निक्की हेली र माइक पोम्पेओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने ट्रम्पको भनाइ

तस्बिर स्रोत, Reuters
- Author, जुड सिरिन
- Role, बीबीसी न्यूज, वासिङ्टन
अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफूले निक्की हेली वा माइक पोम्पोओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने बताएका छन्।
उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध स्पष्ट जित हासिल गरेपछि उनी अहिले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेका छन्।
“म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु,” ट्रम्पले एउटा सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्।
ट्रम्पका नजिकका सहयोगीरूले हेली र पोम्पेओलाई 'डिप स्टेट' अर्थात् पर्दा पछाडि बसेर विशेष समूहहरूको स्वार्थ रक्षाका लागि काम गर्ने गोप्य सरकारी संयन्त्रको प्रतिनिधि भएको आरोप लगाउने गर्छन्। दुवैले ट्रम्पको ‘अमेरिका पहिलो’ नारालाई अवमूल्यन गर्ने उनीहरूको तर्क छ।
ट्रम्पले किन लिए यस्तो निर्णय?

तस्बिर स्रोत, Getty Images
ज्यानुअरी २० मा पदभार ग्रहण गर्ने तयारी गरिरहेका ट्रम्पले पदबाट बाहिरिने राष्ट्रपति जो बाइडनलाई आगामी दिनमा भेटनेछन्।
यसै वर्षको चुनावी प्राइमेरीमा ट्रम्पलाई रिपब्लिकन दलको राष्ट्रपति उम्मेदवार पदमा चुनौती दिनेमा हेली पनि एक थिइन्। प्रइमेरीमा पार्टीका मतदाताहरूले ह्वाइट हाउसका लागि आफ्नो दलको उम्मेदवार तय गरेका थिए।
उक्त प्रतिस्पर्धामा साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेलीले ट्रम्पको चर्को आलोचना गरेकी थिइन्। एउटा बिन्दुमा उनले उनलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको आरोप लगाएकी थिइन्।
तर उक्त प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न ट्रम्प सफल भए। ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म राष्ट्रसङ्घको स्थायी प्रतिनिधि रहेकी हेलीले अन्ततः ट्रम्पलाई अनुमोदन गरेकी थिइन्। तर उनले आफ्नो अभियानको अन्तिम चरणमा सहयोग गर्न हेलीलाई निम्तो भने दिएनन्।
हेलीलाई कुनै भूमिकाका लागि विचार नगरिनुलाई खासै आश्चर्यजनक घटनाका रूपमा नलिइएको भए पनि पूर्व सीआईएका निर्देशक माइक पोम्पेओ रक्षा मन्त्रीको दाबेदार रहेका थिए।
कन्सासका पूर्व कङ्ग्रेस सदस्यले विगतमा मध्यपूर्वमा ट्रम्पको कूटनीतिक गतिविधिको नेतृत्व गरेका थिए र आफ्ना नेताको समर्थनमा सञ्चार माध्यममा धारणाहरू राख्दै आएका थिए। तर ट्रम्पको घेराका प्रभावशाली व्यक्तित्वहरूले पोम्पेओ र हेलीको विपक्षमा लबिङ गरे।
त्यसमा पाका राजनीतिक रणनीतिकार रोजर स्टोन पनि पर्छन्। शुक्रवार उनले आफ्नो वेबसाइटमा हेली र पोम्पेओलाई सङ्केत गर्दै ‘देश र संस्थालाई घात गर्नसक्ने’ बाट नयाँ प्रशासन चयन गर्दा ट्रम्प सावधान हुनुपर्ने उल्लेख गरेका थिए।
अरू के-के भइरहेको छ?

तस्बिर स्रोत, Getty Images
शनिवार नै ट्रम्प अभियानले सपथग्रहण विशेष समारोह हेर्ने ‘प्रेजिडेन्सीअल इनग्युरल कमिटी’ को अध्यक्षता ट्रम्पका लामो समय यताका सहयोगीहरू घरजग्गा व्यवसायी स्टीभ विट्कफ र जोर्जाकी पूर्व सिनेटर केली लेफ्लरले गर्ने घोषणा गरेको थियो।
बाइडनले राष्ट्रपति निर्वाचित ट्रम्पलाई बुधवार ओभल अफिसमा निम्तो गरेको ह्वाइट हाउसले संक्षिप्त विज्ञप्तिमा जनाएको छ।
अमेरिकी इतिहासकै सर्वाधिक कटुतापूर्ण चुनावी अभियानपछि उक्त भेटवार्ताले दुई प्रतिस्पर्धीहरूलाई राष्ट्रिय एकताका निम्ति एक ठाउँमा ल्याउने ठानिएको छ।
बहिर्गमन हुन लागेका र निर्वाचित भएका राष्ट्रपतिबीचको भेट परम्परा भएपनि सन् २०२० मा पुन: निर्वाचित हुन ट्रम्प विफल भएपछि कोभिड महामारीको समयमा उनले बाइडनलाई ह्वाइट हाउसमा निम्तो गरेका थिएनन्। आफ्ना उत्तराधिकारीको सपथग्रहण समारोहमा पनि उनी उपस्थित भएनन्।
भावी प्रथम महिला मेलानीया ट्रम्पलाई पनि जिल बाइडनसँगको भेटका लागि ह्वाइट हाउसमा निम्तो गरिएको जनाइएको छ तर त्यो कहिले हुन्छ प्रस्ट छैन।
नोभेम्बर पाँचमा ट्रम्पले पराजित गरेकी ह्यारिसले नै नयाँ वर्षमा उनी राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्नेछिन्।
अमेरिकी संविधान अनुसार उपराष्ट्रपति सिनेटका अध्यक्ष हुन्छन् र उनले निर्वाचनमा खसेको इलेक्टोरल ब्यालट गणनाहुँदा त्यसको अध्यक्षता गर्नुपर्छ।
यसैबीच ट्रम्पले एरिजोनामा विजय हासिल गर्ने प्रक्षेपणसँगै उनले सातवटै स्विङ स्टेटमा जित हासिल गर्ने निश्चित भएको छ।
उक्त ‘क्लिन स्वीप’सँगै ट्रम्पले अमेरिकी इलेक्टोरल कलेजको ३११ मत ल्याएका छन्। निर्वाचनमा जितका लागि २७० मत आवश्यक पर्छ।
सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सदस्यसहित आफ्नो नियन्त्रण कायम गरेको छ। अझै पनि एरिजोना र पेन्सिल्भेनिया राज्यहरूबाट परिणाम आउन बाँकी छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनहरू बहुमततर्फ उन्मुख छन्। उनीहरूले ४३५ मध्ये २१५ सिट आफ्नो पक्षमा पारेका छन्। अझै पनि १९ ठाउँको परिणाम आउन बाँकी छ। तल्लो सदनमाथि नियन्त्रण कायम गर्न २१८ मत आवश्यक पर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








