कोसोभोका एक जना पूर्व राष्ट्रपतिले किन युद्ध अपराधको मुद्दा खेपिरहेका छन्?

तस्बिर स्रोत, Getty Images
कोसोभोका पूर्व राष्ट्रपतिसहित कोसोभो लिबरेसन आर्मीका अन्य तीन जना नेता विरुद्धको मुद्दामा हेग स्थित एक विशेष अदालतमा सुनुवाइ सुरु हुन लागेको छ।
सन् १९९८ र १९९९ मा कोसोभो र सर्बियाबीच भएको युद्धमा मानवताविरुद्ध अपराध गरेको आरोप लागेका राष्ट्रपति हाशिम ताचीले सन् २०२० को नोभेम्बरमा पदबाट राजीनामा दिएका थिए।
कोसोभो कहाँ छ?
कोसोभो बाल्कन्स क्षेत्रको राष्ट्र हो।
यो देशको सीमा एल्बेनिया, उत्तरी म्यासेडोनिया, मन्टेनेग्रो र सर्बियासँग जोडिएको छ।
सर्बियाका धेरै नागरिक उक्त स्थानलाई आफ्नो देशको उद्गमस्थल मान्छन्।
अहिले पनि यो देशको १८ लाख जनसङ्ख्याको ९० प्रतिशत भन्दा धेरै मानिस एल्बेनियन आदिवासी छन्।

तत्कालीन युगोस्लाभिया अन्तर्गत पर्ने कोसोभो कुनै समय सर्बियाको स्वशासित प्रान्त थियो।
तर सन् १९८९ मा सर्बियन राष्ट्रपति स्लोबोडान मिलोसेभिचले सर्बियाको उक्त हैसियत खारेज गरिदिए।
त्यो निर्णयपछि आदिवासी एल्बेनियनहरू उक्त देशलाई पूर्ण स्वतन्त्र बनाउन आन्दोलनमा उत्रिए।
सन् १९९८ र १९९९ मा कोसोभो लिबरेसन आर्मीले सर्बियन फौजसँग युद्ध लड्यो।
त्यसपछि एउटा अन्तर्राष्ट्रिय समूहले यो क्षेत्रमा शान्ति स्थापनाका लागि प्रयास गर्यो।
कोसोभो पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि सर्बियन पक्षले अस्वीकार गर्यो।
यो क्षेत्रमा नेटोका सैनिकहरूले ११ सातासम्म हवाई हमला गरेपछि सर्बियन फौजले सन् १९९९ मा कोसोभो छाड्यो।
सन् २००८ मा कोसोभोले एकतर्फी रूपमा आफू स्वतन्त्र राष्ट्र भएको घोषणा गर्यो।
संयुक्त राष्ट्रसङ्घका १९३ मध्ये ९९ राष्ट्रले यो देशलाई अधिकारसम्पन्न राष्ट्रको मान्यता दिए पनि सर्बियाले त्यसमा समर्थन जनाएन।
कोसोभो लिबरेसन आर्मी के हो?
कोसोभोमा रहेका आदिवासी एल्बेनियनहरूको सैन्य समूह कोसोभो लिबरेसन आर्मी सन् १९९० मा गठन भएको थियो।
सन् १९९६ बाट यसका सदस्यहरूले सर्बियन प्रहरी चौकी र अन्य निसानामा आक्रमण सुरु गरे।
प्रतिक्रियामा सर्बियन फौजले कोसोभोको आदिवासी एल्बेनियन जनसङ्ख्यामाथि नियन्त्रण बढाउन गाउँ गाउँमा छापा मार्ने र मानिसहरूलाई घरबाट बाहिर निकाल्ने जस्ता गतिविधि सुरु गर्यो।
सन् १९९८/९९ को युद्धताका र त्यसपछि पनि कोसोभो लिबरेसन आर्मीमाथि कोसोभोका सर्ब मूलका सर्वसाधारणमाथि आक्रमण गरेको आरोप लाग्यो।
यो सैन्य सङ्गठनका सदस्यहरूमाथि उत्पीडन, बन्दी बनाएको, अपहरण, यातना र हत्याको आरोप लाग्यो।

तस्बिर स्रोत, Getty Images
अदालतमा रहेका अभियोगपत्र अनुसार यस्ता अपराध कोसोभो र उत्तरी एल्बेनियाका १०० वटा भन्दा बढी स्थानमा भएका थिए।
त्यहाँ रहेका सर्वसाधारणलाई नियन्त्रणमा लिने, दुर्व्यवहार गर्ने र हत्या गरिएको आरोप लगाइएको छ।
यद्यपि कोसोभो लिबरेसन आर्मीका कार्यकर्ताले गरेका अपराधलाई यसका वरिष्ठ अधिकारीहरूको निर्देशनमा भएको भन्न कठिन हुने द इकोनोमिस्टका बाल्कन्स संवाददाता टिम जुधा बताउँछन्।
“कोसोभो लिबरेसन आर्मी धेरै तीव्र रूपमा बिस्तार भयो, यसको नेतृत्व पनि कुनै एउटा कुरामा केन्द्रित भएन। यसको नेतृत्वबाट आउने आदेशहरूको परिभाषा पनि सहज छैन,” उनले भने।
हाशिम ताची को हुन्?
एकजना आदिवासी एल्बेनियन हाशिम ताची कोसोभो लिबरेसन आर्मीका एक जना संस्थापक हुन्।
सन् १९९७ को जुलाईमा सर्बियाले कोसोभोमा सञ्चालन गरेको अदालतले “आतङ्कवादसम्बन्धी आपराधिक गतिविधि“मा उनको अनुपस्थितिमा फैसला गर्दै उनलाई १० वर्ष जेल सजाय तोकेको थियो।
तर जुधाएका अनुसार “हाशिम ताची सैन्य कमान्डर थिएनन्” र “उनले कोसोभो लिबरेसन आर्मीलाई राजनीतिक निर्देशन मात्रै दिएका थिए।”
सन् २००८ को ज्यानुअरीमा ताची कोसोभोको प्रधानमन्त्रीमा निर्वाचित भए।
उनी २०१६ मा राष्ट्रपति बने। तर सन् २०२० मा द नेदरल्यान्डस् मा एउटा विशेष अदालतले उनीमाथि युद्ध र मानवताविरुद्धको अपराधमा अभियोजन अघि बढायो।
उनले यसको सुनुवाइ सामना गर्न राष्ट्रपति पदबाट राजीनामा दिए।
हेगमा पक्राउ परेका ऊनी त्यसयता नियन्त्रणमै छन्।
सुनुवाइ कसरी हुन्छ?
यो सुनुवाइ हेगमा रहेको कोसोभो स्पेसियालिष्ट च्याम्बर्समा हुन लागेको हो।
त्यसको स्थापना युरोपेली सङ्घ र कोसोभोको संसद्बीच भएको सम्झौताका आधारमा भएको हो।
यो अदालतमा अन्तर्राष्ट्रिय न्यायाधीश र कानुन व्यवसायी छन्।
यो अदालतको स्थापना सन् २०१५ मा युरोपेली सङ्घका अनुसन्धानकर्ताहरूले युद्ध अपराधका ताजा प्रमाणहरू फेला पारेपछि गरिएको थियो।
यस्तो अपराधमा कोसोभो लिबरेसन आर्मीका कमान्डरहरू संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिएको थियो।
हाशिम ताचीजस्तै कोसोभोका पूर्व सभामुख, कोसोभो लिबरेसन आर्मीका पूर्व प्रवक्ता र पूर्व कमान्डरविरुद्ध पनि यस्तो मुद्दा परेको थियो। तर ती चारै जना निर्दोष ठहर भएका थिए।
तर सन् २०२२ मा यो अदालतले कोसोभो लिबरेसन आर्मीका एक जना कमान्डर शाली मुस्तफालाई दोषी ठहर गरेको थियो। उनले युद्धताका सञ्चालन गरेको जेलमा यातना दिइएको आरोप लागेको थियो।
युद्ध अपराधमा २६ वर्ष जेल सजाय तोकिएपछि उनले पुनरावेदन दिएका छन्।

तस्बिर स्रोत, Getty Images
यसअघि सन् २००९ मा पनि कोसोभो लिबरेसन आर्मीका तीन जना पूर्व सदस्यलाई कैदीहरूलाई यातना दिएको अभियोजनमा दोषी ठहर गर्दै कोसोभो अदालतले तीन देखि छ वर्षसम्म जेल सजाय तोकेको थियो।
हेगमै रहेको अर्को अदालत अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले कोसोभो लिबरेसन आर्मीका कमान्डर समेत रहेका कोसोभोका प्रधानमन्त्री रमुस हरदिनाज विरुद्ध सन् २००७ देखि २०१२ को बीचमा दुई वटा सुनुवाइ गरेको थियो। दुवै मुद्दामा उनले सफाइ पाएका थिए।
कोसोभो र सर्बियामा यो मुद्दालाई कसरी हेरिन्छ?
यस्ता मुद्दाहरूलाई कोसोभो र सर्बियामा हेर्ने दृष्टिकोण विभाजित छ।
त्यहाँ अहिले पनि जातीय तनाव कायम छ।
“सर्बहरूले कोसोभो लिबरेसन आर्मीलाई अहिले पनि आतङ्ककारी सङ्गठनको रूपमा हेर्छन्,” किङ्स कलेज लन्डनका प्राध्यापक रेचल कर भन्छन्।
“तर पनि आदिवासी एल्बेनियन्स यस्ता सुनुवाइबाट दिक्क छन् किनभने यहाँ उनीहरू सर्बियन आक्रमणका पीडित भएको ठान्ने गरिन्छ र आफ्नो ठाउँमा उनीहरू ठिक थिए भन्ने बुझाइ छ।”








