कञ्चनपुरमा मान्छे मार्ने बाघ सधैँका लागि खोरमा राखिने सम्भावना, चितवनमा समातिएकालाई छाड्न सकिने

चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

तस्बिर स्रोत, Ishwor Joshi/BBC

तस्बिरको क्याप्शन, आइतवार चितवनको नारायणगढ बजारनजिकै मान्छेमाथि आक्रमण गर्ने एक बाघलाई नियन्त्रणमा लिई खोरमा राखिएको छ
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालका विभिन्न जिल्लामा मध्यसाउनमा एक साताभित्रै भएका दुई मानव-बाघ द्वन्द्वका घटनापछि सरकारले थप दुई वटा बाघलाई नियन्त्रणमा लिएको छ।

साउन १७ मा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ कमलसा टोलमा आफ्नै खेतमा काम गरिरहेकी एक महिलाको बाघको हमलाबाट मृत्यु भएको थियो।

त्यसको तीन दिनपछि साउन २० मा चितवनको नारायणगढ बजारनजिकै बाघले हमला गर्दा एक जना घाइते भएका थिए।

ती दुवै घटनामा जोडिएका बाघलाई संरक्षण अधिकारीहरूले नियन्त्रणमा लिएर खोरमा राखेका छन्। कञ्चनपुरमा समातिएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र नारायणगढमा समातिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख मानिसहरूलाई हमला गरेकाले समातिएका ती बाघको परीक्षण गरेपछि तिनलाई जङ्गलमै छाड्ने वा खोरमा राखिराख्ने निर्णय गरिने बताउँछन्।

विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गाना बीबीसीसँग कुराकानी गर्दै “सामान्यतः मानिस मारेको बाघलाई जङ्गलमा नछाडिने” गरेको बताउँछन्।

बाघविज्ञ डा. झमकबहादुर कार्की कहिलेकाहीँ कम उमेरको बाघले बाटो बिराएको अवस्था पनि हुने हुँदा त्यसको विभिन्न पक्षको जाँचबुझपछि उपचार गरेर जङ्गलमै छाड्न सकिने अवस्था पनि हुन सक्ने बताउँछन्।

नरभक्षी बाघ 'जीवनभर खोरमै'

कञ्चनपुरमा एक महिलाको मृत्यु हुने गरी हमला गरेको बाघलाई हात्तीको प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कञ्चनपुरमा एक महिलाको मृत्यु हुने गरी हमला गरेको बाघलाई हात्तीको प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो

नेपालमा बाघले मानिसलाई आक्रमण गरेमा तिनलाई समातेर खोरमा राख्ने गरिएको छ।

यस्ता नरभक्षी बाघ चिडियाखानामा छओटा, चितवनमा पाँचओटा र बर्दियामा चारओटा गरेर पन्ध्र पुगेको अधिकारीहरू बताउँछन्।

यसअघि पर्सा राष्ट्रिय निकुञ्जमा त्यसरी समातेर राखिएका दुई बाघको मृत्यु भएको थियो।

“चिडियाखानामा थप राख्ने अवस्था छैन, बाघलाई जहाँतहीँ राख्ने कुरा हुँदैन। उनीहरूलाई सुविधा पुग्ने गरी खोर र खानपानका साथ राख्नुपर्ने हुन्छ,” विभागका महानिर्देशक ढुङ्गाना भन्छन्।

“एउटा बाघलाई दैनिक कम्तीमा पाँच-छ किलो रातो मासु खुवाउनुपर्ने हुन्छ।”

बाघविज्ञ झमकबहादुर कार्की पनि नेपालजस्तो बाघको उल्लेख्य सङ्ख्या भएको देशमा यति सङ्ख्या बाघहरू खोरमा राख्नुपर्ने अवस्थालाई 'सामान्य' बताउँछन्।

सन् २०२२ मा भएको पछिल्लो बाघगणनामा नेपालमा बाघको सङ्ख्या ३५५ पाइएको थियो।

“मानिसको सुरक्षामा सम्झौता गर्ने कुरा हुँदैन। तीन सय भन्दा धेरै बाघ भएको ठानिएको नेपालमा एक प्रतिशतभन्दा कम सङ्ख्यामा खोरमा बाघ राख्नुपर्ने अवस्थालाई अस्वाभाविक भन्न मिल्दैन,” कार्की भन्छन्।

“यसबीचमा त्यस्ता बाघ राख्ने ठाउँहरू पनि बन्नुलाई राम्रो कदम मान्नुपर्छ। त्यस्ता [नरभक्षी] बाघलाई जीवनभर उनीहरूको बाँच्ने अधिकार सुनिश्चित गर्नुको विकल्प हुँदैन।”

तर एक पटक बाघ समातेर ल्याएर लामो समय जङ्गलबाहिर राख्दा पुनः जङ्गलबाट निस्कन सक्ने संशय भइरहने संरक्षण अधिकारीहरू बताउँछन्।

“त्यसबीचमा उक्त बाघ प्रभाव क्षेत्रमा अर्को बाघले नियन्त्रण जमाइसकेको हुन्छ र फर्किएको बाघलाई धपाउने जोखिम रहिरहन्छ। धेरै कुरा सिकार गर्न समेत बिर्सिसकेको हुन्छ। त्यो भनेको जीवनभर बाहिरै राख्नुपर्ने अवस्था हो।”

कुन बाघ जङ्गल फर्कन सक्छ, कुन सक्दैन?

कञ्चनपुरमा बाघको आक्रमणमा ज्यान गुमाएकी महिलाको शव ल्याइँदै

तस्बिर स्रोत, Shital Bhatta

तस्बिरको क्याप्शन, नेपालमा बाघको सङ्ख्यामा वृद्धि हुँदै जाँदा मान्छेमाथिको आक्रमणका घटना पनि बढ्दै गएको देखिएको छ

चितवन मानिसलाई घाइते बताएपछि समातिएको बाघको उमेर दुई देखि तीन वर्षबीचको हुन सक्ने संरक्षण अधिकारीहरूको प्रारम्भिक आकलन छ।

यसअघि समेत ठोरीमा त्यस्तै बाघलाई उद्धार गरेर जङ्गलमा छाड्दा समस्या नदेखिएकाले अधिकारीहरू यस हकमा प्राकृतिक वातावरणमै छाड्न सकिनेबारे आफूहरू आशावादी रहेको बताउँछन्।

विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गाना भन्छन्, “चितवनको बाघले बाटो बिराएकैजस्तो देखिन्छ। पशुचिकित्सक र प्राविधिकहरूले एक चरण परीक्षण गर्दै नै हुनुहुन्छ। सकेसम्म जङ्गलमै छाड्न सकियोस् भन्ने छ।”

बाघविज्ञ कार्की मुख्य रूपमा उद्धार गरिएको बाघको 'स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानि' को मूल्याङ्कनका आधारमा जङ्गल फर्काउने-नफर्काउने टुङ्गो गर्न सकिने बताउँछन्।

“उद्धार गरिएको बाघ बूढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राखिनुपर्छ,” कार्की भन्छन्।

“जङ्गलमा फिर्ता छाड्ने घटना खास गरी त्यस्तो बाघका हकमा हुन्छ, जो हुस्सुका बेला, आफ्नो क्षेत्रबाट अर्कोमा जाँदा छोटो समयका लागि अलग्गिएका हुन्छ। मानिससँग कसरी जम्काभेट भएको छ भन्ने कुरा र उसले कस्तो हानि पुर्‍याएको छ भन्ने कुराको अलग्गै मूल्याङ्कन गर्नुपर्छ।”

कञ्चनपुरमा समातिएको बाघ भारतपट्टिबाट आएकोजस्तो देखिएको अधिकारीहरूले ठानेका छन्।

“त्यस बाघलाई भारतमै लगेर छाड्न पनि गाह्रो छ। नेपालमा अन्यत्र लगेर छाड्न भन्नलाई बाघको प्रभाव क्षेत्र हुने भएकाले मिल्दैन,” महानिर्देशक ढुङ्गाना भन्छन्।

“कञ्चनपुरको बाघ उमेरकै हिसाबले समेत बूढो छ, जसको दाह्रा हल्लिएको, शरीरमा घाउ भएको, नङ्ग्रा पनि दुई वटा नभएकाले त्यो जङ्गलमा फर्किएर सिकार गर्दै जिउन सक्ने सम्भावना कमै हुन्छ। त्यसैले त्यसलाई जङ्गलमा छाड्ने काममा खतरा नै छ।”

जङ्गलमा बाघको औसत आयु १८-२० वर्षको हुने र खोरमा त्यो २५ वर्षसम्मको हुन सक्ने विज्ञहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।