चीनको नयाँ नक्सामा अरुणाचल प्रदेश पनि, भारतले के भन्यो?

तस्बिर स्रोत, Getty Images
चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ।
चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ।
उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ: “चीनको सन् २०२३ को प्रचलित नक्सा सोमवार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको 'ड्रइङ' पद्धतिको आधारमा बनाइएको हो।”
भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।
उनले भने, "मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झुटले बचाउन सकिँदैन। भारतले अर्को नेहरु सहन सक्दैन।"
केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो।
दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो ।
भारतको विरोध
चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ।
भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्याइसकिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा (जसलाई यसअघि ट्विटर भनिन्थ्यो) भनेका छन् “आज हामीले कथित ‘प्रचलित नक्सा’लाई लिएर चीनसँग कूटनीतिक तहमा कडा विरोध जनाएका छौँ।”
"यस्तो दाबीको कुनै आधार छैन। चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ।”
भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन्।
यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ।
सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।








