धेरै पटक भनिसकेको छु।

उनी यसरी खेल्छन् कि मानौँ उनले त्यो बेला माथिबाट मैदानको सबै कुरा देखिरहेका छन्।

यो विश्वकपमा उनले खेलिरहेको समयमा भीडले उनीबाट अन्यत्र आफ्नो नजर पुर्‍याउन पाएकै छैनन्।

उनले बल पाउने बित्तिकै पूरै रङ्गशालाको धड्कन रोकिन्छ र समर्थकहरू उभिन्छन् अनि उनको जादुको प्रतीक्षा गर्छन्। उनले सदैव परिणाम दिलाएका छन्।

कैयौँ त्यस्ता क्षणहरू छन् जसमा समर्थकहरू अवाक् बनेका छन्।

जस्तै नेदरल्याण्ड्स विरुद्धको खेलमा उनको सानदार ‘ड्रिबल र नापेर हानेका पास’ वा मेक्सिको विरुद्धको खेलमा उनको एउटा दमदार छुवाइ र गोल जसले यो प्रतियोगितामा आर्जेन्टिनालाई अहिलेको विन्दुसम्म ल्याइपुर्‍याएको छ।

सेमिफाइनलमा जुलिअन अल्भारेजलाई मेस्सीले दिएको रोमाञ्चक पासले धेरैलाई छक्क पारेको छ।

मेस्सीले कसरी विश्वका एकजना शक्तिशाली र तेज रक्षापङ्क्तिका खलाडीलाई त्यसरी छलाउँदै गर्दा कसरी आफ्ना साथीलाई देखे र बल दिन पुगे भन्दै आश्चर्य पनि व्यक्त भएको छ।

वाहवाही बटुल्ने खेल कौशल

मेस्सीको जर्सी

तस्बिर स्रोत, Reuters

वर्षौँदेखि मेस्सीले आफू वास्तवमै अति प्रतिभाशाली खेलाडी रहेको उदाहरण प्रस्तुत गर्दै आइरहेका छन्।

र, मलाई लाग्छ यो विश्वकप हेर्दा तपाईँले उनी कति विशेष छन् र आधुनिक फुटबलमा अरू सबैभन्दा राम्रा खेलाडी हुन भन्ने आत्मासात गर्न सक्नुहुनेछ।

तर हामी जब तुलना गर्छौ हामी गोलको सङ्ख्यामा अल्झिने गर्छौँ।

त्यो मेरा लागि राम्रो हो किनभने त्यसले म स्वयं पनि भनिए भन्दा अझ राम्रो खेलाडी रहेको देखाउँछ।

त्यो मापदण्डलाई अपनाउने हो भने म डिएगो म्याराडोनाभन्दा थोरै राम्रो देखिनेछु।

तर व्यवहारिक रूपमा त्यो हावादारी हुनेछ किनभने उनले अलग्गै स्तरको खेल खेल्छन्।

अहिले चलिरहेको क्रिस्टियानो रोनाल्डो र मेस्सीबारेको बहस पनि त्यस्तै हो।

गोलको सङ्ख्याका आधारमा दुवै लगभग समान छन् तर मेरो तर्क के हो भने मेस्सीमा ‘वाहवाही फ्याक्टर’ धेरै छ।

जब गोल गर्छन्, रोनाल्डोमा पनि त्यो देखिन्छ।

किलियान एम्बाप्पे पनि आफ्नो शक्तिशाली गतिसहित त्यस्तै छन्।

तर उनीहरू दुवैले मेस्सी जस्तो गर्न सक्दैनन्।

एउटा सानो कुनामा पनि मेस्सीले चार वा पाँच जनालाई छलाउन सक्छन् र उनले अरू कसैले नदेख्ने ठाउँमा पास दिने विन्दु देख्न सक्छन् र परिणाम पनि दिलाउन सक्छन्।

मेस्सीले यो विश्वकपमा पाँच गोल प्रहार गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मेस्सीले यो विश्वकपमा पाँच गोल हानिसकेका छन्

आफ्नो पूरै खेल जीवनभरि यस्तै गर्दै आएका मेस्सीले यो प्रतियोगितामा पनि बारम्बार त्यस्तो गरेका छन्।

यहाँ उनको कौशल देखेर कतिपय मानिसहरू आश्चर्यमा छन् किनभने उनीहरूले प्यारीस साँ- जर्माँमा उनी खराब फर्ममा रहेको आशङ्का गरिरहेका थिए। तर अवस्था त्यो थिएन।

मैले पीएसजीका सबै खेलहरू हेरेको छु र यो सिजनमा उनले अविश्वसनीय रूपमा गज्जब खेलेका छन् त्यहाँ उनी त्यस्तै बलियो स्वरूपमा विश्वकप खेल्न आइपुगेका थिए।

आफूलाई लामो समयसम्म उच्च विन्दुमा रहन बल पुर्‍याएको जोस र सङ्कल्प मेस्सीमा देखिन्छ।

सन् २०२२ को आर्जेन्टिना किन सन् १९८६ को जस्तै छ

मेस्सी एक विशिष्ट खालका खेलाडी हुन् जो मैदानमा त्यसै घोत्लिन्छन् र बेलाबेला आफूले केही समय बल नपाउने ठाउँहरूमा पनि उभिएका देखिन्छन्।

तपाईँ सोच्नु होला उनले के गरिरहेका होलान्- के उनले के भइरहेको छ वा कुन खेलाडी कहाँ छन् भन्ने हेरिरहेका हुन् वा के उनले आराम मात्रै गरिरहेका हुन्?

उनले सधैँ यस्‍तो गरेका छन् र मुख्यगरी बार्सिलोना क्लबबाट खेल्दा विपक्षीलाई दबाबमा राख्न उनी बढी सक्रिय देखिन्थे।

विश्वकप जस्तो सङ्गठित प्रतियोगितामा समेत उनले आफ्नो क्षणहरू रोज्न सकिरहेका छन् र यसले मलाई सन् १९८६ मा विश्वकप जितेको बेला उनीहरूको टोलीले गरेको प्रदर्शन याद दिलाउँछ।

फाइनललाई मेस्सी र एम्बाप्पेबीचको भिडन्तका रूपमा लिइएको छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, फाइनललाई मेस्सी र एम्बाप्पेबीचको भिडन्तका रूपमा लिइएको छ

त्यसबेलाको आर्जेन्टिना बलियो थियो र उनीहरूसँग कुनै सम्झौता नगर्ने ओस्कर रुजेरी र होसो लुइस ब्राउन जस्ता रक्षापङ्क्तिका खेलाडी, हुलियो ओलार्टिकोटिया र होर्गे बुरुचागा जस्ता मध्यपङ्क्तिका खेलाडी र महान् स्ट्राइकर होर्गे भालडानो टोलीमा थिए।

यसै गरी यसपटकको आर्जेन्टीनाको टोलीमा पनि परिश्रमी खेलाडी छन्।

उनीहरूका धेरै खेलाडी वास्तविक विश्वस्तरका नदेखिएको भए पनि अल्भारेजको उदयले उनीहरूलाई एउटा उम्दा मध्य अग्रपङ्क्तिका खेलाडी दिएको छ।

र, उनीहरूले यसअघि म्याराडोनामा जस्तै मेस्सीको जादुमा केही विश्वास गर्न सक्छन्।

यी दुई खेलाडीमा धेरै समानता पनि छन्।

निरन्तरता-महान् खेलाडी चुन्ने मापदण्ड

हालसम्मकै महान् खेलाडी अर्थात् ग्रेटेस्ट अफ अल टाइम्स (गोट) का बारेमा छलफल गर्नु रमाइलो हुन्छ किनभने सबैको आ-आफ्नै विचार हुन्छ।

तर मलाई लाग्छ तपाईँले आफ्नै जीवनकालमा र आफूले देखेका आधारमा त्यसबारे निर्ष्कषमा पुग्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ।

म पेलेलाई मान्न सक्दिन किनभने मैले उनले साँच्चिकै खेलेको देख्न नै पाइन।

जब उनी सन् १९७० को विश्वकप खेल्दै थिए म ९ वर्षको थिए।

त्यही भएर मेरो अर्को रोजाइ म्याराडोना मात्रै हुन्।

मेरो समयका दुई महान् खेलाडी आर्जेन्टीनाकै हुनु गज्जबको संयोग हो।

शक्तिशाली बायाँ खुट्टा भएका दुवै होचा थिए र उनीहरू सानदार ढङ्गले विपक्षीलाई छलाउँथे।

अलगअलग पुस्ताका खेलाडीहरूको तुलना गर्न गाह्रो हुन्छ।

किनभने खेलमा परिवर्तन भइरहन्छ। उदाहरणका लागि म्याराडोना निरन्तर लडाइन्थे र उनले खराब मैदानहरूमा पनि खेलेका छन्।

मेस्सीले यो विश्वकपको अभियानमा आफूले म्याराडोना उपस्थित भएको सम्झिएको बताएका छन्

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, मेस्सीले यो विश्वकपको अभियानमा आफूले म्याराडोना उपस्थित भएको अनुभूत गरेको बताएका छन्

मैदान बाहिरका क्रियाकलापका कारण म्याराडोनाको उत्कृष्ट लय हामीले जम्मा ७ वर्षमात्रै देख्न पायौँ।

सबैभन्दा राम्रा को हुन् भनेर निर्णय लिँदा कसले लामो समयसम्म सफलता पायो भनेर पनि हेर्नुपर्ने हुन्छ।

क्लब र अन्तर्राष्ट्रियस्तरमा पनि मेस्सीले प्राप्त गरेको सफलता हेर्दा उनीभन्दा माथि अरू कुनै खेलाडीलाई राख्न अप्ठ्यारो हुन्छ।

मलाई लाग्छ कतारमा मेस्सीले राम्रो खेल्नु पछाडिको एउटा कारण उनले सन् २०२१ ममा आर्जेन्टिनालाई कोपा अमेरिका कप जिताइसकेका छन्।

त्यसले घरभित्र रहेको उनीमाथिको अपेक्षालाई एक हदसम्म सम्बोधन पनि गरेको छ।

*क्रिस बेभनले गेरी लिनेकरलेसँग दोहामा कुराकानी गरेका थिए।