पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा विस्फोट, कैयौँको ज्यान गयो

पाकिस्तान

तस्बिर स्रोत, RESCUE 1122 BAJAUR

पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ।

उत्तर पश्चिम बाजौर जिल्लाको खार तहसिल इलाकामा भएको सो विस्फोटनमा कम्तीमा ३५ जनाको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको विवरण आएको छ।

विस्फोटन भएको स्थानमा जमीयत उलेमा-ए-इस्लाम-फज्ल(जेयूआई)ले एउटा बैठक आयोजना गरिरहेको थियो।

अधिकारीहरूले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र उनीहरूले मृतकको सङ्ख्या अझ बढ्नसक्ने चेतावनी दिएका छन्।

अधिकारीहरू के भन्छन्?

पाकिस्तान

तस्बिर स्रोत, RESCUE 1122 BAJAUR

घाइतेहरूको उद्धार अभियान जारी छ। प्रहरीले विस्फोटनको कारणबारे केही खुलाएको छैन।

स्थानीय टेलिभिजनहरूमा प्रसारित दृश्यहरूमा एम्बुलेन्सले आदिवासीहरूको बसोबास रहेको बाजौर जिल्लास्थित अस्पतालमा बिरामीहरू ओसारिरहेको देख्न सकिन्छ।

उक्त क्षेत्र पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा पर्छ जुन अफगानिस्तानको सीमा नजिकै छ।

अस्पतालहरूमा मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन्।

अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेका छन्।

स्थानीय अधिकारीहरूले जेयूआईका एक जना क्षेत्रीय नेता मौलाना जीयाउल्लाह मारिएको बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै हमलाको जाँचका लागि निर्देशन दिएका छन्।

उनले उक्त विस्फोटनका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै ‘आतङ्कवादीहरू पाकिस्तानका दुश्मन भएका र तीनलाई पराजित गरेरै छाड्ने’ दृढता व्यक्त गरेका छन्।

जमीयतले भन्यो - षडयन्त्र

पाकिस्तान विस्फोट

तस्बिर स्रोत, TARIQ ZAMAN

जमीयत उलेमा-ए-इस्लामका महासचिव तथा सीनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको निन्दा गरेका छन्।

उनले सोच विचार गरेर नै देशको माहौल खराब बनाउने षडयन्त्र भइरहेको बताए।

उनले भने, “जमीयत उलेमा इस्लाम शान्तिको बाटोमा हिँडने पार्टी हो। हामीले सधैँ शान्तिको बाटो हिँडेका छौँ।”

पाकिस्तानका गत केही महिनामा चरमपन्थी गतिविधि बढेको छ।

यो वर्षको सुरुआतमा खैबर पख्तूनख्वाको राजधानी पेशावरमा एक मस्जिदलाई निशाना बनाएर आत्मघाती हमला भएको थियो। त्यसमा कैयौँले ज्यान गुमाएका थिए।

जेयूआई-एफ के हो?

जमीयत उलेमा ए इस्लाम फज्ल (जेयूआई-एफ) पाकिस्तानको एक प्रमुख राजनीतिक पार्टी हो। यो पार्टी पाकिस्तानको सत्ताधारी गठबन्धनमा शामेल छ।

पाकिस्तानमा यो वर्षको अन्त्यतिर चुनाव हुन सक्छ। जेयूआई-एफ त्यसैको तयारीमा जुटेको छ। र आइतवारको र्‍याली उसको शक्ति प्रदर्शनको एक मौकाका रूपमा हेरिएको थियो।

पार्टीका नेता फजल उर रहमानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग घटनाको छानबिन गर्न माग गरेका छन्।