भिडमा गाडी जोतेर अमेरिकामा कैयौँको ज्यान लिने व्यक्ति को हुन्?

न्यू अर्लिन्स घटना

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति जो बाइडनले न्यू अर्लिन्समा भिडमा गाडी जोतेर हमला गर्ने आक्रमणकारीले आफू जिहादी समूह इस्लामिक स्टेटबाट प्रेरित भएको र मानिसहरूलाई हत्या गर्ने इच्छा व्यक्त गरेको भिडिओ अपलोड गरेको पाइएको बताएका छन्।

बुधवार अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उक्त सहरमा भएको हमलामा परेर कम्तीमा १५ जनाको ज्यान जानुका साथै कैयौँ घाइते भएका छन्।

टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले पीडितप्रति समवेदना प्रकट गरे। उनले संदिग्ध व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएका छन्।

आक्रमणकारी को हुन्?

एफबीआईले सार्वजनिक गरेको शमसुद-दिन जब्बरको तस्बिर

तस्बिर स्रोत, FBI

तस्बिरको क्याप्शन, एफबीआईले सार्वजनिक गरेको शमसुद-दिन जब्बरको तस्बिर

अधिकारीहरूले भिडमा गाडी जोतेर हमला गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको बताएका छन्।

उनीहरूका अनुसार ती व्यक्ति टेक्सस राज्यका ४२ वर्षीय अमेरिकी नागरिक शमसुद-दिन जब्बर हुन्।

उनी पूर्व अमेरिकी सैनिक रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीसँगको गोली हानाहानमा उनी मारिएका थिए।

प्रहरीका अनुसार उनले ठूलो भिडमा तीव्र गतिमा पिकअप ट्रक कुदाएका थिए। त्यस क्रममा १५ जनाको ज्यान जानुका साथै अन्य ३५ जना घाइते भएका हुन्।

संघीय जाँच ब्यूरो एफबीआईले भिडमा कुदाइएको ट्रकमा इस्लामिक स्टेट समूहको झन्डा भेटिएको जनाएको छ।

त्यसपछि उक्त घटनालाई "आतङ्कवादी कार्य" मानेर अनुसन्धान गरिरहेको एफबीआईले जनाएको छ।

उक्त घटनाका निम्ति ती व्यक्ति मात्र एक्लै जिम्मेवार नभएको र अन्य व्यक्तिको संलग्नता पनि हुनसक्ने न्यू अर्लिन्सका अनुसन्धानकर्ताहरूले बताएका छन्।

आक्रमणमा प्रयोग भएको ट्रक र अर्को क्षेत्रमा सम्भावित विस्फोटक पदार्थहरू पाइएको अधिकारीहरूले बताएका छन्।

लस भेगासमा टेस्ला कारमा विस्फोटन

टेस्लाको गाडी विस्फोटन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टेस्लाको विस्फोटन भएको गाडी

यसैबीच अमेरिकाकै लस भेगासस्थित ट्रम्प होटल बाहिर पटकाहरू तथा इन्धन भरिएका टिनका भाँडाहरू राखिएको एउटा साइबर टेस्ला ट्रक विस्फोट भएको छ।

उक्त विस्फोटनपछि अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ।

उक्त विस्फोटनका कारण त्यसमा रहेका चालकको ज्यान गएको छ भने अन्य सात जना मानिसहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार घाइतेहरूको अवस्था सामान्य छ।

उक्त ट्रक कोलोराडोमा भाडामा लिइएको थियो र बुधवार बिहान उक्त गाडी लस भेगसमा आइपुगेको थियो।

अमेरिकामा आक्रमण

तस्बिर स्रोत, Reuters

प्रहरीका अनुसार विस्फोटन हुनुभन्दा दुई घण्टाअगाडि मात्र आएको उक्त गाडी होटलको प्रवेशद्वार अगाडि राखिएको थियो।

सुरुमा त्यसमा आगो लागेको थियो र त्यसपछि विस्फोटन भएको थियो।

टेस्लाका मालिक तथा अर्बपति इलोन मस्कले न्यू अर्लिन्स घटना र उक्त विस्फोटनमा सम्बन्ध हुन सक्ने बताएका छन्।

आफ्नो टेलिभिजन सम्बोधनमा राष्ट्पति बाइडनले भने ती दुई घटनाहरूको आपसमा सम्बन्ध हुन सक्नेबारे अनुसन्धान जारी रहेको र हालका लागि त्यसबारे "भन्नुपर्ने विषय खासै नभएको" बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।