इलोन मस्कद्वारा निलो टिक सहितको ट्विटर खाताका लागि मासिक ८ डलर लिने घोषणा

तस्बिर स्रोत, Reuters
इलोन मस्कले ट्विटरको प्रमाणित खाताका लागि प्रयोगकर्ताबाट मासिक ८ डलर ( झन्डै १, ०६३ रुपियाँ) शुल्क लिने बताएका छन्।
उक्त सामाजिक सञ्जाललाई ४४ अर्ब डलरमा खरिद गरेपछि मस्कले ‘स्पाम/ठगीलाई पराजित गर्न’ त्यो अपरिहार्य रहेको जनाएका छन्।
हाल मुख्य गरी उच्च पदस्थ व्यक्तिहरूको खातामा नामको पछाडि निलो टिक निःशुल्क छ।
यो कदमले विश्वसनीय स्रोतहरू पहिचान गर्न अप्ठेरो बनाउने आलोचकहरूले बताएका छन्।
शुल्कको सुविधा
विश्वका धनी व्यक्ति रहेका मस्कले शुल्क तिर्ने प्रयोगकर्ताहरूले थप सुविधा पाउने भन्दै उनीहरूले जबाफ दिँदा र खोजीमा प्राथमिकता पाउने र आधा विज्ञापनमात्रै प्राप्त गर्ने जनाएका छन्।
मासिक ८ डलरमा निलो टिक दिने निर्णयले मानिसहरूलाई शक्तिशाली बनाउने भन्दै उनले विगतको खाता प्रमाणीकरण प्रणालीलाई ‘मालिक र दास प्रणाली’ का रूपमा उल्लेख गरेका थिए।
यसअघिको ट्विटरको भेरिफिकेशन प्रणालीमा एउटा संक्षिप्त अनलाईन निवेदन फारम्म आवश्यक पर्थ्यो। त्यस्तो प्रमाणित खाता लोकप्रिय व्यक्तित्वहरू, राजनीतिज्ञहरू र पत्रकारहरूलाई उपलब्ध गराइन्थ्यो।
सन् २००९ मा नक्कली खाताहरू नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको आरोप सहित कानुनी चुनौतीहरूको सामना गर्नुपरेपछि उसको त्यस्तो निर्णय आएको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
तर वर्षौँदेखि नाफा नकमाइरहेको ट्विटरको व्यवसायलाई पुनर्संरचना गर्न खोजिरहँदा मस्कले ठूला चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ।
उनले ट्विटरको विज्ञापन निर्भरता आफूले कम गराउन चाहेको बताएका छन्। मस्कको नेतृत्वमा उक्त वेबसाइटमा विज्ञापन दिने विषयमा कतिपयले चिन्ता व्यक्त गरेका छन्।
मस्कको विद्युतीय सवारीसाधन सम्बन्धी कम्पनी टेस्लाको प्रतिस्पर्धीका रूपमा रहेको जेनरल मोर्टर्सले अघिल्लो हप्ता उक्त वेबसाइटमा विज्ञापन दिन आफूले रोक्ने बताएको थियो।
कतिपय अरू ब्रान्डहरूले पनि मस्कले गर्ने परिवर्तनले कस्ता फेरबदल ल्याउँछन् त्यो हेर्नलाई मौन रूपमा विज्ञापनमा अस्थायी रोक लगाएको एउटा अग्रणी विज्ञापन फर्मका लगानीकर्ताले बताएका छन्।
विज्ञापनदातामा चिन्ता
सोमबार संसारकै ठूलो मध्येको एउटा विज्ञापन कम्पनी आइपीजीले आफ्ना ग्राहकहरूलाई एक हप्ताका लागि ट्विटरमा विज्ञापन नगर्न सुझाव दिएको थियो।
उसले उक्त माध्यमको ‘विश्वास र सुरक्षा’ बारे प्रस्ट हुन आवश्यक रहेकाले सो निर्णय गरिएको जनाएको थियो।
आइपीजीलाई विश्वका कतिपय ठूला ब्रान्डले उनीहरूको मार्केटिङ लागि अर्बौँ पाउन्ड दिने गर्छन्।
प्रारम्भिक खबरमा मासिक २० डलरसम्म शुल्क लिएर निलो टिक उपलब्ध गराउने भनिएपछि उक्त योजनाले आशङ्का उब्जाएको थियो।
लेखक स्टिभन किङले ती विवरणको जबाफमा ट्विटरले बरु उल्टो ‘मलाई तिर्नुपर्छ’ भन्ने जवाफ दिएपछि त्यही आशयको धारणा धेरैले राखेका थिए।
मस्कले चाहिँ किङलाई जबाफ दिने क्रममा ‘हामीले पनि कुनै तरिकाले खर्च ब्यहोर्नुपर्छ’ लेखेका थिए।









