इराकमा रहेका नेपालीले अब कसरी श्रम स्वीकृति पाउलान्? प्रक्रिया के हुन्छ?

तस्बिर स्रोत, Murtadha Al-Sudani/Anadolu via Getty Images
इराकमा रहेका नेपालीहरूले नेपाल आएका बेला इराकको वैध आवासीय पत्र र नेपाली नागरिकता देखाएर इराकको श्रम स्वीकृति पाउने अधिकारीहरूले बताएका छन्।
गत साता बसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीहरूलाई अभिलेखमा ल्याउने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयसँगै इराकमा रहेका नेपालीहरू अब सहज रूपमा नेपाल आवतजावत गर्न सक्ने भन्दै इराकस्थित गैरआवासीय नेपाली सङ्घले उक्त निर्णयको स्वागत गरेको छ।
उनीहरूका अनुसार इराकमा वैध अवैध रूपमा रहेका नेपालीहरूको सङ्ख्या करिब ३० हजार रहेको छ।
तीमध्ये करिब ८० प्रतिशत महिलाहरू रहेको र उनीहरू प्राय: घरेलु कामदारका रूपमा रहेको बताइन्छ।
करिब दुई दशकअघि १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै नेपाल सरकारले इराक जान नेपालीहरूलाई रोक लगाएको थियो र रोक अहिलेसम्म कायम छ।
इराकमा रहेका नेपालीहरूले आफूहरूलाई श्रम स्वीकृति उपलब्ध गराउन पटक पटक आग्रह गर्दै आएका थिए।
नेपाल नआई श्रम स्वीकृति पाइँदैन?

तस्बिर स्रोत, RSS
श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार इराकमा 'भ्यालिड रेसिडेन्सी कार्ड' पाएर बस्दै आएका नेपालीहरूले अब नेपाल आएका बेला श्रम स्वीकृति लिन सक्ने छन्।
"इराकमा सुरक्षित क्षेत्रमा काम गरिरहेका मानिसहरू अहिले छन्। ती नेपालीलाई त्यहाँ बसेको प्रमाण भ्यालिड रेसिडेन्सी कार्ड भएका नेपालीले नेपाल आएका बखत उहाँहरूले त्यो कार्ड र नागरिकता राखेर श्रम स्वीकृति माग्नुभयो भने दिने भन्ने हो," उनले भने।
"त्यसो गर्दा उहाँहरूलाई आवागमनमा सजिलो हुन्छ भन्ने उद्देश्यले गरिएको हो। तर त्यसको अर्थ नेपालबाट इराक जान चाहने नेपालीलाई श्रम स्वीकृति दिन लागिएको होइन।"
इराकमा नेपालीहरू घरेलु कामदारका रूपमा, विभिन्न क्याफेमा, अमेरिकी बेस क्याम्प, विभिन्न देशका दूतावासलगायतमा आबद्ध रहेर काम गरिरहेको गैरआवासीय नेपाली सङ्घका इराकका अध्यक्ष विनोद श्रेष्ठले बीबीसीलाई बताए।
नेपालीहरू जहाँ काम गर्छन् त्यही स्पोन्सरले उनीहरूलाई अस्थायी आवास पत्र (टेम्पोररी रेसिडेन्सी कार्ड) उपलब्ध गराउने श्रेष्ठले बताए। उनका अनुसार त्यो प्रत्येक एक वर्षमा नवीकरण गर्ने व्यवस्था रहेको छ।
नेपालीहरूले नेपालमा श्रम स्वीकृति नलिई अन्य माध्यमबाट संयुक्त अरब एमिरेट्स जान सहज हुँदा युएई हुँदै र असहज हुँदा भारत हुँदै त्यहाँ पुग्ने गरेको बताइन्छ।
इराकमा ठूलो सङ्ख्यामा महिलाहरू घरेलु कामदारका रूपमा काम गर्ने हुँदा उनीहरूको सुरक्षाको विषय पनि श्रम स्वीकृति पाएसँगै उठाउन सकिने श्रेष्ठले बताएका छन्।
अहिले नेपाल आएका बेला मात्रै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति लिन सकिने व्यवस्था भए पनि आफूहरूले अबका दिनमा अनलाइनमार्फत नै वा नेपाल नआई त्यस्तो स्वीकृति उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने श्रेष्ठले बताए।
माग भए भविष्यमा त्यसो पनि गर्न सकिने श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए।
"पछि चाहिँ हामीले विस्तार गर्ने, अनलाइन दिने वा इराक हेर्ने नेपाली दूतावासबाट दिने लगायतका कुराहरू पछि आवश्यकता भयो भने कार्यान्वयनमा जान थप निर्णय हुनसक्छ," मन्त्रालयका प्रवक्ता घिमिरेले भने।
अहिले इराक बस्ने नेपालीलाई के थियो समस्या?
गैरआवासीय नेपाली सङ्घ इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार इराकमा आवासीय कागजपत्र लिएर बसेका नेपालीहरूले श्रम स्वीकृति नपाउँदा वर्षौँदेखि घर आउजाउ गर्न पाएका थिएनन्।
दुई दशकअघिबाट नेपालले प्रतिबन्ध लगाए पनि विभिन्न बाटो हुँदै इराक जाने नेपालीको क्रम नरोकिएको उनी बताउँछन्।
"लामो समयदेखि नेपाल नफर्किएकाहरू धेरै ठूलो सङ्ख्यामा हुनुहुन्छ। त्यसले गर्दा पारिवारिक विचलनहरू असाध्यै बढेको छ। यताको परिवार फुट्ने उता बच्चा जन्मिने लगायतका समस्याहरू धेरै छन्," उनले भने।
"सरकारको यो निर्णयले अब त्यो समस्यालाई सजिलो हुने भयो। त्यहाँ सामान्य आम्दानी गर्ने मानिसले पनि सेटिङ मिलाएर फर्किनुपर्ने अवस्था थियो। त्यसको अब अन्त्य भएको छ।"
सरकारको यो निर्णयले इराकमा कामदारका रूपमा बस्दै आएका नेपालीहरू असाध्यै खुसी भएको उनले बताए। साथै त्यहाँ व्यवसाय गर्ने नेपालीहरू पनि व्यवसाय विस्तार गर्ने सम्भावनालाई लिएर सकारात्मक भएको उनले बताए।
नेपालीहरूले गरिरहेको व्यवसायमा ग्रोसरी, सलून, क्याफे, होटेल, मासुको व्यापार रहेको बताइन्छ।
इराकमा रहेको अनुमानित ३० हजार नेपालीमध्ये ८० प्रतिशत महिलाहरू भएको अनुमान गरिएको श्रेष्ठ बताउँछन्।
इराकको स्थलगत भ्रमण गरेर नेपाल सरकारले इराकमाथि लगाएको प्रतिबन्ध हटाइदिए नेपालीका लागि इराक गन्तव्य देश हुनसक्ने आफूले देखेको श्रेष्ठ बताउँछन्।
"कूटनीतिक पहलबाट त्यहाँको अवस्था हेरेर सही लाग्यो भने प्रतिबन्ध हटायो भने धेरै नेपालीको व्यापार व्यवसाय गर्ने सम्भावना रहेको छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








