नासाले चिनियाँ नागरिकलाई अन्तरिक्ष कार्यक्रममा काम गर्न यसकारण लगायो प्रतिबन्ध

अमेरिकी अन्तरिक्ष निकाय नासाको लोगो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाले नासालाई चीनसँग आफ्नो तथ्याङ्क आदानप्रदान गर्न प्रतिबन्ध लगाएको छ
    • Author, ईभेट टान
    • Role, सिङ्गापुर

अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकाको वैधानिक भिसा भएका चिनियाँ नागरिकहरूमाथि आफ्ना अन्तरिक्ष कार्यक्रमहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ।

नासाको उक्त निर्णयसँगै अब उनीहरूले अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने सबैभन्दा प्रतिष्ठित केन्द्रमा काम गर्न पाउने छैनन्।

स्रोतलाई उद्धृत गर्दै ब्लूम्बर्गले लेखेअनुसार नासामा करार वा अनुसन्धानमा सहयोग गर्ने विद्यार्थीका रूपमा काम गर्न सक्ने चिनियाँ नागरिकहरूले सेप्टेम्बर ५ तारिखमा नासाको प्रणाली र सुविधाहरूमा सबै पहुँच गुमाएको थाहा भएको छ।

त्यसपछि नासाले यसको पुष्टि गर्दै कामको सुरक्षाका लागि चिनियाँ नागरिकहरूलाई उक्त निकायको "सुविधा, सामग्री र सञ्जालहरू प्रयोग गर्न" प्रतिबन्ध लगाइने बताएको थियो।

चीनले आफ्ना अन्तरिक्ष कार्यक्रमलाई द्रूत गतिमा बढाएका कारण त्यसले अमेरिकालाई चिन्तित बनाएको छ र दुई ठूला अर्थतन्त्रहरूबीचको प्रतिस्पर्धा बढाएको छ।

वाशिङ्टनले अमेरिकी अन्तरिक्ष निकाय नासालाई आफ्नो तथ्याङ्क चीनसँग आदानप्रदान गर्न रोक लगाएका कारण चिनियाँ अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट यसअघि नै रोक लगाइएको छ।

असर

नासाको पछिल्लो प्रतिबन्धले राष्ट्रिय सुरक्षा चासोका कारण दुई पक्षबीचको वैज्ञानिक सहकार्यमा कमी आएको छ।

प्राविधिक लाभ हासिल गर्न प्रतिस्पर्धा गरिरहेका बेला बेइजिङ र वाशिङ्टन पनि एकअर्काप्रति सचेत हुँदै गएका छन्।

शङ्काका कारण खास गरी विज्ञान र प्रविधि अध्ययन गर्ने केही चिनियाँ विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न वा भिसा प्राप्त गरेपछि अमेरिका प्रवेश गर्न गाह्रो भएको छ।

अमेरिकामा हालसालै चिनियाँ नागरिकहरूद्वारा जासुसीका धेरै घटनाहरू पनि भएका छन् र विशेष गरी वैज्ञानिकहरू बढ्दो रूपमा सूक्ष्म निगरानीमा रहेका छन्।

नासाले आफूअन्तर्गत काम गर्ने चिनियाँ नागरिकहरूलाई त्यसबारे कति जानकारी दियो भन्ने अस्पष्ट नै छ।

ब्लूम्बर्गले उनीहरूले एक्कासी आफूहरूलाई नासाको डेटा प्रणालीमा पहुँच गुमेको र कामसम्बन्धी भर्चुअल तथा व्यक्तिगत रूपमा हुने बैठकहरूमा भाग लिन रोक लगाएको भनी बताएको भन्दै समाचार लेखेको छ।

नासाका प्रेस सेक्रटरी बेथानी स्टीभन्सले पत्रकारहरूसँग बताएअनुसार नासाले वास्तवमै "चिनियाँ नागरिकहरूसँग सम्बन्धित आन्तरिक कारबाही गरेको छ र त्यसमा नासाका भौतिक तथा साइबर सुरक्षा पहुँचमा प्रतिबन्ध लगाइएको छ।"

सँगसँगै फहराइरहेका चीन र अमेरिकाका झण्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीन र अमेरिका प्राविधिक लाभ हासिल गर्न प्रतिस्पर्धा गरिरहेका छन्

प्रतिस्पर्धा

चीनले आफ्नो अन्तरिक्षको महत्वाकाङ्क्षालाई गोप्य राखेको छैन। बेइजिङ र वाशिङ्टन दुवैले चन्द्रमामा आफ्ना अन्तरिक्षयात्रीहरू पठाउन प्रतिस्पर्धा गरिरहेका छन्।

अमेरिकी अन्तरिक्ष निकाय नासाका कार्यवाहक प्रशासक सीन डफीले मङ्गल ग्रहमा अमेरिकाले पत्ता लगाएको विषयमा बोल्दै भने, "हामी अहिले दोस्रो अन्तरिक्षको दौडमा छौँ।"

"चिनियाँहरू हामीभन्दा पहिले चन्द्रमामा फर्कन चाहन्छन्। त्यो हुने छैन।"

चीनको म्यान्ड स्पेस एजेन्सीको सामान्य प्रविधि विकासका प्रबन्ध निर्देशकले गत वर्ष अमेरिकी चिन्ता "अनावश्यक भएको" बताउँदै चीनको अन्तरिक्ष अन्वेषणलाई 'मानवताका लागि सामूहिक अभियान' भनेका थिए।

गत साता अमेरिकी सिनेटको सुनुवाइमा सांसदहरूले चीनभन्दा पहिले अमेरिकाले चन्द्रमामा आफ्नो पाइला राख्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

रिपब्लिकन सिनेटर टेड क्रुजले भने, "चीनले आफ्नो लक्ष्यलाई गोप्य राखेको छैन। यदि हाम्रा प्रतिद्वन्द्वीहरूले प्रभुत्वशाली अन्तरिक्ष क्षमता हासिल गरे भने यसले अमेरिकाका लागि गहिरो जोखिम निम्त्याउँछ।"

यो दौड केवल चन्द्रमामा पुग्ने बारेमा मात्र नभई त्यहाँ पुगेपछि यसको स्रोतहरू कसले नियन्त्रण गर्न सक्दछ भन्ने पनि हो।

चन्द्रमामा खनिज पदार्थलगायत फलाम र टाइटेनिअमजस्ता दुर्लभ धातुहरू र हीलिअम पनि छन्, जुन सुपरकन्डक्टरदेखि चिकित्सा उपकरणसम्म धेरै कुरामा प्रयोग गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।