भारतीय जोडीका छोराको नाम टुङ्गो लगाउन जब अदालत अघि सर्नुपर्‍यो

बच्चाको खुट्टा देखिने तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, इमरान कुरैशी
    • Role, बीबीसी हिन्दी

सन्तानको नाम राख्ने विषयमा आमाबुवाबीच वादविवाद हुनु खासै अनौठो नभए पनि यस्तो विवाद निकै दुर्लभ अवस्थामा मात्रै अदालतमा पुग्नेगर्छ।

तर पूर्वी भारतीय राज्य कर्नाटकका एक जोडीबीच आफ्ना छोराको नाम राख्ने विषयमा सुरु भएको विवाद तीन वर्षसम्म पनि नटुङ्गिएपछि अदालतले नाम टुङ्गो लगाउनु पर्‍यो।

नामको विवाद बढ्दै गएपछि उक्त जोडी सम्बन्धविच्छेदको मुद्दासम्म पुगेको थियो।

विवाद सन् २०२१ मा सुरु भएको थियो।

समाचारमा नाम उल्लेख नगरिएकी महिला छोरा जन्माएपछि माइत गएकी थिइन्। उनी त्यहाँ केही साता बसिन्।

भारत लगायतका देशहरूमा बच्चा जन्मिएपछि सुत्केरी स्याहार र आरामका लागि महिला माइत जाने परम्परा छ।

साधरणतयता माइती पक्षले सुत्केरी स्याहार गरेपछि श्रीमती र बच्चालाई लिन श्रीमान् ससुराली जाने गर्छन्।

तर छोरालाई आफूले राखिदिएको नाम राख्न अस्वीकार गरेपछि चिढिएका २१ वर्षकी ती महिलाका श्रीमान् श्रीमतीलाई लिन ससुराली नै गएनन्।

महिलाले आफ्ना छोराको नाम अदि राखिन्। जसको पहिलो अक्षर उनकै नामबाट थियो।

हुन्सुर नगरका सार्वजनिक वकिल सौम्य एमएनका अनुसार ती महिलाले उनका श्रीमान्‌को नामको अक्षर पनि छोराको नाममा अटाएकी थिइन्।

माइतमा महिना हुँदै वर्ष बितिसक्दा पनि श्रीमान् नआएपछि उनी आफ्ना श्रीमान्‌बाट आर्थिक सहायताको दाबी गर्दै मैसूर जिल्लाको हुन्सुरस्थित स्थानीय अदालत पुगिन्।

उनका वकिल एमआर हरिशले बीबीसीलाई बताए अनुसार उनीहरूबीचको विवाद बढ्दै गयो र उनी श्रीमान्‌सँग पारपाचुके गर्ने अवस्थामा पुगिन्।

"उनले घर चलाउन पैसा माग गरेकी थिइन्," उनले भने।

यसरी टुङ्गियो नाम

उक्त मुद्दा सबैभन्दा पहिले स्थानीय अदालतमा दर्ता भएको थियो।

तर पछि यो मुद्दालाई 'पीपल्स' भनिने लोक अदालतमा पठाइयो। मेलमिलाप हुनसक्ने मुद्दालाई कर्नाटकमा लोक अदालतमा पठाइन्छ।

न्यायाधीशहरूले कैयौँ पटक मिल्न सल्लाह दिए पनि उनीहरू आफ्नो अडानबाट टसमस भएनन्।

अन्तिममा अदालतले एउटा नाम राखिदियो र त्यसमा उनीहरू दुवै सहमत भए।

अदालतले उक्त बालकको नाम - आर्यवर्धक - राखिदिएको सरकारी वकिल सौम्यले जानकारी दिएका छन्। यो नामको अर्थ "अभिजात" भन्ने हुन्छ।

अदालतबाट छोराको नाम टुङ्गो लगाएपछि उक्त जोडीले भारतीय परम्परा अनुसार एक अर्कालाई स्वीकार गरेको जनाउने शैलीमा फुलमाला लगायो।

त्यहाँबाट उनीहरू खुसी भएर आफ्नो वैवाहिक जीवनलाई निरन्तरता दिने प्रतिबद्धतासहित बाहिरिए।

पहिलो घटना होइन

भारतमा बच्चाको नाम अदालतबाट टुङ्गो लगाइएको यो पहिलो घटना चाहिँ होइन।

गत सेप्टेम्बरमा दक्षिण भारतको केरलामा एक जना बालिकाको जन्मदर्तामा नाम खाली देखिएपछि विद्यालयले उनलाई भर्ना गर्न अस्वीकार गरेको थियो।

उनकी आमाले चार वर्ष पुगेकी ती बालिकाको जन्मदर्ताको प्रयास गरेकी थिइन्।

तर सम्बन्ध विच्छेद भइसकेका र सम्पर्कमा पनि नरहेका श्रीमान्‌को नाम नराखी जन्मदर्ता गर्न स्थानीय अधिकारीहरूले अस्वीकार गरेको भन्दै उनी अदालत पुगिन्।

उक्त मुद्दामा उच्च अदालतले जन्मदर्ता गर्ने कार्यालयलाई आमाले प्रस्ताव गरेको नाम राखेर छोरीको जन्मदर्ता गर्न र बुवाको नाम पनि त्यसमा थप गर्न आदेश दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।