ठूला नेता मारिएपछि के भारतले दशकौँदेखि जारी माओवादी विद्रोही विरुद्धको लडाइँ जित्दै छ?

तस्बिर स्रोत, AFP via Getty Images
- Author, सुभोजित बागची
- Role, विश्लेषक
गतसाता मध्य भारतको छत्तीसगढमा भएको सुरक्षा कारबाहीमा बसवराजू उपनामले चिनिने नम्बल्ला केशव राव सहित २६ जना माओवादी नेता तथा कार्यर्ता मारिएको भारत सरकारले बताएको छ।
भारतका गृहमन्त्री अमित शाहले उक्त घटनालाई तीन दशकमा भएको माओवादीहरूको विरुद्धको "सबैभन्दा निर्णायक प्रहार" भनेका छन्। दुई पक्षबीच मुठभेडका क्रममा एक जना प्रहरी पनि मारिएका बताइएको छ।
बसवराजूको मृत्यु भारतीय प्रशासनका लागि प्राविधिक जीत भन्दा पनि ठूलो उपलब्धि हो। यो घटनाले बस्तर क्षेत्रमा माओवादीको रक्षापङ्कतिको 'अन्तिम किल्ला तोड्न' प्रशासन सफल भएको सङ्केत गर्छ।
यो जङ्गली भूमिमा सन् १९८०को दशकदेखि माओवादी विद्रोहीहरूले आफ्नो नियन्त्रण कायम राखेका थिए।
नेपालसँगको सीमावर्ती पश्चिम बङ्गाल स्थित नक्सलबारीमा सन् १९६७ मा भएको विद्रोहपछि नक्सलवादी भनेर चिनिने माओवादीहरू भारतमा गोलबद्ध हुन थालेका थिए। उनीहरूले मध्य र पूर्वी भारतका झारखण्ड देखि महाराष्ट्रसम्मका क्षेत्रमा "रेड करिडोर" नै बनाएका थिए। उनीहरूको सञ्जाल देशको एक तिहाइ जिल्लाहरूमा फैलिएको छ।

तस्बिर स्रोत, AFP via Getty Images
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले उक्त विद्रोहलाई भारतको सबैभन्दा ठूलो "आन्तरिक सुरक्षा चुनौती" भनेका थिए।
सन् २००० यता उक्त सशस्त्र विद्रोहले १२,००० मानिसहरूको ज्यान लिएको दक्षिण एशियाली आतङ्कवाद सम्बन्धी एक संस्थाको अभिलेख छ। यी विद्रोहीहरू ग्रामीण क्षेत्रका गरिब जनता र आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको भन्दै उनीहरूको अधिकारका पक्षमा लड्ने दाबी गर्छन्।
सन् २००४ मा दुई वटा समूह एक भएर भारतीय कम्युनिस्ट पार्टी सीपीआई (माओवादी) बनेपछि यो विद्रोहले औपचारिक स्वरूप लिएको थियो। यो पार्टीले आफ्नो वैचारिक दर्शनको मूल सन् १९४६ मा तेलङ्गनामा भएको किसान आन्दोलनसँग जोडिएको बताउने गरेको छ।
नरेन्द्र मोदी नेतृत्वको वर्तमान सरकारले सन् २०२६ को मार्चभित्र माओवादी विद्रोह अन्त्य गर्ने वाचा गरेको छ। आफ्नो नेता मारिएसँगै अब यो विद्रोहको साँच्चिकै अन्त्य हुन्छ वा यो लामो रक्तपातपूर्ण यात्रामा अर्को एउटा विश्राम मात्रै हो?
"यो शान्त हुनेवाला छ। तर विगतमा पनि यस्ता चुनौतीहरू पार गर्दै मार्क्सवादी-लेनिनवादी आन्दोलन अघि बढेको छ। ७० को दशकमा पनि नक्सलवादी समूहका प्रमुख नेता मारिएका थिए। तर हामीहरू अहिले पनि नक्सलवादबारे कुरा गरिरहेका छौँ," लामो समयदेखि यो विद्रोहलाई नजिकबाट नियालिरहेका पत्रकार एन वेणुगोपाल बताउँछन्। उनी आफैँ पनि माओवादीप्रति आलोचक दृष्टि सहित सद्भाव राख्ने व्यक्ति हुन्।
तर भारतको गृह मन्त्रालयमा लामो समय माओवादीविरुद्धको कारबाहीमा संलग्न रहेका एक जना वरिष्ठ अधिकारी एम ए गणपतिको बुझाई फरक छ।
"सारमा माओवादी आन्दोलन एउटा वैचारिक सङ्घर्ष थियो। तर यो विचारधाराले विशेषगरी युवा पुस्तामाझ आफ्नो पकड गुमाएको छ। शिक्षित युवाहरूले यो कुरामा रुचि राख्न छोडिसके," गणपति भन्छन्।
"बसवराजूको अन्त्यपछि उनीहरूको मनोबल खस्किएको छ। उनीहरू अहिले अस्तित्वको अन्तिम लडाइँमा छन्।"

तस्बिर स्रोत, AFP via Getty Images
भारतको सङ्घीय गृह मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार भारतमा माओवादी सम्बद्ध हिंसाका घटना र त्यसमा ज्यान गुमाउने दरमा उल्लेख्य कमी आएको छ।
सन् २०१३ मा ११३६ वटा यस्तो हिंसाका घटना भएकामा सन् २०२३ मा घटेर ५९४ जना पुगेको थियो। त्यसैगरी त्यस्ता हिंसामा मारिनेको सङ्ख्या ६५ प्रतिशतले घटेर ३९७ बाट १३८ पुगेको थियो।
यद्यपि सुरक्षा निकायतर्फको मानवीय क्षति भने सन् २०२२ को तुलनामा २०२३ मा वृद्धि भएको देखिन्छ।
उक्त प्रतिवेदन अनुसार भारतको छत्तिसगढ माओवादी विद्रोहका कारण सबैभन्दा धेरै प्रभावित देखिन्छ। त्यसपछि प्रभावित राज्य झारखण्ड हो। त्यसपछि महाराष्ट्र, ओडेसा, मध्यप्रदेश र बिहारमा पनि माओवादी सम्बद्ध हिंसाका घटना भएका छन्।
भारतमा माओवादी विद्रोहको आधार इलाका मानिने छत्तिसगढमै माओवादी ढल्नुले व्यापक स्तरमा यो खस्कँदै छ भन्ने सङ्केत गरेको छ। एक दशक अघिसम्म पनि राज्यको प्रहरीलाई निकै कमजोर सङ्गठनको रूपमा हेरिने गरिएको गणपति बताउँछन्।
"राज्यको नेतृत्वमा केन्द्रीय अर्धसैनिक फौजबाट निशाना साधेर भएका आक्रमणले खेल परिवर्तन गरेको छ। उनीहरूका आधार इलाकाबारे जासुसी सूचना सङ्कलन गरेर सरकारी फौजले कारबाही सुरु गरेको छ," उनले भने।
गणपतिका अनुसार मोबाइल फोन, सामाजिक सञ्जाल, सडक सञ्जालले मानिसहरूलाई भूमिगत विद्रोहीहरूलाई समर्थन नगर्न जागरूक बनाएका छन्।
"मानिसहरू महत्त्वाकाङ्क्षी भएका छन्। मोबाइल फोन र सामाजिक सञ्जाले मानिसहरूलाई बाहिरी विश्वबारे जानकारी दिएर सचेत बनाएको छ। माओवादीहरू आफैँ पनि दुर्गम जङ्गलमा लुकेर बस्न सक्दैनन्। आम जनसमर्थनबिना विद्रोह टिक्न सक्दैन," उनी भन्छन्।

तस्बिर स्रोत, AFP via Getty Images
माओवादीप्रति कुनै समय सद्भाव राख्ने एक जना व्यक्तिले आफ्नो नाम नखुलाउने सर्तमा राजनीतिक सम्बन्ध कायम गर्न नसकेका कारण यो आन्दोलन कमजोर भएको बताए।
"उनीहरूले तेलङ्गनामा वास्तविक परिवर्तन र सामाजिक न्याय दिलाए। छत्तिसगढमा आदिवासी मानिसहरूलाई एकताबद्ध गरे। तर एकीकृत राजनीतिक शक्तिको स्वरूप उनीहरूले ग्रहण गर्न सकेनन्," उनी भन्छन्।
उनीहरूको असफलताको एउटा कारण एकान्त स्थानमा लुकेर "लामो जनयुद्धको बाटोबाट राज्यमाथि हमला गर्ने" रणनीति पनि रहेको उनको बुझाई छ।
"यस्तो पकड क्षेत्रको शैलीले राज्यले उनीहरूलाई नलखेट्दासम्म मात्रै काम गर्छन्। जब त्यो किल्ला भत्किन्छ त्यसपछि हजारौँ मारिन्छन्। अब के जङ्गलबाट विद्रोह सम्भव छ त भनेर सोच्ने बेला आएन र?"
सन् २००७ को भारतीय माओवादीको राजनीतिक दस्ताबेज माओकै पालाको रणनीतिमा अडिग छ। गाउँबाट सहरलाई घेर्ने रणनीतिले "अब काम नगर्ने" उनको तीखो टिप्पणी छ।
यो पार्टी बाहिरी विश्वसँग कम सम्पर्कमा रहेका भारतका कतिपय क्षेत्रमा अहिले पनि लोकप्रिय छ। विशेषगरी पूर्वी महाराष्ट्रका केही आदिवासी क्षेत्र, दक्षिणी छत्तिसगढ र ओडेसा र झारखण्डका केही भूभागमा। तर त्यहाँ यो पार्टीको बलियो सैन्य अखडा चाहिँ छैन।
सरकारी फौजद्वारा जारी कारबाहीका क्रममा दक्षिणी छत्तिसगढमा माओवादीका सैन्य पूर्वाधार उल्लेख्य रूपमा कमजोर बनेका छन्। अहिले उनीहरूका नेता र कार्यकर्ताहरूको हत्या नियमित बनेको छ। जसले उनीहरूको प्रतिरक्षा कमजोर बन्दै गएको देखाएको छ।
सामाजशास्त्री समेत रहेका वेणुगोपाल रणनीति त्यागिनु भन्दा पनि पुनर्विचार गरिनुपर्ने बताउँछन्।
भूमिगत सङ्घर्षको पनि आफ्नो गति हुने तर "त्यसलाई चुनावी राजनीतिमा रूपान्तरण गर्न चुनौती हुने" उनी बताउँछन्।
गणपति माओवादीले अर्थपूर्ण प्रतिकार गर्नेमा आशावादी देखिँदैनन्। उनी वार्ताको रणनीति अपनाउनुपर्ने बताउँछन्।
"उनीहरू अब नि:सर्त वार्तामा जानु बुद्धिमानी हुन्छ। वा सर्त राखेर सरकारलाई त्यसमा पुनर्विचार गर्न दिँदा पनि हुन्छ। बिना उद्देश्य आफ्ना कार्यकर्ताहरूको बलिदान दिनु भन्दा वार्ताका लागि सरकारसँग प्रस्ताव गर्नु उपयुक्त हुन्छ," उनी भन्छन्।

तस्बिर स्रोत, Getty Images
माओवादीले आन्ध्रप्रदेश र तेलङ्गना राज्यमा मूलधारका राजनीतिक दलहरूबाटै समर्थन पाइरहेको छ। उक्त समूहका बाँकी रहेका नेता र कार्यकर्ताहरूको ज्यान बचाउने उद्देश्यले तेलङ्गनामा त्यहाँको सत्ताधारी कङ्ग्रेस सहितका कैयौँ दलहरूले युद्धविरामको प्रस्ताव अघि सारेका छन्। नागरिक समाजले पनि युद्धविरामका लागि दबाव दिइरहेको छ।
विगतमा 'जातीय दमनविरुद्ध सङ्घर्ष गरेको' माओवादीप्रति यी राज्यका केही क्षेत्रमा अझै पनि मानिसहरूको समर्थन छ।
माओवादी प्रभावित राज्यहरू खनिजका लागि धनी क्षेत्र हुन्। यो क्षेत्रमा प्राकृतिक स्रोतको निम्ति लडाइँ पनि उत्तिकै छ। यही कारण माओवादीको उपस्थिति कायमै रहेको वेणुगोपालको बुझाई छ।
उदाहरणका लागि छत्तिसगढ भारतमा ढलानका लागि प्रयोग हुने बालुवाको ठूलो स्रोत भएको राज्य हो। यो राज्य कोइला, डोलोमाइट, बक्साइट र उच्च-गुणस्तरको फलाममा पनि भारतमा सबभन्दा अगाडि रहेको खानी मन्त्रालयले जनाएको छ।
भारतमा पाइने टिनको ३६ प्रतिशत हिस्सा यो राज्यमा छ। त्यस्तै २० प्रतिशत उच्च गुणस्तरको फलाम, १८ प्रतिशत कोइला, ११ प्रतिशत डोलोमाइट र ४ प्रतिशत हिरा र मार्बलको भण्डार छत्तिसगढमा छ। उच्च चासो भए पनि भारत र विश्वका खानी सञ्चालन गर्ने कम्पनीहरूले यी खानीसम्म पहुँच पाउन सकिरहेका छैनन्।
"माओवादी अभियानले जल, जङ्गल र जमिनमा आदिवासी मानिसहरूको अधिकार हुन्छ भन्ने नारा अघि सारेका कारण यो क्षेत्रमा कम्पनीहरू प्रवेश गर्न सकेका छैनन्," वेणुगोपाल भन्छन्।
तर माओवादी कमजोर बनेसँगै छत्तिसगढका चार वटा खानी उत्खननका लागि बोलपत्र आह्वान भएको छ।
माओवादी शीर्ष नेता मारिए पनि मानिसहरूको प्रतिकार नरोकिने वेणुगोपालको बुझाई छ।
"नेताहरू नरहे पनि मानिसहरूको आक्रोश बाँकी रहन्छ। जहाँ अन्याय हुन्छ त्यहाँ आन्दोलन हुन्छ। हामीले त्यसलाई माओवाद नभन्न सक्छौँ तर त्यो बाँकी नै रहन्छ"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








