युक्रेनका पूर्वऊर्जामन्त्री देश छोड्न खोज्दा पक्राउ

तस्बिर स्रोत, Reuters
- Author, रेचल म्यूलर-हाइनडाइक
- पढ्ने समय: २ मिनेट
युक्रेनका एकजना पूर्व ऊर्जामन्त्रीलाई देश छोड्ने प्रयास गर्दा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
हर्मन हलुश्चेन्को एक भ्रष्टाचार काण्डमा नाम उल्लेख भएका अधिकारीहरूमध्ये एक हुन् जो गत वर्ष आफ्नो सरकारी भूमिकाबाट बर्खास्त गरिएका थिए।
युक्रेनमा रेल यात्राक्रममा उनलाई पक्राउ गरिएको बताइएको छ। उनी कहाँ जान खोजेका थिए भन्ने कुरा स्पष्ट छैन।
गत नोभेम्बरमा १० करोड अमेरिकी डलरको हिनामिना भएको भनिएको एक काण्डमा संलग्न कैयौँ सरकारी व्यक्तित्वहरूमध्ये उनी एक थिए।
रुसको पूर्ण आकारको आक्रमणअघि भ्रष्टाचार उन्मूलन गर्ने वाचासहित सत्तामा आएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनलाई यो काण्डले पिरोल्ने देखिन्छ।
प्रकरण
यसअघि युद्धका बेला निकटतम सल्लाहकार रहेका जेलेन्स्कीका चीफ अफ स्टाफ एन्ड्री यर्माकले आफ्नो घरमा खानतलासी गरिएपछि राजीनामा दिएका थिए।
राष्ट्रपति वा यर्माक दुवैलाई कुनै गलत कामको आरोप लगाइएको छैन।
यद्यपि यस काण्डका कारण अमेरिकाबाट चुनाव गराउन दबाव बढाएको छ। युक्रेनी संविधानका प्रावधान अनुसार सन् २०२२ मा युद्ध सुरु भएदेखि नै त्यहाँ चुनाव निलम्बित छ।
युक्रेनको केन्द्रीय भ्रष्टाचार विरोधी निकाय (नाबु)ले आइतवार एक विज्ञप्ति जारी गर्दै उसका गुप्तचरहरूले मिडास नामक मुद्दाको एउटा हिस्साको रूपमा "राज्यको सीमा पार गर्ने क्रममा" ती पूर्वऊर्जामन्त्रीलाई हिरासतमा लिएको जनाएको छ।
त्यसमा हलुश्चेन्कोको नाम प्रस्ट रूपमा नभए तापनि कैयौँ प्रमुख युक्रेनी मिडिया संस्थाहरूले उनको नाम उल्लेख गरेका छन्।
हलुश्चेन्को छोटो समयका लागि न्यायमन्त्री समेत बनेका थिए जुन पदबाट नोभेम्बरमा जेलेन्स्कीले राजीनामा दिन लगाएका थिए।
त्यसअघि उनले तीन वर्ष ऊर्जामन्त्रीको रूपमा काम गरेका थिए। उनीपछि पद सम्हालेकी व्यक्तिले समेत यस काण्डमा फसेपछि राजीनामा दिएकी थिइन्।
नाबुले हलुश्चेन्कोको हिरासतको बारेमा थप विवरण दिएको छैन। तर समय क्रममै अद्यावधिक जानकारी दिइने जनाएको छ।
रेडियो फ्री युरोपका अनुसार उनलाई थप सोधपुछको लागि किएभ लगिएको छ। त्यसअघि सीमा गार्डहरूले भाग्ने प्रयास गरेमा अधिकारीहरूलाई सचेत गराउन भनिएको थियो।
अनुसन्धानले के देखाएका छन्
नाबु र युक्रेनका अन्य भ्रष्टाचारविरोधी निकाय - भ्रष्टाचारविरोधी विशेष अभियोजकको कार्यालय (एसएपी) ले १५ महिनाको अनुसन्धानको नतिजाका रूपमा अपरेशन मिडास भनिने ठूलो भ्रष्टाचारविरोधी अनुसन्धानले भ्रष्टाचार भएको देखाएको हो।
ती निकायले कैयौँ व्यक्तिहरूलाई राष्ट्रिय परमाणु अपरेटर एनरहोएटमसहित युक्रेनको ऊर्जा क्षेत्रमा पैसा हिनामिना गर्ने योजना बनाएको आरोप लगाएका छन्।
हलुश्चेन्को ती व्यक्तिहरूमध्ये एक थिए जसलाई एनरहोएटम ठेकेदारहरूबाट सम्झौता मूल्यको १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको 'घुस' सङ्गठित रूपमा सङ्कलन गरेको आरोप लगाइएको थियो।
भ्रष्टाचार विरोधी निकायहरूले सो योजनामा ठूलो रकम हिनामिना गरिएको र नगदले भरिएका झोलाहरूको तस्बिरहरू प्रकाशित गरेको पनि जनाएका छन्।
नाबुका अनुसार त्यसपछि रकम युक्रेन बाहिर रुस लगायतमा स्थानान्तरण गरिएको थियो।
हलुश्चेन्कोले यसअघि नै ती आरोपका विरुद्धमा आफ्नो बचाउ गर्ने बताएका थिए।
आक्रोश
पूर्वउपप्रधानमन्त्री ओलिक्सैए चिर्नसोफलाई नोभेम्बरमा "अवैध संवर्धन" को आशङ्कामा पक्राउ गरिएको थियो। उनीमाथि पहिले नै पदको दुरुपयोगको आरोप लगाइएको थियो।
जेलेन्स्कीको पूर्व टीभी स्टुडियो क्वार्टल९५ का सह-मालिक र व्यापारी टिमुर मिन्डिचलाई शङ्कास्पद व्यक्तिको रूपमा देखाइएपछि उनी देश छोडेर भागेको बताइएको छ।
युक्रेनको ऊर्जा क्षेत्रबाट आफूलाई समृद्ध बनाएको आरोप लगाइएको तथ्याङ्कले घरेलु रूपमा विशेष आक्रोश निम्त्याएको छ।
त्यहाँ रुसले कडा जाडो अगाडि युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमणहरू बढाएपछि यो काण्ड बाहिर आएको थियो।
नाबु र सापले एक दशकदेखिका भ्रष्टाचारविरोधी अभियानकाबीच यस पूर्व सोभियत सङ्घ सदस्य देश लामो समयदेखि भ्रष्टाचारका मुद्दाहरूले ग्रस्त छ।
युरोपेली सङ्घ ईयूमा युक्रेन सामेल हुनको लागि प्रमुख आवश्यकताको रूपमा भ्रष्टाचारसँग जुझ्नुलाई लिइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















