सन्दीप लामिछानेलाई यूएई जाने अनुमति दिने विषयमा निर्णय भएन

तस्बिर स्रोत, CAN
एक नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई यूएईमा हुने खेलमा सहभागी हुन जान अनुमति मागिएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयको निवेदन सँगै राखेर आइतवार पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो।
यूएईमा आगामी साताबाट सुरु हुने आईसीसी विश्वकप लीग-२ शृङ्खलामा खेल्न विदेशयात्राको अनुमति माग गर्दै अदालतमा निवेदन प्रस्तुत गरिएको थियो।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बीबीसीसँग भने, “आइतवार दुईवटै निवेदनसँगै राखेर पेस गर्नु भन्ने आदेश भएको छ।”
लामिछानेलाई सर्तसहित रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो।
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र हरिप्रसाद फुयालको संयुक्त इजलासमा हुने कार्यसूची थियो।
अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले उनलाई यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको समावेश गरेको छैन। टोली शनिवार यूएई जाने योजनामा छ।
यूएईमा नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित शृङ्खला यही फागुन १५ सोमवार बाट सुरु हुनेछ।
क्रिकेटर लामिछानेले एक दिनअगाडि मात्र आफू यूएईमा हुने शृङ्खलामा सहभागी हुन पाऊँ भन्दै निवेदन दिएका थिए।

तस्बिर स्रोत, CAN
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका बेला एक नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको थियो।
तर गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो।
न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई तारेखमा छोड्ने आदेश दिँदा उल्लेख गरिएका थुप्रै बुँदाहरूमध्ये एउटामा लामिछानेलाई मुद्दाको छिनोफानो नभएसम्म विदेश जान रोक लगाइएको थियो।
लामिछाने उक्त प्रतिबन्धात्मक बुँदा हटाउन माग गर्दै सर्वोच्च अदालतमा पुगेका हुन्।
लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाण्डू उपत्यका छाड्नुपरेको खण्डमा समेत काठमान्डू छोड्ने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।


अर्को सुनुवाइ हेर्दाहेर्दैमा
सन्दीप लामिछानेमाथि लागेको मुद्दाको अर्को सुनुवाइ पनि शुक्रवार नै थियो।
लामिछाने रिहा भएपछि नेपाल क्रिकेट सङ्घले उनलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो।
काठमाण्डूमा आयोजित आईसीसी विश्वकप लीग-२ खेलेका उनले १३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।
तर महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई पुनः थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै पाटन उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो।
शुक्रवार तोकिएको उक्त मुद्दा न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र हरि फुयालको संयुक्त इजलासले हेर्न भ्याएन।
यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई यूएईमा हुने खेलहरूमा सहभागी गराउने पहल अघि बढाएका विवरण आएका थिए।
हाल अङ्कतालिकामा छैटौँ स्थानमा रहेको नेपालले विश्वकप लीग-२ का आठवटा खेल खेल्न बाँकी नै छ।
नेपालले यूएईमा आफ्नो पहिलो खेल आगामी सोमबार पपुवा न्यूगिनीसँग खेल्दैछ।
नेपाली क्रिकेट टोलीको एकदिवसीय मान्यता कायम राख्न उक्त प्रतिस्पर्धाका बाँकी खेलहरूमा जित हासिल गर्नु नेपालका लागि महत्त्वपूर्ण रहेको ठानिएको छ।

घटना के हो
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नेपाल क्रिकेट सङ्घको कार्य सम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
नेपालमा उजुरी दर्ता हुँदा उनी क्यारिबीअन लीग खेल्न जमैकामा थिए।
आरोपहरू सार्वजनिक भएपछि उक्त लीगलाई बीचमै छाडेर केही समय सम्पर्कविहीन भएका लामिछाने त्यसको केही समयपछि नेपाल फर्केका थिए।
प्रहरीले सन्दीप लामिछाने निर्धारित समयभित्र नेपाल नआएपछि उनी विरुद्ध इन्टरपोलमार्फत् सूचना पनि जारी गरेको थियो।
त्यसपछि सन्दीपले पहिलो पटक फेसबुक स्टेटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने जनाएका थिए।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
उनी पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका थिए।




