इजरेली हमलापछि सहायता रोकिँदा गाजा अझ सङ्कटमा पर्ने चिन्ता

तस्बिर स्रोत, EPA
- Author, डेभिड ग्रिटेन
- Role, बीबीसी न्यूज
परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्यूसीके) ले इजरेली हमलामा आफ्ना सात कर्मचारी मारिएसँगै सहायता रोकेपछि थुप्रै प्यालेस्टिनीमा परिवारका सदस्यलाई अब कसरी खानाको व्यवस्था गर्ने भन्ने चिन्ता थपिएको छ।
डब्ल्यूसीके मिलेर काम गर्ने अर्को अमेरिकी परोपकारी संस्था एनिराले पनि आफ्ना स्थानीय कर्मचारी एवं उनीहरूका परिवारले झेल्नुपरेको तनावका कारण सहायता स्थगित गरेको छ।
दुवै संस्था मिलेर प्रत्येक साता प्यालेस्टिनी भूभागमा २० लाख भोजन उपलब्ध गराउँदै आएका थिए।
संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ भएका झन्डै ११ लाख मानिसमध्ये आधाले भोकमरीको सँघारमा पुगेका छन्।
इजरेलमाथि आरोप
सहायतामा इजरेली बन्देज, जारी द्वन्द्व अनि पद्धति छिन्नभिन्न भएकाले त्यस्तो अवस्था आएको राष्ट्रसङ्घले जनाएको छ।
डेर उल-बालाहमा सामान बोक्ने एउटा डुङ्गाबाट १०० टनभन्दा बढी खाद्यसामग्री बोकेर इजरेलले नै तोकेको तटीय मार्ग हुँदै गइरहेका बेला डब्ल्यूसीकेका सवारीसाधनहरूमाथि सोमवार राति आक्रमण भएको थियो।
साइप्रसबाट २४० टन सहायता सामग्री बोकेर गाजा पुगेका चारवटा डुङ्गामध्ये त्यो एउटा थियो।
इजरेली हमलाका कारण सामान बोकेका बाँकी तीनवटा डुङ्गा फर्केका छन्।

तस्बिर स्रोत, @chefjoseandres
नर्वेली शरणार्थी परिषद्ले “वर्ल्ड सेन्ट्रल किचनमाथि जे भयो त्यसले समग्र सहायता प्रणालीमाथि खतरा उत्पन्न गराएको” र त्यसलाई “सङ्कटमा पुर्याएको” टिप्पणी गरेको छ।
सवारीसाधनहरूमा परोपकारी संस्थाको लोगो हुँदाहुँदै र इजरेली अधिकारीहरूसँग समन्वय गरिएको भए पनि इजरेली सेनाले “निसाना” बनाएको आरोप डब्ल्यूसीकेले लगाएको छ।
इजरेली हमलामा मारिनेमा ब्रिटेन, पोल्यान्ड, अस्ट्रेलिया, प्यालेस्टाइन र अमेरिका-क्यानडाको दोहोरो नागरिकता भएका मानिसहरू छन्।
इजरेली सेनाले हमलालाई “रातिको समयमा गलत पहिचानपछि भएको ठूलो भुल” भनेको छ।
यसअघि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले जानीजानी उक्त आक्रमण नगरिएको दाबी गरेका थिए।
वर्ल्ड सेन्ट्रल किचनको भूमिका
इजरेलले गाजा स्ट्रिपमा प्यालेस्टिनीहरूको सहायताका लागि जिम्मेवार मुख्य राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएमाथि प्रतिबन्ध लगाएपछि उक्त भूभाग अन्य मानवीय संस्थाहरूमा ठूलो मात्रामा निर्भर रहँदै आएको थियो।
इजरेल सरकारले यूएनआरडब्ल्यूएलाई २,००० भन्दा धेरै हमास सदस्यलाई काममा लगाएको आरोप लगाएको छ।
वर्ल्ड सेन्ट्रल किचन त्यहाँ महिनौँदेखि कार्यरत छ। उसले हालै साइप्रसबाट समुद्री मार्ग प्रयोग गर्दै दोस्रो खेपमा ४०० टन सहायता ल्याएको थियो।
उक्त संस्थाले गाजालाई भोकमरीमा पर्न नदिने प्रयासमा एउटा नेतृत्वदायी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








