नागरिक उन्मुक्तिमा देखिएको विवाद पारिवारिक कि पार्टीगत

रेशम चौधरी

तस्बिर स्रोत, Resham Lal Chaudhary

श्रीमान्‌ श्रीमती समेत रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले दुई वटा प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ।

पार्टीमा प्रभावशाली ठानिएका रेशम चौधरी प्रदेशमा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्ने पक्षमा छन् भने अध्यक्ष श्रेष्ठ सङ्घमा जस्तै प्रदेशहरूमा पनि माओवादी र एमाले सहितको गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा छिन्।

पार्टीका दुई प्रमुख नेताहरूबीचको मतभेदले विवादको रूप लिएको छ र दुई पक्षबीचको हातपातमा संलग्न नेताहरूलाई आफूले कारबाही गरेको अध्यक्ष श्रेष्ठले बताएकी छन्।

बीबीसीको प्रश्नमा अध्यक्ष श्रेष्ठले आफूहरूलाई सङ्घमा एउटा र प्रदेशमा अर्को गठबन्धनमा बस्न नैतिकताले नदिने बताइन्।

“हामी सङ्घमा जुन गठबन्धनमा छौँ सुदूर पश्चिममा पनि त्यही गठबन्धनमा जान्छौँ,” उनले भनिन्।

“कांग्रेस नेतृत्वका मुख्यमन्त्रीलाई प्रदेशमा साथ दिन नैतिकताले दिँदैन।”

पार्टीका संयोजक चौधरी भने आफ्नो दल शक्ति सन्तुलनका पक्षमा रहेको बताउँछन्।

पार्टीमा विवाद किन

सुदूर पश्चिम प्रदेशका मन्त्री

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुदूर पश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी हालैमात्र सामाजिक विकासमन्त्रीमा नियुक्त भएका हुन्

अध्यक्ष श्रेष्ठ पार्टीमा विवाद नरहेको दाबी गर्छिन्। उनले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताबारे देखिएको मतभेदलाई पार्टीमा देखिएको “दुबिधा” भनिन्।

“सुदूर पश्चिमका साथीहरूको भावना विपरीत जानु हुँदैन भन्ने मेरो र साथीहरूको भावना विपरीत संयोजकले अल्पमतमा परेको सरकारसँग मिलेर जानुपर्छ भन्ने कुरामा पार्टीका साथीहरू र संरक्षकज्यूको विमति भएको कारणले यो विवाद आएको हो,” श्रेष्ठ भन्छिन्।

बीबीसीले राखेको जिज्ञासामा पार्टीका संयोजक चौधरीले सुदूर पश्चिम प्रदेशको सरकारबारे निर्णय गर्ने अधिकार त्यही प्रदेशका सांसदहरूलाई दिनुपर्ने बताए।

“प्रदेशका सांसदहरू कुनै भेडा बाख्रा होइनन्। आज यता लैजा भन्यो यता उता भन्यो उता लैजाने। उहाँहरूसँग छलफल गर्छौँ उहाँहरूको मत के आउँछ,” चौधरीले भने।

सुदूर पश्चिम प्रदेशमा रहेका नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद मध्ये पाँच जना मन्त्री भएका छन्।

पार्टी अध्यक्ष श्रेष्ठ भने संयोजक चौधरीलाई प्रदेशकै कुरा नसुनीकन गठबन्धनबारे निर्णय लिएको आरोप लगाउँछिन्।

“पार्टीबाट बहुमतको निर्णय भइसकेको छ,” उनले भनिन्।

चौधरीले पार्टी अध्यक्षले नभई केन्द्रीय समितिको निर्णयबारे चल्ने तर्क गरे।

रञ्जितालाई रेशम पक्षले कारबाही गर्छन्?

रेशम र रञ्जीता

तस्बिर स्रोत, Resham Lal Chaudhary

पार्टीको केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको दाबी गरेका चौधरीले सोमवार पार्टीको विवाद सतहमा आएपछि चैत्र २२ र २३ गते केन्द्रीय समितिको बैठक आह्वान गर्दै पार्टीको निर्णय नमान्ने नेताहरूमाथि कारबाही हुने बताएका थिए।

तर बीबीसीसँग मङ्गलवार कुरा गर्दै चौधरीले भने, “पार्टीमा कारबाही गर्ने कुरा कसरी उठेको हो भने हिजो पार्टीमा विवाद मात्रै थियो। आवेशमा आएर साथीहरू पत्रकार सम्मेलन गरेर पार्टीका कुराहरू छताछुल्ल गर्ने गरेकाले कारबाही गर्ने कुरा आएको हो।”

तर उनले पार्टी अध्यक्ष रञ्जीतामाथि कारबाही नहुने बताए।

“उहाँले के नै गल्ती गर्नुभएको छ र कारबाही गर्ने? आखिर उहाँ पनि हाम्रो संस्थापक अध्यक्ष नै हो। अध्यक्षसँग छलफल गरेरै जाने हो,” चौधरी भन्छन्।

उनले पार्टीमा देखिएको विवाद मिलाउने पक्षमा आफू रहेको दाबी गरे।

पार्टी अध्यक्ष श्रेष्ठ पनि आफूले पार्टीमा राखेको अडानकै आधारमा कारबाही हुने नठानेको बताउँछिन्।

“पार्टीमा मैले अनुचित कार्य गरेको छ भने पक्का पनि मलाई कारबाही हुनुपर्छ तर मैले पार्टीलाई हानी हुने कार्य गरेको छैन,” उनले भनिन्।

“हामीले त पार्टी बनाउनका लागि जनमतको कदर गर्नुपर्छ। पार्टी हित विपरीत कार्य गरेको रहेछु भने कारबाही गर्दा मलाई कुनै पनि असर गर्दैन।”

पारिवारिक विवाद पार्टीमा देखिएको हो?

रेशम चौधरी र रञ्जीता श्रेष्ठ

तस्बिर स्रोत, Resham Lal Chaudhary

बीबीसीले नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद श्रीमान् र श्रीमतीबीचको पारिवारिक बेमेलको कारण त होइन भन्ने प्रश्न दुवै जनालाई सोधेको थियो।

जवाफमा रेशम चौधरीले भने, “हैन हैन त्यस्तो केही भएको छैन। एक त नयाँ पार्टी भयो, नयाँ साथीहरूलाई पार्टीको नियम कानुन थाहा छैन प्रशिक्षण पनि दिन पाएका छैनौँ। अस्तिसम्म म जेलमै थिएँ।”

चौधरीका अनुसार उनी केही दिनअघि मात्रै जापानबाट फर्कँदा श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जीता उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेकी थिइन्।

“आज दुई बजेतिर उहाँसँग भेट गर्ने कार्यक्रम थियो तर भेट भएन,” उनले भने।

रञ्जिता पनि आफूहरूबीच पारिवारिक विषयमा विवाद नरहेको दाबी गर्छिन्।

“पारिवारिक विवाद केही छैन। पार्टीगत रूपमा पनि अध्यक्ष र संरक्षकको बीचमा कुनै विवाद छैन। संरक्षक र पार्टीका साथीहरूबीचको विमतिले गर्दा विवाद निम्तिएको हो,” उनले भनिन्।

उनले आफूले पार्टीका संरक्षक चौधरीलाई असहयोग नगरेको दाबी गरिन्। चौधरीले पनि पार्टीमा फुट र विभाजन नहुने दाबी गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।