केपी ओली र शेरबहादुर देउवासहित विभिन्न नेताका घरमा तोडफोड र आगजनी

काठमाण्डू उपत्यकामा स्थानीय प्रशासनले मङ्गलवार कर्फ्यू लगाएको भए पनि विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएका विवरणहरू आएका छन्।
प्रदर्शनकारीका समूहहरूले विभिन्न नेता तथा मन्त्रीका घरमा पनि तोडफोड तथा आगजनी गरेका विवरणहरू आएका छन्।
बानेश्वरस्थित सिभिल अस्पतालका कार्यकारी निर्देशक डा मोहन रेग्मीका अनुसार मङ्गलवार त्यहाँ थप ९२ जना घाइते ल्याइएको र दुई जनाको ज्यान गएको जानकारी दिएका छन्।
कहाँ के भयो
मङ्गलवार दिउँसोसम्म सिंहदरबार तथा संसद् भवन परिसरमा प्रदर्शनकारीहरू पसेका विवरण आएका छन्।
भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगजनी तथा तोडफोड भएको सामाजिक सञ्जालमा भिडिओहरू पोस्ट भएका छन्। त्यहाँ आगजनी भएका विवरणहरू विभिन्न सञ्चारमाध्यमले पनि दिएका छन्।
त्यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका विवरण आएका छन्।
देउवा निवासमा तोडफोड भएको र त्यहाँ स्थिति नियन्त्रणको प्रयास भइरहेको आफूले थाहा पाएको देउवानिकट कांग्रेस नेता तथा पूर्वमन्त्री एनपी साउदले केही बेरअघि बीबीसीलाई बताए।
धनगढीमा पनि देउवा निवास प्रदर्शनकारीको तारोमा परेको छ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले 'पेट्रोल बम' लगातार फालिरहेको जानकारी पाएको उक्त पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन्।
यसअघि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्काका निवासहरूमा तोडफोड गरिएका विवरणहरू पनि आएका थिए।
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा तोडफोड भएका तस्बिर पछिल्लो अवस्थाबारे प्रहरी तथा गृहमन्त्रालयका प्रवक्ताहरूसँगको सम्पर्कको प्रयास सफल हुन सकेन।
राजधानीबाहिर पनि प्रदर्शन

मङ्गलवार काठमान्डूबाहिर धेरै ठाउँमा प्रदर्शन तथा हिंसात्मक झडपहरू भएका विवरण आएका छन्।
नेपालगन्जस्थित संवाददाता विमला चौधरीले अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको जानकारी दिइन्। त्यहाँ एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी भएको तथा पुष्पलालको शालिक भत्काइएको उनले बताएकी छन्।
सुर्खेतमा प्रदर्शनकारीहरूले कांग्रेस तथा एमाले पार्टी कार्यालयमा तोडफोड र सामानहरु बाहिर निकालेर आगो लगाएको संवाददाता प्रकाश पन्तले जानकारी दिएका छन्।
जेन जी प्रदर्शन चर्किँदै गएपछि स्थानीय प्रशासनले कोशी प्रदेशको राजधानी विराटनगरमा पनि कर्फ्यू आदेश जारी गरेको संवाददाता विक्रम निरौलाले जानकारी दिएका छन्।।
मधेस प्रदेशको वीरगन्ज, पर्सा, बारा, महोत्तरी, बर्दिबास, सर्लाही, जनकपुरलगायतका स्थानमा प्रदर्शनका कारण स्थिति तनावग्रस्त भएको वीरगन्जस्थित संवाददाता माधुरी महतोले जानकारी दिइन्।
पोखरामा कर्फ्यू लागे पनि प्रदर्शन भएका अनि ठाउँठाउँमा तोडफोड भएको संवाददाता कृष्णमणि बरालले जानकारी दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








