हिज्बुल्लाहका वरिष्ठ कमान्डर मारिदिएको इजरेलको दाबी

तस्बिर स्रोत, Reuters
इजरेलले लेबननको राजधानी बेइरुतमा गरिएको एक आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर मारिएको दाबी गरेको छ।
मुख्य सहरको बाहिरी क्षेत्रमा पर्ने दाहियामा भएको विस्फोटमा कम्तीमा एक जना मारिएको र कैयौँ अन्य घाइते भएको बताइएको छ। उक्त क्षेत्रमा लेबननको सशस्त्र समूहको वर्चस्व भएको मानिन्छ।
इजरेली सेनाले "सुराकीमा आधारित कारबाही" अन्तर्गत लडाकु विमानबाट हिज्बुल्लाहका कमान्डर फुआद सुकरलाई निसाना बनाइएको जनाएको छ।
तर स्थानीय सुरक्षा स्रोतहरूले निशाना बनाइएको भवनमा सुकर नभएको बताएका छन्।
इजरेली अधिकारीहरूले गत शनिवार इजरेलको गोलन हाइट्समा अधिकांश बालबालिकासहित १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणमा उनी जिम्मेवार रहेको दाबी गरेका छन्।
लेबननका प्रधानमन्त्री नजीब मिकातीले “इजरेलको खुला आक्रमण”को निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई “आपराधिक कार्य” भन्दै सर्वसाधारणहरूको ज्यान जाने गरी आक्रमण गरेर इजरेलले “अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन” गरेको दाबी गरेका छन्।
आक्रमणपछि सामाजिक सञ्जालमा एउटा छोटो पोस्ट गर्दै इजरेली रक्षामन्त्री योअफ गालान्टले हिज्बुल्लाहले “हद नाघेको” टिप्पणी गरेका छन्।
इजरेलले हिज्बुल्लाहका कमान्डर फुआद सुकर मारिएको दाबी गरे पनि उनी मारिएको स्वतन्त्र पुष्टि भएको छैन।
अमेरिकाले खोजिरहेका कमान्डर

तस्बिर स्रोत, AFP
बेइरुतको सुरक्षा स्रोतले इजरेलले निसाना बनाउन चाहेको ठाउँ उक्त भवन नभएको बताएको छ। हिज्बुल्लाहले हालसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरेलले आक्रमणअघि अमेरिकालाई जानकारी गराएको उल्लेख गरेको छ।
इजरेली आक्रमणमा मारिएका भनिएका फुआद सुकर हिज्बुल्लाहका नेता हसन नस्रल्लाहका वरिष्ठ सल्लाहकार रहेको अमेरिकाले यसअघि बताएको थियो।
अमेरिकाले उनको बारेमा जानकारी दिने व्यक्तिलाई ५० लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको थियो।
सन् १९८३ मा बेइरुतस्थित अमेरिकी ब्यारेकमा गरिएको आक्रमणमा उनको “मुख्य भूमिका” रहेको दाबी अमेरिकाले गर्दै आएको छ।
उक्त आक्रमणमा २४१ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।
हिजबुल्लाहको पकड क्षेत्रमा आक्रमण
इजरेलले हवाई हमला गरेको दानिया क्षेत्र बाक्लो जनघनत्व रहेको र उच्च पहराभित्र रहेको क्षेत्र हो। यहाँ प्रवेश गर्न हिज्बुल्लाहले ठाउँठाउँमा राखेका जाँचचौकीहरू पार गर्नुपर्छ।
इजरेली आक्रमणबारे प्रतिक्रिया जनाउँदै ह्वाइटहाउसकी प्रेस सेक्रेटरी करिन जीन-पिअरले अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेल र हिज्बुल्लाहबीच थप युद्ध नहोस् भन्ने चाहेको बताएकी छन्।
“हामी तनाव नबढोस् भन्ने चाहन्छौँ। हामी पूर्ण स्तरको युद्ध चाहँदैनौँ,” उनले भनिन्।
यसअघि दुई इजरेली अधिकारीहरूले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आफूहरूले हिज्बुल्लाहलाई क्षति पुर्याउन चाहे पनि लेबननसँग युद्ध नचाहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








